२०८३ साउन १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’

तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’

०८५ भित्र निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउनुपर्ने, स्वार्थ बाँझिने नियुक्ति खारेज गर्नुपर्ने


काठमाडौं—प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा बढ्दो निजी स्वार्थको हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफ्ना मागहरू ४ दिनभित्र पूरा नभएमा सत्याग्रह सुरु गर्ने अल्टिमेटम दिएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रा.डा. केसीले सरकारलाई आफ्नो तीन बुँदे माग ५ साउन २०८५ सम्म पूरा गर्न अल्टिमेटम दिएका हुन् ।

उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने गरी तयार पारेको मार्गचित्र शीघ्र कार्यान्वयन गर्न, स्वार्थको द्वन्द्व बाँझिने गरी मेडिकल विश्वविद्यालयलगायतका चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका नियुक्ति तुरुन्त खारेज गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी मेडिकल कलेजहरुको पुनः सिट वृद्धि गर्ने प्रस्ताव राखेज गर्न माग गरेका छन् ।

उल्लेखित तीन वटा माग पूरा नभएमा ५ साउनबाट सत्याग्रह सुरु गर्ने चेतावनी डा. केसीको छ । ‘यी जायज मागहरूलाई २०८३ साउन ५ सम्म सम्बोधन नगरिएमा विगतमा स्थगित गरिएको सत्याग्रहलगायतका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउन बाध्य हुनेछौं,’ डा. केसीले भनेका छन्, ‘त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने कुरा यसै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्दछु।’

डा. केसीको विज्ञप्तिको पूर्णपाठ

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक र सार्वजनिक सेवाका क्षेत्र हुन् । अमेरिका लगायतका विकसित पूँजीवादी मुलुकहरूमा समेत व्यापारिक स्वार्थले सेवाको गुणस्तरमा ह्रास आउने भएकाले यी क्षेत्रहरू अधिकतर सरकारी स्वामित्व वा गैरनाफामूलक गुठी मातहत सञ्चालित हुन्छन् । नेपालको सन्दर्भमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरेको छ। तर, दुर्भाग्यपूर्ण कुरा के छ भने यसको कार्यान्वयनका लागि वर्तमान सरकार र सरोकारवाला निकायहरूबाट कुनै ठोस गृहकार्य वा चासो देखाइएको छैन ।

विडम्बनापूर्ण कुरा के छ भने मुलुकमा सरकारीभन्दा न्यूनतम मापदण्ड समेत नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको संख्या धेरै बेसी छ । वर्तमान सरकारको चिकित्सा शिक्षा र स्वास्थ्य नीति निर्धारण, कार्यान्वयन तथा सार्वजनिक संस्थानहरूको पदपूर्तिमा समेत निजी मेडिकल माफिया र तिनका प्रतिनिधिहरूको प्रत्यक्ष प्रभुत्व स्पष्ट देखिन्छ ।

हाम्रो बारम्बारको चेतावनी र अनुरोधका बाबजुद, सरकारले स्थापित नियम र मूल्य-मान्यता विपरीत निजी शिक्षण संस्थाहरूमा आवद्ध स्वार्थ समूह (Conflicting Interest) का व्यक्तिहरूलाई चिकित्सा शिक्षा सम्बन्धी नियामक निकाय तथा विश्वविद्यालयमा (मेडिकल विश्वविद्यालयलगायत) नियुक्त गर्ने क्रम जारी राखेको छ। यसले मुलुकको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य प्रणालीमा पार्ने दूरगामी नकारात्मक प्रभावको कल्पना समेत गर्न सकिँदैन ।

हाम्रा मागहरू:
१. स्थापित नियम, मूल्य र मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गरियोस् ।

२. चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना नै निजी कलेजहरूलाई पुनः सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गरियोस् ।

३. चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामुलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् ।

*चेतावनी:*
हाम्रा यी जायज मागहरूलाई २०८३ साउन ५ सम्म सम्बोधन नगरिएमा विगतमा स्थगित गरिएको सत्याग्रह लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउन बाध्य हुनेछौँ। त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दछु।

प्रा.डा.गोविन्द केसी
काठमाडौं,
साउन १, २०८३


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ