२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने

युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने


डा. चित्रराज शर्मा सामान्य किसान परिवारमा जन्मिएका हुन् । उनले सरकारी स्कुलबाट आफ्नो शिक्षादीक्षा पूरा गरेका हुन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनले छात्रवृत्तिमा एमबीबीएस, एमडीदेखि डिएमसम्मको उपाधि हासिल गरे । त्यसमा उनको अथक लगन र मेहनत मुख्य कारक हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलवारीस्थित डि जन्मिएका हुन् । डि गाउँको शर्मा परिवारले छोरालाई डाक्टर बनाउने सपना पालेको थिए । परिवारको उक्त सपनामा चित्रराज दह्रो उत्रिए । उनले परिवारको सपनामात्रै पूरा गरेनन्, डाक्टरीजस्तो विशेष उपाधि हासिल गरेर आफ्नो सामाजिक र व्यवसायिक दक्षतालाई पनि उचाइमा पुर्‍याए ।

एमबीबीएसदेखि डिएमसम्म नेपाल सरकारको सरकारी छात्रवृत्ति र भारतीय कलेजको छात्रवृत्तिमा पढाइ पुरा गरेका डा. शर्मा अहिले आफू नै गृहजिल्लामा रहेको सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा मुटु रोग विशेषज्ञ रुपमा विगत २ महिनादेखि छात्रवृत्ति करारमा कार्यरत छन् ।

मध्यम परिवारमा जन्मेका डा. शर्माको पुर्ख्यौली घर पर्वत हो । वि.सं. २०३५ सालमा बाढी पहिरोबाट पीडित भएपछि उनका हजुरबुवा  कैलालीको फुलबारीमा बसाइ सरेका थिए । बुवा चन्द्रप्रसाद शर्मा र आमा दिलकुमारी शर्माको कोखबाट जेठो सन्तानको रुपमा वि.सं. २०४२ साउनमा जन्मिएका हुन् ।

शर्माले प्रारम्भिक पढाइ जनजागृति निमावि अगाडि बढेको हो । डा. शर्माले वि.सं. २०५४ सालमा कक्षा पाँच र सोही विद्यालयबाटै वि.सं. २०५७ सालमा जिल्ला टप गरेका थिए । ‘म त्यो बेला भैसी गोठालो गएको बेला जिल्ला प्रथम भएको खबर सुने,’ उनले भने । वि.सं २०५९ मा उनले एसएलसीमा उनले प्रथम श्रेणीमा उत्तीर्ण गरे । पढाइमा अब्बल भएका उनी शिक्षक तथा आफन्तले डाक्टर बन्नुपर्ने सुझाव दिइरहेका हुन्थे । द्वन्द्वकालको समयमा फुलवारी बस्नेहरुलाई माओवादीकै रुपमा हेर्ने भएकाले एसएलसी दिँदा धनगढीमा कोठा पाउन निकै नै सकस परेको अनुभव उनको छ ।

बुवा पनि शिक्षक भएका कारणले डा. शर्मा चिकित्सक बन्ने सपना पूरा गर्न विज्ञान पढ्न काडमाडौं गए । वि.संं २०६३ सालमा अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा आईएस्सी उत्तीर्ण गरे । सो पश्चात चिकित्सा शिक्षा अध्ययनको लागि प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमा नाम निकाले । एमबीबीएसको इन्ट्रान्समा छात्रवृत्तिमा नाम निकालेको कुरा उनलाई काका नाता पर्नेले सुनाएका थिए । ‘उक्त समयमा प्रविधिको विकास भएको थिएन्,’ उनले भने, ‘त्यो बेला म निकै खुसी भएको थिएँ ।’

सरकारी छात्रवृत्ति नाम निस्किएपछि एमबीबीएस पढ्नका लागि नेपालगंज मेडिकल कलेज नेपालगन्ज गए । कलेजले होस्टेल, क्यान्टिन शुल्क लगायतको १ लाख रुपैयाँ माग माग गर्‍यो । त्यो पैसा जुटाउन पनि आफूहरुलाई हम्मे परेको उनले सुनाए । ‘बुवा शिक्षक भएपनि आर्थिक अवस्था भने मध्यम खालको थियो,’ उनले भने, ‘त्यसकारण एक लाख रुपैयाँ जुगाड गर्न पनि हम्मे भयो । त्यही कारण उनी एक पटक गाउँमै गएर विज्ञान विषय पढाउनसम्म तयार भएका थिए ।

तर, उनका बुवाले छोराको डाक्टर सपना मर्न दिएनन् । उनका बुवाले संचय कोषको रकम र पाँच कठ्ठा जग्गा बिक्री गरेर छोरालाई नेपालगंज मेडिकल कलेजमा भर्ना गराए । डा. शर्माले वि.सं. २०६८ सालमा नेपालगंज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरे । एमबीबीएसपछि उनी छात्रवृत्ति करारमा मेडिकल अधिकृतका रुपमा सेती प्रादेशिक अस्पतालमा काम गरे । डा. शर्मा विशेषज्ञता अध्ययनको अवसर पनि खोजी नै रहेका थिए । वि.सं. २०७१ मा त्यो अवसर उनले पाए ।

पिजीआई चन्ढीगढमा पूर्ण छात्रवृत्तिमा इन्टरनल मेडिसिनमा एमडी गर्ने अवसर पाए । उक्त कलेजमा ७ हजार ५ सय भारतीय रुपैयाँमात्रै तिरेको उनी सुनाउँछन् । ‘मेडिकल अफिसर हुँदा कमाएको पैसाले भारतमा पढ्दा सजिलो भयो,’ डा. शर्मा भन्छन्, ‘भारतको सरकारी मेडिकल कलेजमा बिरामी नै धेरै हुने भएकाले अध्ययन र सिक्ने अवसर निकै राम्रो पाए ।’ वि.सं. २०७४ मा उनले इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरे । त्यसपछि उनी नेपाल फर्किएर किष्ट मेडीकल कलेज, ग्रान्डी अस्पताल, नोभालगायतका अस्पतालमा बिरामी सेवामा रहे ।

एमडी अध्ययन गर्दैगर्दा उनलाई भविष्यमा मुटु सम्बन्धि सुपरस्पेसियालिटी डिग्री हासिल गर्ने रहर सुरु भइसकेको थियो । त्यही कारण उनले डिएमका लागि नेपाल सरकारको छात्रवृत्तिको इन्ट्रान्स दिए । वि.सं. २०७६ मा सरकारी छात्रवृत्तिमा सुपरस्पेसियालिटी गर्ने लिष्टमा उनको नाम निस्किहाल्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्डियोमा डिएम पढ्न थाले ।

कार्डियोलोजीमा सुपरस्पेसियालिटी अध्ययन सकेपछि उनको छात्रवृत्ति करारअन्तर्गत कर्णालीको प्रदेश अस्पताल सुर्खेतमा पोष्टिङ भयो । त्यहाँ ६ महिना काम गरे । हाल उनी सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेका सेती प्रादेशिक अस्पताल बिरामी सेवामा सक्रिय छन् ।

‘अहिलेसम्म छात्रवृत्तिमै पढेकाले खर्च नै कम भयो । आफ्नो विशेषज्ञतालाई सरकारी स्वास्थ्य संस्था रहेर बिरामी सेवामा लगाउने सोचाइ छ,’ यी युवा मुटु रोग विशेषज्ञ भन्छन्, ‘गाउँघरका बिरामीहरु विशेषज्ञ सेवाको कम पहुँमा हुन्छन् । सरकारी स्वास्थ्य संस्थामा आउने बिरामीहरुकै सेवा गर्ने रहर छ ।’

डिएम अध्ययन गर्दाताका शहीद गंगालाल हृदय केन्द्रमा उनी धेरै बिरामीहरुको उपचारमा संलग्न भए । त्यहीकारण आफ्नो थोरै मेहनत र लगावले नयाँ जीवन पाउने र उनीहरुको जीवनको गुणस्तरमा फरक पर्ने भएकाले सरकारी स्वास्थ्य संस्थामा अलि धेरै गर्न सकिने उनको बुझाइ छ ।

डा. शर्माले काठमाडौंकी सुनिता शर्मासँग मागी विवाह गरेका हुन् । शर्मा दम्पत्तिकी एक दुई वर्षीया छोरी छन् । जनस्वास्थ्यकी स्नातकोत्तर उनकी श्रीमती भने छात्रवृत्ति करारअन्तर्गत सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा कार्यरत छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. चित्रराज शर्मा, #नेपालगंज मेडिकल कलेज, #सेती प्रादेशिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ