२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा…

कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा…


कान्ति बाल अस्पतालको अंकोलोजी (क्यान्सर) वार्डमा कार्यरत छु । कोभिड—१९ को महाव्याधिका बेला फ्रन्टलाइनरका रुपमा कर्तव्यबोधले सेवामा जुटिरहेकी छु, मजस्तै थुप्रै स्वास्थ्यकर्मी यतिबेला संसारभर कोभिड—१९ विरुद्धको लडाइमा अग्रमोर्चामा छन् । कोभिड—१९ महामारीका विरुद्धका सिपाहीका रुपमा । व्यक्तिगत सुरक्षा उपकरणको सहायताले कोरोना विरुद्ध लड्नु यतिबेला हामी स्वास्थ्यकर्मीको कर्तव्य र दायित्व बनेको छ ।

विगत तीन वर्षदेखि बिरामी बालवालिकाको स्वास्थ्य हेरविचार र सेवा गर्दै आएकी छु । बालवालिकाको स्वास्थ्य सेवामा रमाइरहेकी छु । कोभिड—१९ पछि धेरै कुरा बदलिएका छन् । जीवनशैली, उठबस, खानपिन । तर, मेरो जीवनमा एउटा चीज बदलिएको छैन्, बिरामी बालबालिकाको सेवा । यसैमा खुशी छु । तर, बालबालिकाको हेरचाह र सेवाका तरिकाहरु बदलिएका छन् । कोभिड—१९ पछि हाम्रा सुरक्षा प्रोटोकलहरु परिवर्तन भएका छन् । ती प्रोटोकलहरु पालना गरेर बिरामीको सेवामा खटिनुपर्छ । अस्पतालका वार्डमा उपचाररत बालबालिकाहरुलाई कोभिड—१९ को संक्रमणबाट जोगाउनुपर्ने दायित्व पनि हामीमाथि छ ।

बालवालिकाको स्वास्थ्य अन्त्यन्तै संवेदनशील हुन्छ, त्यही कारण उनीहरुको सेवाका रहँदा झनै संवेदनशील बनिरहेका हुन्छौं । अझ अहिले कोभिड—१९ का बेला त झन उच्च सावधानीका साथ काम गरिरहेका छौं । कोभिड—१९ को यो बेला स्वास्थ्यकर्मीको पेशा सजिलो त पक्कै छैन । तर, एउटा नर्सको जीवन कठिनाईमा पनि सेवामा डटिरहने साहसको बिज त्यतिबेला नै रोपिइसकेको हुन्छ, जब पहिलो पटक नर्स बन्ने निर्णय लिइन्छ । त्यही बेलादेखि मनमा बिरामीप्रति असिम सेवाको भावना गडेको हुन्छ, त्यो अध्ययनका शिलशिलामा अझ वृद्धि हुन्छ । जब बिरामीको सेवामा खटिन थालिन्छन्, त्यसपछि त झनै बेग्लै प्रकारको मानसिकता विकास हुँदोरहेछ ।

अस्पतालका वार्डमा बिरामीको सेवामा खटिरहँदा हामी एक परिवारजस्तै भइसकेका हुन्छौं । जब बिरामी निको भएर घर फर्किन्छन्, उनीहरुका अभिभावकका आँखामा देखिने खुशी, हामीप्रति दर्शाउने माया यो पेशाको सबैभन्दा बढी प्रेरक र सुन्दर पक्ष हो । अझ त्योभन्दा बढी मजस्ता बाल अस्पतालमा कार्यरत नर्सहरुलाई बालबालिका मृत्युको जोखिमलाई जितेर जब जीवन पाउँछन्, त्यो मृत्युको मुखदेखि जीवनसम्मको सजीव अनुभूति स्वर्गीय आनन्द दिन्छ । त्यही खुशी पेशा र ड्युटीमा समर्पित हुन झनै प्रेरणा दिइरहेको हुन्छ । बिरामी बालबालिका हेरचाह र सेवामा खटिने एक नर्सको नाताले उनीहरु निको भएर घर फर्कनुसँग हाम्रो खुशी गाँसिएको हुन्छ ।

यतिबेला विश्व नै द्रुत रुपमा एकबाट अर्कोमा सर्ने कोरोना महाव्याधिले अस्तव्यस्त भएको छ । यस्तो बेला स्रोत, साधन अभाव भएको हाम्रो जस्तो तेस्रो विश्वका विकासोन्मुख देशलाई असर नपर्ने कुरै भएन । अहिलेको वातावरण नै त्यस्तै बनेको छ । घरभित्रको कुनामा बसिराख्ने मान्छेलाई बाहिरको परिस्थिती देख्दा डर लाग्छ । हामी त स्वयं घरपरिवार नभनी रातदिन बिरामीको सेवामा खटिन्छौं । डर त अवश्य नै हुन्छ । रात दिन, चाडपर्व केही नभनी बिरामीको सेवामा खटिदा कहिलेकाही मनमा चिसो पस्नु र तनावदायी वातावरण सिर्जना हुँदो रहेछ । तर, कर्तव्यले त्यो तनावलाई पराजित गर्नु सक्नुपर्ने रहेछ । त्यसैमा एक स्वास्थ्यकर्मी र नर्स हुनुको परिचय पनि जोडिन्छ सायद ।

अहिलेको अवस्थामा बालवालिकाको स्वास्थ्य उच्च जोखिममा छ । त्यही कारण अस्पताल पुग्ने बालबालिकाको रोग निको पार्ने र कोरोनाबाट सुरक्षिण राख्ने दायित्व पनि हामीमाथि आइपरेको छ । सँगसँगै हामी स्वास्थ्यकर्मीहरु आफू कसरी सुरक्षित हुने र अरुलाई कसरी बचाउने भन्ने कुरामा पनि सचेत छौं । सामान्य जीवनशैली नै उथलपुथल भैरहँदा फ्रन्टलाइनमा डट्ने स्वास्थ्यकर्मीहरुले अझ धेरैसमस्याहरुको सामना गरिरहनु परेको छ । अस्पतालको कार्यशैली परिवर्तन, आवत—जावतमा समस्या, ड्युटीको टाइम, अझ भन्नुपर्दा १४ दिन लामो कोभिड—१९ को ड्युटीजस्ता फरक अभ्यास यतिबेला हाम्रो जीवनशैली बनेका छन् ।

घर परिवारबाट टाढा रहेर १४ बस्नुपर्ने समस्या छ । कोभिड—१९ को बेला बिरामी सेवामा खटिरहेका सबै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी उच्च मनोबलका साथ ड्युटी अवधिभर सेवामा खटिन्छौं । तर, जब हामी ड्युटी सकेर घर फर्किन्छौं, घर फर्कदा समाजले हेर्ने दृष्टिकोण सम्झँदा कहाली लागेर आउँछ । सायद, हामीले गरेको त्यागलाई समाजले साहस सम्झेर अपनाइदिएको भए हामी कति खुशी हुने थियौं । काम गर्ने जाँगर अझ बढ्ने थियो होला ।

यी सबैका बाबजुद पनि मुहारमा एउटा झिनो आशा र ओठमा मुस्कान हराउन नदिनु नै नर्स हुनुको परिचय हो । अहिलेसम्म त्यो मुस्कार हराउन दिएकी छैन् । लाग्छ, हरेक रातपछि जसरी मधुर विहानको उदय हुन्छ, यो विषम परिस्थिती पनि छिट्टै अन्त्य हुनेछ । आशा छ, हामी नयाँ विहानीमा हुनेछौं, कोभिड—१९ पराजित हुनेछ । नयाँ रोग भएकाले डर, तनाव अवश्य हुन्छ । तर, नआतिनुस धैर्यताका साथ बनाइएका नियमहरु पालना गरिदिनु हुन विनम्र अनुरोध गर्दछ । ती नियमहरुले हामीलाई जीवन दिनेछन् । मास्क लगाउने, सेनिटाइज गर्ने, हात धुने, दूरी कायम गर्नेजस्ता स्वास्थ्यका प्रोटोकलहरु पालनाले मात्रै हामीलाई लामो जीवन दिनेछन् । त्यसैले यी प्रोटोकलहरुको बेवास्ता नगरौं, आफू पनि पालना गरौं र अरुलाई पनि पालना गर्न झकझकाऔं ।

(लेखक कान्ति बाल अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ