२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलजापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष

जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष


जापानको प्रतिष्ठित हिरोशिमा युर्निभसिटीबाट पूर्ण छात्रवृत्तिमा पाँच वर्षे एमडी/पिएचडी गरेपछि न्युरो सर्जन डा. मनिष कोलाक्षपतिका लागि त्यही राम्रा अवसरहरु पछ्याइरहेका थिए । ख्यातिप्राप्त संस्था जागिर, कुस्त आम्दानी, पहिलो विश्वको सुविधासम्पन्न जीवनशैली उनलाई पर्खिरहेका थिए । तर, यी सबैले मनभरी नेपाल राखेका युवा सर्जन डा. मनिषलाई तान्न सकेनन् ।

त्यही कारण सन २०१८ मा हिरोशिमा युर्निभर्सिटीको जागिरको अवसर त्यागेर नेपाल फर्किए । नेपाल फर्किएपछि डा. मनिषले नेपालकै ख्यातिप्राप्त न्यूरो सर्जन डा. बसन्त पन्तको टिममा अन्नपूर्ण न्यूरो अस्पतालमा सेवा सुरु गरे । त्यहीबीच वि.सं. २०८० असोजमा अन्नपूर्ण न्यूरो अस्पताल र नेपालगन्ज मेडिकल कलेजबीच न्यूरो सर्जरी उपचार सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने गरी सम्झौता भयो ।

त्यो सम्झौतापछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंबाट डा. मनिष नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आए । उनकै नेतृत्वमा नेपालगन्ज मेडिकल कलेजमा न्यूरो सर्जरी सेवा सुरु गर्ने गरी उनलाई नेपालगन्ज पठाइएको थियो । उनले नेपालगन्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवा सुरु गर्ने कामको नेतृत्व लिए । अहिले मेडिकल कलेज शिक्षण अस्पतालमा न्यूरो सर्जरी विभागको प्रमुखको रुपमा बिरामी उपचारमा सक्रिय छन् ।

‘न्यूरो सर्जरी सेवाका क्षेत्रमा जापानको तुलनामा काठमाडौंकै अवस्था निकै कमजोर छ,’ डा. मनिष अनुभव सुनाउँछन्, ‘काडमाडौंको तुलनामा नेपालगन्जको अवस्था झनै कमजोर छ । सिमित साधन स्रोतको अधिकतम उपयोग गरेर न्युरो सर्जरी टिमले बिरामीको उपचार गरिरहेको छौं ।’ नेपालगन्ज मेडिकल कलेज ज्वाइन गरेको करिब ६ महिनाको अवधिमा डा. मनिष नेतृत्वको न्यूरो सर्जरी टिमले ब्रेन ट्युमर, मेरुदण्ड र घाँटीका ठूला र जटिल प्रकारका एक सयभन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका र ब्रेन ह्यामरेज भएर तत्कालै शल्यक्रिया गरेर उपचार गर्न नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा कम हुँदै गएको छ ।

न्यूरो सर्जरी सम्बन्धी करिब ८० प्रशिशत बिरामीको अहिले नेपालगन्जमै शल्यक्रियासहित उपचार गरिरहेको डा. मनिष बताउँछन् । ‘अझै पनि हामीसँग क्याथ ल्याब मेसिन छैन । क्याथ ल्याब मेसिनको सहयोगमा शल्यक्रिया गर्नुपर्ने केही बिरामीहरुलाई थप उपचारका लागि काठमाडौं, लखनउ, दिल्ली पठाउनुपर्ने अवस्था छ,’ उनी भन्छन् । मेडिकल कलेज ब्यवस्थापनले आगामी दुई महिनाभित्र क्याथ ल्याब आइपुग्ने बताएको छ । क्याथ ल्याब आइसकेपछि नेपालगन्जमै काठमाडौंकै सुविधासम्पन्न अस्पतालकै गुणस्तरमा न्यूरो सर्जरी सम्बन्धी शल्यक्रियासहितको सेवा दिन सक्षम हुने उनको विश्वास छ ।

डा. मनिष पाल्पामा जन्मिएका हुन् । भनिन्छ, ‘हुने बिरुवाको चिल्लो पात’ उनी सानैदेखि पढाइमा अब्बल थिए । त्यो कुरा परिणाममा पनि देखिन्थ्यो, उनी कक्षा एकदेखि नै सदैव फष्ट भए । सरकारी जागिरे बुवा भएकाले बुवाको जहाँ—जहाँ सरुवा भयो त्यही गएर डा. मनिषले पढे । ‘बुवाको सरुवा भएपछि लमजुङ र चितवनका स्कुलमा पढे,’ उनले बाल्यकाल स्मरण गरे ।

डा. मनिषले ८५ प्रतिशत अंक ल्याएर एसएलसीमा उत्तीर्ण भए । त्यसपछि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा साइन्समा प्लस टु पढे । प्लस टुमा पनि उनले ७५ प्रतिशत अंक ल्याए । त्यसपछि छात्रवृत्तिमा एमबीबीएस पढ्ने सोच बनाएर तयारी गरे ।

५० प्रतिशत छात्रवृत्तिमा नाम निस्केपछि सन् २००४ मा उनी एमबीबीएस पढ्न युनिभर्सल मेडिकल कलेज भैरहवा गए । सन् २०१० मा डा. मनिषले एमबीबीएस पास गरे । एमबीबीएस पास गरेपछि मेडिकल अफिसरको रुपमा एक वर्ष बीएन्डबी अस्पतालको न्यूरो सर्जरी विभागमा काम गर्ने मौका पाए । त्यतिबेला बीएन्डबी अस्पतालमा न्यूरो सर्जरी बिभागको प्रमुख डा. कृष्ण शर्मा थिए ।

त्यसपछि दुई वर्ष नर्भिक अस्पतालमा न्यूरो सर्जरी विभागमै काम गरे । त्यहाँ डा. बसन्त पन्त र प्रबिन श्रेष्ठसँग काम गर्ने मौका पाए । नर्भिक अस्पतालमा काम गरिरहेकै बेला सन् २०१३ मा डा. पन्तले पढेको जापानको हिरोशिमा विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा न्यूरो सर्जरीमा पाँच वर्षे एमडी/पिएचडी गर्ने अवसर पाए ।

सन् २०१८ मा उनले एमडी/पिएचडीको अध्ययन सके । ‘डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालाको धेरै नाम सुन्थे,’ डा. मनिष भन्छन्, ‘उहाँहरुलाई पछ्याउँदैं गएर मुटु वा नशा रोग विशेषज्ञ बन्ने चाहना थियो । भाग्यबस नशा रोग विशेषज्ञ बन्न सफल भए ।’ जापानमा अध्ययन पूरा भएपछि विश्वविद्यालयका उनका सुपरभाइजर प्रा. डा. यामासाकीले जापानमै बस्ने भए आफूले सबै प्रबन्ध मिलाई दिने बताए । तर, डा. मनिषलाई नेपाल फर्किनु नै थियो । त्यही कारण उनले आफ्ना प्रोफेसरको प्रस्तावका लागि आभार ब्यक्त गर्दै अस्वीकार गरे ।

नेपाल फर्किएर डा. बसन्त पन्तसँगै काम गर्न सुरु गरे । डा. पन्तसँगै काम गरिरहेका बेला अन्नपूर्ण न्यूरो अस्पताल र नेपालगन्ज मेडिकल कलेजबीच न्यूरो सेवा विस्तार गर्ने सम्झौता भएपछि उनी नेपालगन्ज पुगेका छन् । ‘काठमाडौं छाडेर म खुशीका साथ नेपालगन्ज आएर काम गरिरहेको छु । मेरो चाहना कामाडौंमा मात्रै सिमित रहेको न्यूरो सर्जरीको गुणस्तरीय उपचार सेवा देशका अन्य सहरहरुमा पुर्‍याउनुपर्छ भन्ने हो,’ डा. मनिष भन्छन्, ‘नेपालगन्ज मेडिकल कलेजको न्यूरो सर्जरी विभागमा अहिले उत्कृष्ट चिकित्सक र नर्सिङ टिम छ ।’

जसमा भारतको ख्यातिप्राप्त स्वास्थ्य संस्था जीबी पन्त इन्स्टिच्युट अफ पोष्ट ग्याजुयट मेडिकल एजुकेशन एन्च रिसर्चबाट एमसीएच गरेका डा. निरज घिमिरे, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट एमसीएच गरेका डा. सुबोध गौतम र अन्नपूर्ण न्यूरो अस्पतालबाट एफसीपीएच गरेकी डा. उपमा शर्मासहित अनुभवी एनेस्थेसिया र नर्सिङ टिम छ । ‘हाम्रो अनुभवी टिम छ,’ उनले भने, ‘न्यूरो सर्जरीको शल्यक्रियासहित न्यूरोका ८० प्रतिशत बिरामीहरुको उपचार गर्न सक्षम छौं ।’

वि.सं. २०८० कात्तिकदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुखको रुपमा कार्यरत डा. मनिषसहित उनको टिमले न्यूरो सर्जरी सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीको शल्यक्रियासहितको उपचार गर्दै आएको छ । यो टिमले पछिल्ला दिनहरुमा शिक्षण अस्पताल नेपालगन्जमा ब्रेन ह्यामरेज भएका, दुर्घटनामा परेर मस्तिष्क, घाँटी, मेरुदण्डमा गम्भीर चोट लागेका, नशा च्यापिएका, मस्तिष्क र मेरुदण्डमा ट्युमर भएका बिरामीहरुको शल्यक्रिया गरेर सफलतापूर्वक उपचार गरिरहेको छ ।

पहिलो पटक गत साता डा. मनिषको टिमले नेपालगन्ज उप–महानगरपालिका ११ का एक जना र वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका एक जना बिरामीको अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ । अवेक क्रेनियोटोमीमा ब्रेन ट्युमर बिरामीलाई अर्धचेत अवस्थामा राखी शल्यक्रिया गरेर मस्तिष्कमा भएको ट्युमर निकाल्ने गरिन्छ । बिरामीलाई बोल्न, हेर्न, हातखुट्टा चलाउन, पूराना कुराहरु सम्झन लगाएर उनीहरुको स्वास्थ्य अवस्थाको अनुगमन गर्दै न्युरो सर्जन, एनेस्थेसिया र नर्सिङ टिमले शल्यक्रिया गर्छन् । डा. मनिषको टिमले शल्यक्रियासहितको उपचार सेवा दिन सुरु गरेपछि न्युरो सर्जरी सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरुलाई उपचारकै लागि लाखौं खर्च गरेर काठमाडौं, भारतको लखनउ, दिल्ली जानुपर्ने बाध्यता कम हुँदैं गएको छ ।

पछिल्ला महिनाहरुमा नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा न्यूरो सम्बन्धि करिब २० वटा शल्यक्रिया हुने गरेका छन् । शिक्षण अस्पतालमा न्युरो सम्बन्धी शल्यक्रियासहितको उपचार हुन सुरु भएपछि बिरामीहरुले न्यूरो सम्बन्धि गुणस्तरीय सेवा कम शुल्कमै नेपालगन्जमै पाउन थालेका छन् । गरिब तथा विपन्न बिरामीहरुलाई अस्पतालले लिने शुल्कमा २० देखि ५० प्रतिशत छुट दिएर पनि शल्यक्रियासहितको उपचार सेवा दिने गरिएको डा. मनिषले बताए ।

डा. मनिषको अबको लक्ष्य न्यूरो सर्जरीका क्षेत्रमा आफ्नै देशममै केही नयाँ गर्ने हो । ‘त्यही लक्ष्यलाई पछ्याउँदै मैले काम गरिरहेको छु,’ उनले भने, ‘सबै क्षेत्रबाट साथ र सहयोग लिएर न्यूरो सर्जरीको उपचार सेवालाई थप उचाइमा पुर्‍याउनुपर्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अन्नपूर्ण न्यूरो अस्पताल, #डा. बसन्त पन्त, #नेपालगन्ज मेडिकल कलेज, #न्युरो सर्जन डा. मनिष कोलाक्षपति, #हिरोशिमा युर्निभसिटी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ