काठमाडौं—मीनभवनस्थित निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त भएका छन् । ४ साउनबाट लागु हुने प्रा.डा. परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको भूमी व्यवस्था, सहरकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
‘निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि यस मन्त्रालयको मिति २०८३।३।५ को सूचना बमोजिम आवेदन पेश गरेका उम्मेदवारहरु मध्येबाट सिफारिस समितिको २०८३।४।३ को मूल्याङ्कन सिफारिस एवं अस्पताल विकास समितिको मिति २०८३।४।४ को निर्णय बमोजिम सिफारिस समितिले सिफारिस गरेको योग्यताक्रमको पहिलो नम्बरमा रहेका प्रा. डा. जितेन्द्र परियारलाई उक्त अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा छ।
प्रा.डा. परियार सोही अस्पतालमा लामो समयदेखि कार्यरत चित्कित्सक हुन् । झण्डै दुई दशकदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा सक्रिया उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट एमबीबीएस गरेका हुन् । उनले आईओएमबाटै स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता हासिल गरेका हुन् ।
उनले सन् २००९ मा दक्षिण कोरियाको सियोलस्थित उल्सान विश्वविद्यालयको आसान मेडिकल सेन्टरबाट स्त्रीरोग क्यान्सरमा क्लिनिकल फेलोसिप गरेका छन् ।
उनी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को प्राध्यापकका रुपमा समेत कार्यरत छन् ।