काठमाडौं—सरकारले निजी क्षेत्रको स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत समता कर हटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्. बैठकले औपचारिक रुपमा स्वास्थ्य र शिक्षाको समता कर हटाउने निर्णय गरेको हो ।
‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने,’ मन्त्रिपरिषद्को निर्णयमा छ ।
यसअघि चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता कर लगाउने निर्णय गरेका थिए । उक्त निर्णय १ साउनबाट कार्यान्वयनमा आएसँगै सरकारको चौतर्फी आलोचना बढेको थियो । जसका कारण सरकार कर फिर्ता लिनुपर्ने तीब्र दबाबमा परेको थियो ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता लिने घोषणा फेसबुकमार्फत गरेका थिए ।
८ वर्षअघि हटाएको निजी स्वास्थ्य र शिक्षाको ३ प्रतिशत समता कर सरकारले बजेटमा लगाउने निर्णय गरेको थियो । तर, चर्को आलोचना र तीब्र दबाबपछि सरकारले औपचारिक रुपमा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने औपचारिक निर्णय गरेको हो ।