२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली

६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली


पूर्वी नेपालका ठूला कर्पोरेट अस्पतालहरुमध्येमा पर्छ—विर्तामोडस्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर अस्पताल । पूर्वी नेपालको ठूलो जनसंख्यासँगै सीमा क्षेत्रका भारतीय बिरामीलाई समेत स्वास्थ्य सेवा दिइरहेको यो अस्पताल भव्य संरचना, अत्याधुनिक उपकरण, उत्कृष्ट सजावटसँगै विशेषज्ञ स्वास्थ्य सेवाका प्रवाहका दृष्टिले पूर्वी नेपालकै कहलिएको अस्पतालमा पर्छ । उत्कृष्ट सेवा प्रवाहमा जोड दिइरहेको अस्पतालमा बिरामीको सन्तुष्टिलाई विशेष जोड दिइएको छ । ३०० शैय्याको बीएण्डसी र ३०० शैय्याकै पूर्वाञ्चल क्यान्सर अस्पतालको खास विशेषता हस्पिटलभित्र छिर्दा पनि पाँचतारे होटलमा पुगिरहेको अनुभूति दिलाउन सक्षम हुनु हो ।

सयौं कर्मचारीहरुको व्यवस्थित कमाण्ड, अस्पतालको हाइजिन मेन्टेनमा विशेष नजर, डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीदेखि सरसफाइकर्मीको उत्कृष्ट संयोजन, आन्तरिक सजावटको मिहिनतामा भिजेर काम गरिरहेकी डा. अन्जली कार्कीको खुबीमा यो सबै सम्भव भएको हो । ३१ वर्षीया अन्जली बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक हुन् । डेढ वर्षअघि अस्पताल छिर्दा डा. अन्जलीसँग एमबीबीएसको सर्टिफिकेट र झण्डै डेढ वर्ष मेडिकल अधिकृतका रुपमा अन्य अस्पतालमा हासिल गरेको थोरै अनुभव मात्रै थियो । तर, उनी ६ महिनाको बच्चासँगै अस्पतालको उच्च तहको व्यवस्थापन सम्हाल्ने दृढ विश्वासका अस्पताल व्यवस्थापनमा भित्रिएकी थिइन् ।

डा. अन्जलीले कलेज पढ्दा विशेषज्ञता हासिल गरेपछि आफ्नै ठाउँमा केही फरक गर्ने सोच राखेकी थिइन् । ‘आफ्नै ठाउँमा पुगेर हजुरबुवा बलरामसिंह कार्की वा बुवा दिपक कार्कीको नाममा सानो हस्पिटल बनाउँला भन्ने सोचेकी थिए,’ उनले भनिन्, ‘तर, एकै चोटी यति ठूलो जिम्मेवारी आउँछु भन्ने चाहिँ सोचेकी थिइन् ।’ बीएण्डसी पस्दा सुरुवाती केही दिन उनले काम गर्ने तरिका, भूमिकाहरुलगायतका कुराहरुको अवलोकन गरिन् । ‘काम गराउने तरिका सिक्नै केही समय लाग्यो,’ उनले भनिन् । भनिन्छ, ‘आफू भलो भयो भने जगत पनि भलो हुन्छ’ डा. अन्जलीले जुन शैलीले काम गर्न थालिन् त्यो सबैले मन पराएर उनलाई सहयोग गरे ।

पदीय हिसाबले निर्देशक भएपनि आन्तरिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । भन्छिन्, ‘पद त एउटा टाइटलमात्रै हो । म त बीएण्डसीको एउटा स्टाफ हुँ, अरु स्टाफहरुजस्तै ।’ त्यही भावनाले उनलाई वरिष्ठ विशेषज्ञ चिकित्सकदेखि सुरक्षा गार्डसम्मका कर्मचारीमा भिज्न र उनीहरुबाट काम लिन सहज भयो । अस्पतालको सामान्य सरसफाइदेखि ठूला मेसिनहरुको अवस्थासम्मको जानकारी लिने, इमर्जेन्सी र आईसीयुको नजिकबाट मनिटरिङ गर्ने, मेन्टेनेन्स, इलेक्ट्रीसियन र सिभिलको टिम, एचओडीहरुसँगको समन्वयदेखि अस्पतालमा स्टाफहरुको समस्या बुझ्नेसम्मका लगभग सबै आन्तरिक व्यवस्थापनका कामहरु उनकै नेतृत्वमा चलिरहेका छन् ।

‘स्वास्थ्य सानो कुरादेखि सुरु हुन्छ । मुख्य फोकस इमर्जेन्सी र आईसीयुमा हुन्छ । इमर्जेन्सीमा आएको बिरामी पसेदेखि निस्कँदासम्मको रिपोर्ट म आफै हेर्छु,’ डा. अन्जली भन्छिन्, ‘हस्पिटलमा टाइमिङ एकदम महत्वपूर्ण हुन्छ । अझ इमर्जेन्सीमा जीवन बचाउनका लागि सेकेण्डको महत्व हुन्छ ।’ इमर्जेन्सीमा पसेपछि कुन डाक्टरले जाँच गरे, कति समयमा इन्भेटिगेसन भयो, रिपोर्टमा कति समय लाग्यो, अवस्था के छ देखि कतिबेला डिस्चार्ज भए भन्नेसम्मका हरेक गतिविधीमा उनको विशेष चासो हुन्छ ।

‘मान्छेलाई सहज होस् भनेर हामीले यसमा फोकस गर्छौ,’ उनले थपिन्, ‘पैसा तिरेपछि सेवा त सहज र पारदर्शी रुपमा पाउनुप¥यो नि ?’ सबै बिरामीको चिकित्सकहरुले अपेक्षा पूरा गर्न नसक्ने भएकाले पनि बीएण्डसीले डाक्टरको स्वभाव, काउन्सिलिङजस्ता कुरामा केही चुक नहोस् भनेर काउन्सिलिङ टिम नै बनाएको छ । उच्च म्यानेजमेन्टसँग समस्या समाधानका लागि कम्युनिकेसन ग्याप र ढिलाइ नहोस् भनेर अस्पतालमा यो टिमले काम गर्छ । डा. अन्जली ग्राउण्ड र अपरम्यानेजमेन्टको कम्युनिकेसन ग्याप हुँदा समस्याहरु तत्काल समाधान हुन नसक्ने धारणा व्यक्त गर्छिन् । त्यही कारण क्यान्टिनमा खाना चर्को भएकादेखि स—साना कुराहरु पनि बीएण्डसी म्यानेजमेन्टले तत्कालै समाधान गर्छ । त्यसले अस्पतालका बिरामी, कुरुवा र भिजिटरहरुलाई राम्रो एक्सपिरियन्स दिने उनले बताइन् ।

एउटा ठूलो अस्पतालको आन्तरिक व्यवस्थापन सम्हाल्ने कुरा आफैमा गह्रौ भारी लिएर हिडिरहेजस्तै हो । ‘देखेजस्तो सजिलो चाहिँ छैन्, एकदमै च्यालेन्जिङ छ,’ डा. अन्जली अनुभव साट्छिन्, ‘तर, सबै कुरा राम्रो गर्ने इन्टेन्सनका साथ एकदमैं क्लियर भएर काम गर्दा सबै राम्रो हुन्छ । इन्टेन्सन नै छैन भने त त्यसबाट रिजल्ट आउँदैंन् ।’ त्यहीकारण आफूले बीएण्डसीमा आउने बिरामीहरुले राम्रो अनुभव लिएर जाउन भन्ने कुरालाई पहिलो प्राथमिकता दिएको उनले सुनाइन् ।

व्यवस्थापनको उच्च तहमा हुनेहरुमा सेम्प्याथी (सहानुभूति) र इम्प्याथी (समानुभूति) पहिलो सर्त हुने डा. अन्जली बताउँछिन् । यससँगै अनुशासन, कडाइ, रुचि, मानवताजस्ता थप गुणहरु पनि आवश्यक पर्छन् । डा. अन्जलीको अर्को विशेषता छ उनी आफू निर्देशकको औपचारिकता छोडेर ठूलालाई दाइ, दिदी र सानालाई भाइ, बहिनी सम्बोधन गर्छिन् । ‘त्यो गर्दा एउटा क्लोजनेस हुन्छ, फ्यामिलीजस्तो हुन्छ,’ उनले सुनाइन्, ‘उहाँहरुलाई पनि मलाई केही भन्न सजिलो हुन्छ ।’ त्यही कारण कर्मचारीहरु उनलाई निर्धक्क आफ्ना समस्याहरु सुनाउँछन् भने उनी ती समस्याहरु सकेसम्म समाधान गर्न हमेशा अग्रसर रहन्छिन् । यसले टिमवर्कलाई पनि नतिजामुखी बनाएको छ ।

युवा उमेरमै ठूलो अस्पतालका व्यवस्थापन तहका काम गरिरहेकी डा. अन्जलीको मुख्य लक्ष्य भनेकै अस्पताल आउने मानिसहरुलाई सन्तुष्ट बनाएर पठाउने गरी सेवा प्रवाह गर्नु हो । अस्पतालमा आउने सबै बिरामीलाई बचाउन नसकिने तीतो यथार्थमाझ उनी अस्पताल छिरेका कुनै पनि मानिसले नराम्रो एक्सपिरिएन्स लिएर नजाउन भनेर सचेत छिन् । ‘मिठो बोली, समानुभूति, सहानुभूतिबाट पीडामा रहेका मानिसहरुको भावनामा थोरै भएपनि मलम लगाउन सकिने वातावरण बनाउन मन छ,’ डा. अन्जली भन्छिन् । छुच्चो बोली, काउन्सिलिङको कमी, बिरामी र उनका आफन्तलाई पर्याप्त जानकारी नदिने, रुखो व्यवहारको भारी लिएर हस्पिटल आएका मानिसहरु नजाउन भन्नेमा उनको विशेष ख्याल छ ।

सामान्यतयाः नियमित विहान ८ बजे अस्पताल पुग्ने उनी घर फर्किदा रातिको ९ सम्म बज्छ । एक हिसाबले उनका लागि अस्पताल घरजस्तै भएको छ । उनले पहिलो सन्तान पनि अस्पतालमै हुर्काएकी हुन् । कर्मचारी आमाका रुपमा कस्ता समस्या आइपर्दा रहेछन् । परिवारको सहयोगलगायतका कारण आफू त्यसमा भाग्यमानी रहेका उनले बताइन् । ‘म भाग्यवस यो पोजिसनमा छु, सबैलाई यति सजिलो हुँदैन्,’ डा. अन्जली भन्छिन्, ‘म नर्सिङ स्टाफहरुलाई हेर्छु, उहाँहरु तीन महिनाको बच्चा घरमा छोडेर आउनुहुन्छ । दुध खुवाउन पनि दुई—तीन घण्टामा ब्रेक लिएर दौडेर घर जानुपर्छ ।’ त्यही कारण उनी बीएण्डसीमा त्यस्ता आमाहरुका लागि सहज वातावरण कसरी बनाइदिने भन्नेमा पनि घोत्लिरहेकी छिन् ।

पूर्वमा चिकित्सक उत्पादन गर्ने सपनाका साथ व्यवसायी दुर्गा प्रसाईंले बीएण्डसी अस्पताल स्थापना गरेका हुन् भने आफूलाई क्यान्सर भएपछि उपचारका लागि आम सर्वसाधारण विदेश जान नपरोस् भने उनले नै पूर्वाञ्चल क्यान्सर अस्पताल संचालनमा ल्याएका हुन् ।

जनकपुरदेखि झापासम्म

डा. अन्जलीको जन्म वि.संं. २०४९ सालमा जनकपुरमा भएको हो । उनका पूख्र्यौली थलो धनुषाको मखना हो । बुवा दिपक कार्की (निवर्तमान वन राज्यमन्त्री) र आमा अन्जना कार्कीका दुई सन्तानमध्ये उनी जेठी हुन् । उनले तीन वर्ष जनकपुरमा बिताइन् । त्यहीबीच उनका भाइ जन्मिए । त्यसपछि उनका बुवा, आमाले छोराछोरीको हुर्काइ र शिक्षादीक्षाका लागि काठमाडौं लिएर आए ।

काठमाडौं आएपछि डा. अन्जलीको पढाइ ज्ञानोदय स्कुलबाट अगाडि बढ्यो । कक्षा ६ सम्म उनी होस्टेल बसेर पढेकी हुन् । त्यसपछि भने उनी घरबाट नै स्कुल जान थालिन् । ज्ञानी स्वभावकी अन्जलीले स्कुल जीवनदेखि नै डाक्टर बन्ने सपना बुनेकी थिइन् । त्यही कारण हुन सक्छ उनलाई विज्ञान विषय बढी मन पथ्र्यो । पढाइबाहेक बाँस्केटल बल, ब्याडमिन्टन र स्वीमिङ उनलाई मनपर्ने खेल थिए । अन्जलीले आलोक विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।

सानैदेखि आफ्नो सपनालाई पछ्याउन उनले प्लस टु साइन्स लिएर पढ्न थालिन् । बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेजबाट उनले विज्ञानमा प्लस टु सकिन् । पढाइमा अब्बल अन्जलीले पहिलो प्रयासमै उनले एमबीबीएसको इन्ट्रान्समा नाम निकालिन् । त्यसपछि उनी एमबीबीएस पढ्नका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) गइन् । केएमसीबाट एमबीबीएस सकिन् । त्यसपछि झण्डै एक वर्ष उनले बाँसबारीस्थित न्यूरो हस्पिटलमा काम गरिन् ।

यहीबीच कोभिड—१९ महामारी सुरु भयो । लगतै, उनले बीएण्डसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. निराजन प्रसाईंसँग लगनगाँठो कसिन् । बिहेको केही वर्षमा उनको पहिलो सन्तान जन्मियो । पहिलो सन्तान ६ महिना भएपछि डा. अन्जली बीएण्डसीको आन्तरिक व्यवस्थापनमा सक्रिय भइन् ।

अहिले उनी हस्पिटल म्यानेजमेन्टमा मास्टर्स गर्दैछिन् । ‘हस्पिटल म्यानेजमेन्ट र फाइनान्सको ज्ञान पनि हुन्छ भनेर मैले यो विषय रोजेकी हुँ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको भलाकुसारीमा यी युवा डाक्टर सुनिइन्, ‘हामी डाक्टरलाई बिरामी हेर्ने नलेजमात्र हुन्छ । त्यही भएर मैले हस्पिटल म्यानेजमेन्टमा एमबीए गर्न थालेकी हुँ ।’ काम र परिवारिक कुरामा रमाउने उनी पोजेटिभिटीलाई बढी महत्व दिन्छिन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. अन्जली कार्की, #दिपक कार्की, #दुर्गा प्रसाई, #पूर्वाञ्चल क्यान्सर अस्पताल, #प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ