२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ

पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ

तीन वर्षदेखि भेरी अस्पतालको रेडियोलोजी विभाग हाँकिरहेका उनी आईओएमको पिजीको इन्ट्रान्स टपर हुन् ।


पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो—नेपालगन्जस्थित भेरी अस्पताल । भेरीमा दैनिक औसतमा ५ देखि ७ सयसम्म बिरामीले सेवा लिन्छन् । ती बिरामीको उपचारमा अस्पतालको रेडियोलोजी विभागको निकै ठूलो योगदान छ । किनभने, डाइग्नोसिसकै आधारमा उपचार हुन्छ, त्यही कारण रेडियो डाइग्नोसिस उपचारका लागि अहम विभागमा पर्छ ।

एक्सरे, अल्ट्रासाउण्ड, सिटीस्क्यान, एमआरआईसहितको सुविधासम्पन्न त्यही रेडियोलोजी विभागको विगत तीन वर्षदेखि नेतृत्व गरिरहेका छन्—प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा । हालै मात्र एघारौं तहमा बढुवा भएका उनी स्वास्थ्य मन्त्रालयमा दरबन्दी भएपनि पश्चिम नेपालको भेरी अस्पतालमै फर्किएर रेडियोलोजी विभागको कमान्ड सम्हालिरहेका छन् ।

स्याङजा घर भएका डा. शर्मा सानैदेखि पढाइमा अब्बल थिए । उनको शिक्षादीक्षा स्याङजाको ज्योति बोर्डिङ स्कुलबाट अगाडि बढेको हो । त्यहीबाट उनले वि.सं. २०५३ सालमा एसएलसीमा ७९ प्रतिशत अंक ल्याएर जिल्ला नै टप गरेका थिए ।

पढाइमा अब्बल उनी त्यसपछि साइन्स पढ्न काठमाडौं गए । काठमाडौंको अस्कल क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस छात्रवृत्तिमा ७ औं स्थानमा नाम निकाले । त्यसपछि सन् २००० मा उनी एमबीबीएस पढ्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गए । विपीबाट सन् २००६ मा उनले एमबीबीएस उत्तीर्ण गरे ।

एमबीबीएसपछि अस्थायी चिकित्सकको रुपमा ६/७ महिना आफ्नै गृह जिल्लाको स्याङजा अस्पतालमा काम गरे । त्यति नै बेला लोकसेवा दिए । उनले मेडिकल अफिसर पदमा स्थायीमा नाम निकाले । स्थायीमा नाम निस्केपछि स्वास्थ्य मन्त्रालयले माओबादीका लडाकू शिविरमा जान प्रस्ताव गरेको बताउँदैं डा शर्मा भन्छन्, ‘पहिला ६/७ पटक सूचना निकाल्दा पनि कुनै पनि चिकित्सक लडाकू शिविरमा जान मानेका रहेनछन् । त्यति नै बेला स्वास्थ्य मन्त्रालयमा डा. राजन पाण्डेसँग भेट भयो । डा. पाण्डेसँगको छलफलपछि म पनि लडाकु शिविरमा जान तयार भए ।’

त्यो बेला अन्य स्थानका पोष्टिङ हुने मेडिकल अधिकृतको मासिक तलब ९/१० हजार रुपैयाँ थियो । तर, लडाकु शिविरमा ४५ हजार रुपैयाँ तलब पाइन्थ्यो । आकर्षक तलबले पनि लडाकु शिविरमा जान आकर्षित गरेको उनी सुनाउँछन् । उनको कैलालीको तालबन्दस्थित माओवादी लडाकू शिविरमा पोष्टिङ भयो । ‘झोला बोकेर धनगढी पुगे । जनस्वास्थ्य कार्यालय धनगढीमा पुगेर र शिविरमा जानका लागि आवश्यक तयारीमा जुटे,’ डा. शर्मा सुनाउँछन्, ‘जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख, शिविर हेर्न नेपाल सरकारले खटाएका उपसचिव तहका कर्मचारीसँगै लडाकू शिविरमा पुगे ।’

डा. शर्मा पहिलो पटक लडाकु शिविरमा जाँदैं थिए । त्यही कारण उनलाई के होला, कस्तो होला भन्ने अन्योलता थियो । तालबन्दस्थित लडाकू शिविरको गेटमा पुगेपछि त्यहाँ खटिएका लडाकुले सोधपुछ गरेर भित्र लगे । करिब एक घण्टापछि शिविरका कमाण्डर महेन्द्रबहादुर शाहीसँग भेटघाट भयो । भोलिपल्ट नै झोलालगायत बन्दोबस्तीका सामान शिविरमा पुगे । ‘शिविरभित्रै बस्नका लागि टेन्टको ब्यवस्था रहेछ । जीवनमै पहिलोपल्ट टेन्टमै बस्ने र सुत्ने गरे,’ उनी लडाकू शिविरको बसाइँ सम्झन्छन्, ‘टेन्टमा सुत्दा सर्पको धेरै डर हुन्थ्यो । एक दिन टेन्टभित्रै टाउको उठाएर हेरिरहेको सर्पसँग जम्का भेट पनि भयो ।’ डा. शर्माकाअनुसार शिविरमा रहेका लडाकुमा त्यो बेला छालाको समस्या धेरै थियो । लडाइमा परेका, आफन्त गुमाएका केहीलाई मानसिक स्वास्थ्य समस्या पनि थियो ।

डा. शर्मा शिविरभित्रकै स्वास्थ्य युनिटका अन्य लडाकू स्वास्थ्यकर्मीहरुसँग सहकार्य गरेर औषधि र प्रयोगशालाको ब्यवस्था मिलाउँदै बिरामीको उपचारमा सक्रिय भए । त्यसबाहेक उनले सहजपुर र चिसापानीमा रहेका सहायक शिविरमा गएर पनि लडाकूलाई उपचार गरे । लडाकू शिविरमा उनले बाहिरबाट शंका गरेजस्तो गाह्रो थिएन । त्यति नै बेला टीकापुर अस्पतालमा सर्पले टोकेको बिरामीको मृत्यु भएपछि ठूलै लफडा भएको रहेछ । सुरक्षाकर्मीहरुले बडो मुस्किलले त्यहाँ कार्यरत चिकित्सकलाई हातपात हुनबाट बचाएर टीकापुरबाट बाहिर पुर्‍याएका रहेछन् ।

डा. शर्माको टीकापुर अस्पताल विकास समितिका अध्यक्षसँग सामान्य चिनजान थियो । अध्यक्षले टीकापुर आउनुस् भनेर प्रस्ताव गरे । डा. शर्माले सहमति दिए । अस्पताललका अध्यक्षले आफै प्रयास गरेर स्वास्थ्य मन्त्रालयबाट टीकापुर अस्पतालमा सरुवा गराइ दिए । टीकापुर अस्पतालमा बिरामी चाप अत्याधिक थियो । डा. शर्मा करिब एक वर्ष टीकापुरमा रहेर बिरामी सेवा तल्लीन रहे ।

डा. शर्मालाई बिरामीको सेवासँगै विशेषज्ञता हासिल गर्नु थियो । त्यसका लागि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा पिजीका लागि इन्ट्रान्स दिए । नाम निस्कने ननिस्कने कुनै टुंगो थिएन । त्यही कारण उनले अन्य अवसरहरु पनि हेरिरहेका थिए । उनीसँगै पढेका कतिपय साथीहरु अमेरिका पुगेका थिए । ‘साथीहरुले बोलाइ रहेका थिए । अमेरिकामै गएर पढ्ने कि भनेर ३/४ महिनाको बिदा लिएर अमेरिका पनि पुगे,’ उनी भन्छन् ।

अमेरिकामै भएका बेला आईओएममा पिजी अध्ययनका लागि उनको पहिलो नम्बरमै नाम निस्कियो । त्यसपछि डा. शर्मा नेपाल फर्किए । त्यतिबेला उनी सरकारी जागिरे पनि भएकाले दरबन्दी दैलेखमा थियो । पिजीका इन्ट्रान्स टपर डा. शर्माले विशेषज्ञताका लागि रेडियोलोजी रोजे । ‘त्यतिबेला एक नम्बरमा नाम निकाल्नेहरुले रेडियोलोजी नै रोज्ने गरेका थिएँ,’ उनी भन्छन्, ‘अग्रज र साथीभाइहरुले पनि रेडियोलोजी नै पढ्न सल्लाह दिए ।’ रेडियोलोजी पढ्नेहरुका लागि अर्को फाइदा पनि थियो, त्यो के भने लोकसेवा आयोगका चिकित्सकहरुका लागि एउटा सिट थियो । वि.सं. २०६६ मा डा. विश्वनाथको आईओएममा पिजीको पढाइ सुरु भयो । वि.सं. ०६९ मा उनले रेडियोलोजीमा पोष्ट ग्राजुएसन सके ।

रेडियोलोजीमा एमडी सके । डा. विश्वनाथसँगै अस्कलका आईएस्सीका र धरानका एमबीबीएसका ब्याचमेट साथीहरु डा. प्रकाश थापा र डा. बद्री चापाचाईले नेपालगन्जको भेरीमा आउन सल्लाह दिए । उनीहरु दुवै जना पनि भेरीमै सेवारत थिए । साथीहरुकै सल्लाहअनुसार डा. विश्वनाथ वि.सं. २०७० सालमा भेरी अस्पताल गए ।

भेरीमा काम सुरु गरेपछि अल्ट्रासाउण्डको रिपोर्टको गुणस्तरमा विशेष ध्यान दिए, सिटी स्क्यानलाई फूल फेजमा चलाए । ‘मेरो अल्ट्रासाउण्ड र सिटी स्क्यान रिपोर्ट अस्पतालका अन्य फिजिसियन, स्त्रीरोग विशेषज्ञ र सर्जनहरुको रोजाइमा पर्न थाल्यो,’ उनले सुनाए । भेरी अस्पतालसँगै उनले बिहान, बेलुका नेपालगन्जमा प्राइभेट प्राक्टिस गर्न थाले । मेहनत र काममा दत्तचित्त भएर लाग्ने बानीकै कारण नेपालगन्जमा अहिले डा. विश्वनाथले उत्कृष्ट रेडियोलोजिष्टको पहिचान बनाएका छन् । पछिल्ला केही वर्षमा उनले बनाएको पहिचानले उनको छुट्टै ब्राण्ड बनेको छ । जसका कारण पछाडि फर्किएर हेर्नु परेको छैन ।

बिहानदेखि साँझसम्मको ब्यस्त टाइम सेडुलकाबीच डा. विश्वनाथले वि.सं. २०७२ मा कन्सल्टेन्ट रेडियोलोजिष्ट ९ औ तहमा नाम निकाले । वि.सं. २०७४ मा १० औं तह भएमा बढुवा भए । अस्पतालको तत्कालीन रेडियोलोजी विभागका प्रमुख डा. वीरेन्द्रबहादुर चन्द अस्पतालको मेसु भएपछि डा. शर्माले विभागीय प्रमुख भएर रेडियोलोजी विभागको नेतृत्व सम्हाले । त्यसको केही समयपछि डा. चन्द रिटायर्ड भए । झन्डै ३ वर्ष अस्पतालको रेडियोलोजी विभागको प्रमुख भएर काम गर्दै आएका डा. शर्मा वि.सं. ०८० को चैतमै प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्टमा नाम निस्किएपछि ११ औं तहमा बढुवा भएका छन् ।

भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो अस्पताल हो । ‘देशैभरका अस्पतालहरुमा नेपालगन्जको भेरी अस्पताल रेडियोलोजिष्ट चिकित्सकको अनुपातमा सबैभन्दा धेरै अल्ट्रासाउण्ड र सिटी स्क्यान हुने अस्पतालमा पर्छ,’ डा. शर्मा भन्छन् । त्यही विभागलाई नयाँ उचाइमा लैजाने योजना उनले बनाएका छन् । नेपालमै हुन सक्ने कतिपय उपचारहरु प्रविधिको अभावमा बिरामीहरुलाई विदेशमा पठाउनुपर्ने अवस्था छ । ‘सरकारले ध्यान दिएमा विदेशमा हुने कैयौ उपचार नेपालमै सम्भव हुन्छ । विदेशी चिकित्सक सरह नेपालका चिकित्सक सक्षम छन्,’ उनी थप्छन्, ‘नेपालका चिकित्सकहरुलाई प्रोत्साहन र तालिम अवसर दिनेतर्फ सरकारले ध्यान दिने हो भने स्वास्थ्य क्षेत्रमा नेपालले धेरै फड्को मार्न सक्छ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ