२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसुदूरमा रमाइरहेकी युवा बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छा

सुदूरमा रमाइरहेकी युवा बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छा


सुदूरपश्चिम कन्चपुर जिल्लामा महाकाली अस्पताल छ । सुदूरपश्चिम प्रदेश सरकार मातहतको यो अस्पताल ५० शैय्याको हो । अस्पतालमा विशेषज्ञ जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अभावका झेलिरहेको छ । तर, त्यही अभाव झेलिरहेको अस्पतालमा बाल रक्त र क्यान्सर रोग सेवा उपलब्ध छ भनेर कल्पना गर्न सकिदैंन् ।

तर, कल्पना गर्न नसकिने कुरा वास्तविक बनाइदिएकी छन्—युवा बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ ३७ वर्षीया डा. इच्छा ढकालले । उनी गत फागुनबाट मोफसलको यही अस्पतालबाट बाल रक्त क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिरहेकी छिन् । सिमिततासँग जुधेरै भुँइमान्छेहरुलाई सेवा प्रदान गर्नका लागि भनेर उनी सुविधासम्पन्न राजधानीका अस्पतालको अवसर लत्याउँदैं सुदूरपश्चिममा बिरामी सेवामा दत्तचित्त छिन् ।

राजधानीमै जन्मे, हुर्केकी डा इच्छा विशेषज्ञ सेवा अभाव भएको ठाउँमा विशेषज्ञ सेवा दिने आफ्नो रहरका कारण महाकाली अस्पताल आएको बताउँछिन् । ‘सुविधासम्पन्न ठाउँभन्दा विशेषज्ञ सेवा अभाव ठाउँको अनुभव प्राप्त गर्न महाकाली अस्पताल आएकी हुँ,’ उनी भन्छिन्, ‘सुविधासम्पन्न ठाउँ त सबैको रोजाइमा पर्छ । तर, आवश्यकता र चुनौती भएको ठाउँमा काम गर्न मलाई रमाइलो लाग्छ ।’

बुवा इन्दु शर्मा ढकाल र आमा स्मृति ढकालको कोखबाट वि.सं. २०४४ मा काठमाडौं महानगगरपालिका—६ वौद्धमा जन्मिएकी हुन्, डा. इच्छा । उनको प्रारम्भिक शिक्षा ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरबाट अगाडि बढेको हो । त्यसपछि डा. ढकाल थप शिक्षाका लागि बुढानिलकण्ठ स्कुल गइन् । बुढानिलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरिन् । सोही स्कुलबाट नै सन् २००७ मा उनले विज्ञानमा संकायमा कक्षा १२ पास गरिन् ।

दिदी डा. समृद्धि ढकाल (डा. समृद्धिले पब्लिक हेल्थमा अमेरिकाबाट माष्टर्स गरेकी छन्) चिकित्सक भएको कारणले इच्लाई पनि चिकित्सक नै बन्नु थियो । त्यही लक्ष्यका साथ उनले विज्ञान मात्रै पढिनन्, इन्ट्रान्सको तयारी पनि गरिन् । एमबीबीएसका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्समा नाम निस्किएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उनको डाक्टरी यात्रा अगाडि बढ्यो । डा. ढकालले सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरिन् ।

एमबीबीएसपछि मेडिकल अधिकृतका रुपमा उनले डेढ वर्ष कान्ति बाल अस्पतालमा बिरामी सेवामा बिताइन् । उनी कान्तिमा काम गर्दाताका बालबालिकाको रगत क्यान्सरका चिकित्सक नेपालमा एक जनामात्रै थिए । ती चिकित्सक पनि पढ्नका लागि बंगलादेश गएका थिए । बाल रक्त क्यान्सर विशेषज्ञ कम भएका कारण यो विषयमा विशेषज्ञता हासिल गर्ने मनस्थिती डा. ढकालले बनाइन् ।

त्यसपछि उनी बालबालिका रगत सम्बन्धी हुने क्यान्सरको विषय पेडियाट्रिक हेमाटोलोजी तथा अंकोलोजीमा पढ्न बंगलादेश गइन् । सन् २०१५ मा बंगलादेशको बंगबन्धु शेख मुजिव मेडिकल युनिभर्सिटीमा उनले पेडियाट्रिक हेमाटो अंकोलोजीमा एमडी अध्ययन सुरु गरिन् । ५ वर्षमा पेडियाट्रिक हेमाटो तथा अंकलोजोजीमा विशेषज्ञता हासिल गरेर उनी सन् २०२० मा स्वदेश फर्किइन् ।

स्वदेश फर्केपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पेडियाट्रिक हेमाटो तथा अंकोलोजीका कन्सल्ट्यान्टको रुपमा कान्ति बाल अस्पतालमा दुई वर्ष बिरामी सेवामा बिताइन् । त्यो बेला विभिन्न किसिमका क्यान्सर देखिएका बालबालिकालाई आवश्यक पर्ने उपचार सम्बन्धमा प्रदेशका स्वास्थ्यकर्मीलाई बाल क्यान्सर सम्बन्धी स्याटेलाइटमार्फत तालिम प्रदान गरिन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल पनि बाल क्यान्सरको लागि स्याटेलाइट सेन्टर हो ।

सन् २०२२ मा डा. सन्तोष आत्रेयसँग उनको विवाह भयो । डा. सन्तोष पनि राजधानीभन्दा बाहिर बसेर बिरामीका सेवामा रमाउन चाहन्थे । दुवै जनाको मन मिलेपछि उनीहरु दुवै जना महाकाली अस्पताल आएर बिरामी सेवामा तल्लीन छन् । डा. सन्तोष रेडियोलोजिष्ट हुन् । ‘उहाँको पनि राजधानी बाहिर बसेर बिरामी सेवा गर्ने रुचि, मेरो पनि त्यही,’ उनले भनिन्, ‘दुवै जनाको रुचि मिलेपछि अझ राजधानी बाहिर बसेर बिरामीको सेवा गर्न सहज भयो ।’

महाकाली अस्पताल आएपछि पनि केही पूराना बिरामीहरु फ्लोअपको लागि पनि महाकाली अस्पताल पुग्छन् । डा. ढकालकाअनुसार महाकाली अस्पतालमा रक्त क्यान्सर भएका बालबालिका, ट्युमर, मिर्गौलाको क्यान्सरका बिरामी आउने गरेका छन् । ‘उपचार सम्भव भएसम्म यही गर्छौ । नभए नेपालकै सुविधा सम्पन्न अस्पतालमा पठाउने गरेका छौं,’ डा. ढकाल भन्छिन्, ‘रगत सम्बन्धि रोगका सम्भावित बिरामी बालबाललिकाहरु धनगढीबाट पनि रिफर भएर महाकाली अस्पताल पठाउने गर्छन् ।’

महाकाली अस्पताल आइसकेपछि क्यान्सर तथा टयुमर देखिएका बालबालिकाको सेवाको सहजतालाई ध्यान दिदैं अस्पतालले नर्सिङ कर्मचारीलाई तालिम र भौतिक पूर्वाधारको तयारी पनि भइहेको छ । ‘क्यान्सर भएका बालबाललिकालाई अलग्गै सुरक्षित वार्डको आवश्यकता हुन्छ,’ उनले भनिन्, ‘तयसका लागि बायोसेप्टीक क्याबिन तयार भइसकेको छ ।’ उनकाअनुसार क्यान्सर देखिएको बालबालिकालाई किमो सुई लगाउन नर्सलाई तालिम दिन कान्ति बाल अस्पताल पठाउने तयारी रहेको छ ।

कान्ति अस्पतालमा काम गर्दा बिरामीहरुको संख्या एकदमै अत्याधिक रहेको अनुभव उनको छ । बाल रोग बिशेषज्ञ नै नहुने अवस्थामा सुदूरपश्चिममा बाल क्यान्सर वा सो सम्बन्धी प्रारम्भिक उपचार तथा परीक्षण लागि समेत विशेषज्ञ चिकित्सक छैनन् । त्यही कारण डा. ढकाल महाकाली अस्पतालमा केही गर्ने अठोटका साथ आएकी हुन् । ‘केही नभएको ठाउँमा केही गर्न सकिन्छ कि भनेरै महाकाली अस्पताल आएकी हुँ,’ उनले कुराको बिट मार्दै सुनाइन् । सुविधासम्पन्न राजधानीका अवसरहरु छाडेर भौतिक पूर्वाधार, उपकरण र जनशक्ति अभाव रहेको सुदूरपश्चिमको अस्पतालमा सेवा दिन तत्पर बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छालाई स्यालुट गर्नैपर्छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ