२०८२ चैत्र १२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर

सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर

‘एक वर्षका लागि आएका डा. रोशन, दोलखामै ३ वर्ष अडिए'


डा. रोशन आचार्यले २९ माघमा चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको एमडी/एमएस/एनबीएमएसतर्फको एकीकृत प्रवेश परीक्षा टप गर्न सफल भएँ । हजारौं विद्यार्थीहरुमध्येबाट डा. आचार्य २०० पूर्णांकमा १७१.२५ प्रतिशत अंकका साथ पहिलो स्थानमा रहन सफल भए । झापा स्थायी घर भएका उनी झण्डै तीन वर्षअघि सरकारी जागिरे भएपनि दोलखामा कार्यरत थिए ।

झापाको समथर भू–भागमा हुर्किएका डा. आचार्य दोलखा आउँदा पहिलो पटक अग्ला पहाड र हिमाल नजिकबाट देख्दा अचम्म परेका थिए । त्यहीँ कारण पनि होला, दोलखामा लामो समय बस्ने कल्पना उनले गरेका थिएनन् । गौरादह नगरपालिका–१, झापामा जन्मिएका उनी २०७९ साल माघमा पहिलो पटक दोलखा आएका हुन् ।

बागमती प्रदेशअन्तर्गत लोक सेवामा नाम निकाल्न सफल भएपछि उनलाई रसुवा, रामेछाप र दोलखामध्ये एक जिल्ला छनोट गर्नुपर्ने भयो । तीनमध्ये दोलखा नै उपयुक्त लागेर उनले यही जिल्ला रोजे । यी तिनै वटा जिल्लाको बारेमा जानकारी थिएन र पुुगेका पनि थिएनन् । सरकारी सेवाको पहिलो नियुक्ति भएकाले उत्साह पनि कम थिएन् तर उपत्यका र समथर क्षेत्रबाहिर कहिल्यै ननिस्किएका कारण सुरुमा केही अन्योल र जिज्ञासा पनि थियो ।

भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा करिब एक वर्ष सेवा गर्ने सोच बनाएर आएका डा. आचार्यलाई यहाँको वातावरण, हावापानी, काठमाडौंसँगको निकटता, सहकर्मीको आत्मीयता र बिरामीको मायाले बाँध्यो । हेर्दाहेर्दै तीन वर्ष बितिसकेको छ । अहिले पनि एमडी अध्ययनका लागि काठमाडौं जानुपर्ने अवस्था नआएमा अन्यत्र सरुवा हुने सोच उनले बनाएका छैनन् ।

गोल्डेन सनराइज सेकेन्डरी इङ्लिस स्कुल, झापाबाट एसएलसी उत्तीर्ण गरेका उनले पोखरास्थित मणिपाल कलेजबाट एमबीबीएस अध्ययन गरेका हुन् । अध्ययनका क्रममा कलेजको टप थ्रीमा पर्न सफल उनी छात्रवृत्ति कोटामा अध्ययन गरेका कारण साढे पाँच वर्षको एमबीबीएस सकेपछि दुई वर्ष अनिवार्य सेवा गर्नुपथ्र्यो । सोही अनुसार उनले एक वर्ष झापा र अर्को वर्ष कास्कीको रुपाकोट गाउँपालिकामा सेवा दिएका थिए ।

विद्यार्थी जीवनदेखि नै गाउँघरमै बसेर स्वास्थ्य सेवा दिने सोच बोकेका डा. आचार्य सामान्य उपचार पनि स्थानीयस्तरमै उपलब्ध गराउनुपर्नेमा विश्वास राख्छन् । निम्न वर्ग र आर्थिक रूपमा कमजोर नागरिकले पनि गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने उनको धारणा छ । त्यसपछि उनले बागमती प्रदेश लोक सेवा आयोगमार्फत स्थायी सेवा प्रवेश गरेका हुन् ।

हाल पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटमा कार्यरत उनी बिरामी जाँच मात्र गर्दैनन्, सेवाग्राहीको गुनासो सुन्ने जिम्मेवारी पनि सम्हालिरहेका छन् । दैनिक ३० भन्दा बढी बिरामी जाँच गर्दा उनलाई आत्म सन्तुष्टि मिल्ने गरेको छ । फुर्सदको समयमा जिरी, कालिञ्चोक, शैलुङ, तामाकोसीलगायतका पर्यटकीय स्थल घुम्ने गरेका छन् । यसरी बाहिरी वातावरणमा रमाउदा मन शान्ति हुने र कुनै तनाव नहुुने उनको भनाइ छ । त्यसैले फुर्सदको समय कतै न कतै घुम्न निस्केका हुन्छन् ।

झापामा एक वर्ष कार्यरत रहँदा उनी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज थिए । तर, त्यहाँ बिरामीसँग नजिकिएर बिरामीको अवस्था बुझ्ने अवसर कम मिल्यो । चरिकोटमा भने बिरामीको स्वास्थ्य अवस्थासँगै उनीहरूको आर्थिक, सामाजिक र पारिवारिक अवस्था बुझ्ने अवसर पाएका छन् । उनका अनुसार अस्पतालमा आउनेमध्ये ५ देखि १० प्रतिशत मात्रै शिक्षित बिरामी हुन्छन्, बाँकी अधिकांश आर्थिक र शैक्षिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका हुन्छन् । बिहान अस्पताल आएर उपचार गरेर बेलुकी घर फर्किनुपर्ने खालका बिरामी बढी आउने गरेका छन् । जसले गर्दा पूर्ण रुपमा ल्याव, रेडियोलोजी जाँच गर्ने समय हुँदैन । ल्यावको रिपोर्ट नआउँदैं बिरामी हतारिएका हुन्छन् घर फर्किन ।

‘कतिपय बिरामीलाई थप उपचारको लागि अन्यत्र रेफर गर्दा पनि आर्थिक अभावकै कारण घर फर्कने अवस्था हुन्छ,’ उनी भन्छन्, “त्यसैले यहाँ आएका बिरामीलाई सकेसम्म यहीँ उपचार गरेर निको बनाउने जिम्मेवारी महसुस हुन्छ ।’

अन्यत्र सेवा दिँदा जटिल बिरामीलाई सजिलै रेफर गर्न सकिन्थ्यो । तर, यहाँ भने सिमित स्रोतसाधनकै बीच जोखिम मोलेर उपचार गर्नुपर्ने अवस्था आउँछ । यसलाई उनी आफूले पढेको ज्ञान व्यवहारमा उतार्ने अवसरका रूपमा लिन्छन् । ‘कहिलेकाहीँ त परीक्षा दिइरहेजस्तो अनुभव हुन्छ,’ उनी भन्छन् ।

दोलखाका बिरामीहरूमा उनले फरक आत्मीयता पाएका छन् । निको भएर फर्किएका बिरामीहरू पुनः अस्पताल आएर मौसमी फलफूल, तरकारी, घ्यू, आलु, मकै, साग जस्ता कोसेली ल्याएर धन्यवाद दिने गर्छन् । ‘बिरामीको आशिर्वाद नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनी भावुक हुन्छन् ।

डा. आचार्यका लागि बिरामी केवल उपचारको विषय मात्र होइनन्, उनीहरूको जीवन, घरपरिवार र अवस्था पनि उत्तिकै महत्वपूर्ण छन् । यही कारण बिरामीसँग आत्मीय सम्बन्ध स्थापित हुने र उनीहरू खुलेर आफ्ना समस्या सुनाउने गरेका छन् ।

तीन वर्षको बसाइँले उनलाई जिल्लास्तरको स्वास्थ्य सेवाका चुनौतीहरू नजिकबाट बुझ्ने अवसर दिएको छ । उनका अनुसार सबै ठाउँमा सुविधासम्पन्न भवन, पर्याप्त उपकरण र जनशक्ति हुँदैन । ‘यदि जिल्लामा एउटा सरकारी अस्पतालमै आवश्यक जनशक्ति, उपकरण, औषधि, आईसीयू र शल्यक्रियाको व्यवस्था हुन सके धेरै बिरामीले अकालमै ज्यान गुमाउनु पर्दैन,’ डा. आचार्य भन्छन् ।

अब केही महिनामै उनी एमडी अध्ययनका लागि काठमाडौं जाँदैछन् । रेडियोलोजी विषयमा अध्ययन गर्ने तयारीमा रहेका डा. आचार्यले अध्ययन पूरा गरेपछि पुनः दोलखा फर्किएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ