भक्तपुर—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । १९ असारमा केन्द्रले काठमाडौं असनकी ३९ वर्षीया गंगा श्रेष्ठको कलेजो प्रत्यारोपण गरेको हो ।
श्रेष्ठलाई उनका देवर ४७ वर्षीय संजय श्रेष्ठले कलेजो दान गरेका थिए । केन्द्रकाअनुसार कलेजो प्रत्यारोपण गरेको ११ औं दिन २९ असारमा गंगाको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको छ ।
‘कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको छ,’ कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले भने ।
कलेजो दाता संजय भने २५ असारमा छैठौं दिनमा नै नै डिस्चार्ज भइसकेको केन्द्रले जनाएको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्क १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गरेको जानकारी केन्द्रले दिएको छ ।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहकोे नेतृत्वमा भएको थियो । उनको टिममा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादव एनेस्थिेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल, डा. सन्देश खाउजु, डा. रिती फुँयाल, रेडियोलोजीबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरेलगायतको टिम सहभागी थियो ।
१४ वर्षको अवधिमा केन्द्रले १ हजार ६६६ जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै देशको सबैभन्दा धेरै प्रत्यारोपण गर्ने गरेका छौं,’ कार्यकारी निर्देशक डा. श्रेष्ठ भनिन् ।