काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । २५ असारमा नर्भिक अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको ७ घण्टा लामो सफल शल्यक्रिया गरेका हुन् ।
डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो । शल्यक्रियामा डा. भण्डारीसँगै डा. पुरुषोत्तम बानियाँ र डा. समीर अर्याल संलग्न थिए। यस्तै, एनेस्थेसियामा डा. सुरेश लामिछानेलगायतको चिकित्सकीय टोली सहभागी रहेको थियो।
‘बिरामीको बायाँ घाँटीमा वर्षौदेखिको ट्युमर बढ्दै–बढ्दै गएको अवस्था थियो,’ डा. भण्डारीले भने, ‘उहाँको ट्युमर निकालेर सफल उपचार गरेका छौं ।’ उक्त ट्युमरकै कारण बिरामीमा श्वासप्रश्वासको समस्या, अचेत हुने, शरीरको कुनै भाग बेला—बेलामा झम्झमाइरहने र टाउको हल्लाउँदा चक्कर लाग्नेलगायतका समस्या बढ्दै गएका थिए ।
बिरामीका आफन्तका अनुसार ती महिलामा २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो । अन्य अस्पतालमा यसअघि नै दुईपटक सर्जरी गर्ने तय गरिएपनि विभिन्न कारणले उपचार गरिएको थिएन ।
डा. भण्डारीका अनुसार बिरामीको घाँटीमा बायाँतर्फको भर्टिब्रल आर्टरी धमनीबाट उत्पन्न अत्याधिक भास्कुलर ट्युमर देखिएको थियो । यो मस्तिष्कको धमनी वरिपरि रहेका नसाहरूबाट उत्पन्न हुने एकदमै दुर्लभ ट्युमर हो । ट्युमरको उत्पत्ति, स्थान र ट्युमरको वरपरका संरचनाहरूका कारण यस्तो ट्युमरको सर्जरी प्रक्रिया जटिल मानिन्छ ।
नर्भिकमा उपलब्ध उच्चस्तरीय अप्रेसन थियटर, आईसीयू लगायत उपचार प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीको विज्ञताका कारण ती महिलाको उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।
बिरामीको सर्जरीका लागि रक्तस्राव कम गर्न भर्टिब्रल आर्टरीलाई मेरुदण्डभित्रबाट बाहिर निकाली ट्रान्सपोजिसन गर्ने योजना बनाइएको थियो र शल्यक्रियाका दौरान त्यसै गरिएको डा. भण्डारीले जानकारी दिए । ‘मूल धमनीलाई नै बन्द गर्नुपर्ने स्थिति आएको खण्डमा, मस्तिष्कको रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपासको तयारी गरिएको थियो । तर बाइपास गर्नुपर्ने अवस्था आएन,’ डा. भण्डारीले भने ।
शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा क्रिटिकल केयर टिमले आईसीयूमा राखेर निगरानी गरेको थियो । बिरामीको अवस्था सामान्य भएपछि शल्यक्रिया गरेको दुई दिनपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो ।