२०८२ चैत्र ८, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने

मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने

३०० रोपनी जग्गा र करिब ८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने


विराटनगर—नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३०० शय्याको अस्पताल बनाएर विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । शनिबार मोरङको बुढीगंगास्थित यो विश्वविद्यालयको साझेदारीमा धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न विस्तृत छलफल गरिएको हो ।

जिल्ला अस्पतालको स्तरवृद्धि गरी विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले अघि सारिएको यो योजनाका लागि ३०० रोपनी जग्गा र करिब ८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने विश्वविद्यालयका उपकुलपति सुवासश्री पोखरेलले जानकारी दिए । योजनाअनुसार काम अघि बढेमा आर्थिक वर्ष २०८३/०८४ देखि नै सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रस्तावित शिक्षण अस्पतालमा मुटुरोग, न्युरो, बाल रोग, स्त्री रोगलगायतका विशिष्ट विशेषज्ञ सेवाहरू उपलब्ध हुनेछन् । शनिबार आयोजित वृहत् छलफल कार्यक्रममा सहभागीहरूले अस्पतालको पुरानो पहिचानलाई कायम राख्दै शिक्षण अस्पतालका रूपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा पुर्‍याउन यो आयोजना कोसेढुंगा सावित हुने बताए । उनले यसको कार्यान्वयनका लागि सरकारको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

छलफलमा प्रदेशसभा सदस्यहरू निरन राई, इन्दिरा थापा, अस्पताल विकास समितिका संयोजक निरेन तामाङलगायत राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूले यो योजनाले धनकुटाको समग्र विकास र स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ