काठमाडौं—नाबालिका किशोरीहरुलाई आर्थिक प्रलोभनमा पारेर जथाभावी डिम्ब झिक्ने गरेको घटना सार्वजनिक भएपछि २०८२ साउन अन्तिममा साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा (आईभीएफ) सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ तयार पार्यो । जसमा २० वर्षदेखि ३५ वर्षसम्मकाले मात्रै अण्ड र वीर्य दान गर्न पाइनेलगायतका प्रबन्धहरु गरिएका थिए ।
स्वास्थ्य मन्त्रालयले उक्त मापदण्ड ल्याए लगतै त्यस विरुद्ध अधिवक्ता अंकिता त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरे । ३ भदौंमा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले ‘महिला तथा किशोरीको अण्डा (डिम्ब) निष्कासन र भण्डारण’ रोक्न अन्तरिम आदेश दियो । सर्वोच्च अदालतको आदेशपछि स्वास्थ्य मन्त्रालयले आईभीएफ सेन्टरहरुलाई ‘डिम्ब र वीर्य दान’ रोक्न निर्देशन दियो । जसका कारण अहिले अधिकांश आईभीएफ सेन्टरहरुले डिम्ब र वीर्य दान रोकेका छन् । सर्वोच्चमा उक्त मुद्धाको अन्तिम फैसला पनि भइसकेको छैन ।
तर, सर्वोच्च अदालतको अन्तरिम आदेश र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्पष्ट निर्देशन विपरित ग्वार्कोस्थित बीएण्डबी आईभीएफ सेन्टरमा ३० हजार रुपैयाँको आर्थिक प्रलोभनमा पारेर १७ वर्षीया नाबालिका किशोरीबाट डिम्ब झिकेको आरोप लागेको छ । १ साउनमा जिल्ला प्रहरी परिसर ललितपुरमा ती किशोरीकी आमाले छोरीको डिम्ब बीएण्डबी आईभीएफ सेन्टरमा ‘गैरकानुनी’ रुपमा झिकिएको भन्दैं उजुरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरी उपरीक्षक तथा ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रले १ साउनमा १७ वर्षीया किशोरीकी आमाले ३० हजार रुपैयाँको प्रलोभन दिएर आफ्नी छोरीको बीएण्डबी आईभीएफमा डिम्ब झिकेको भन्दैं उजुरी दिएकी छन् । ‘मेरो छोरी बिरामी भएपछि उपचार गर्न लिएर गएँ, छोरीको डिम्ब झिकिएको रहेछ, उपचार खर्च पनि धेरै भयो, आवश्यक कारवाही गरिदिनुपर्यो भनेर उहाँहरु आउनुभएको थियो,’ प्रवक्ता मिश्रले हेल्थआवाजसँग भने, ‘हामीले त्यसलाई जाहेरीको फरम्याटमा लिएर अनुसन्धान अगाडि बढाएका छौं ।’ प्रवक्ता मिश्रकाअनुसार जाहेरीलगतै प्रहरीले ती किशोरीलाई डिम्ब बेच्नका लागि विचौलियाको भूमिका खेल्ने राधिका गोतामेलाई बीएण्डबी हस्पिटल परिसरबाटै पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार गोतामेले ग्वार्कोस्थित बीएण्डबी आईभीएफमा लगेर ती किशोरीको डिम्ब बेच्ने प्रबन्ध मिलाएकी थिइन् । त्यसवापत गोतामेले नै ती किशोरीलाई ३० हजार रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता मिश्रले जानकारी दिए ।
बीएण्डबी आईभीएफको नेतृत्व स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माले गर्दै आएकी छन् । डा. शर्मा भने हाल फिलिपिन्समा रहेकी छन् । प्रहरी स्रोतकाअनुसार उनीमाथि पनि प्रहरी अनुसन्धान गरिरहेको छ । आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकिएको विषयमा हेल्थआवाजले डा. शर्मासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
प्रहरी स्रोतकाअनुसार गोतामेले डिम्बका लागि डा. शर्माबाट ६० हजार रुपैयाँ लिएको प्रमाण प्रहरीले फेला पारेको छ । जसमध्ये ३० हजार रुपैयाँ उनले आफू राखेकी थिइन् भने ३० हजार रुपैयाँ ती किशोरीलाई दिएकी थिइन् ।
डा. शर्मा विगतमा पनि विवादमा परेकी चिकित्सक हुन् । २४ साउन २०७२ मा नेपाल मेडिकल काउन्सिलको फूल हाउसले डा. शर्मालाई कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपत्तन गर्न प्रोत्साहन गरेको भन्दैं तीन महिना लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त निर्णय विरुद्ध उनी उच्च अदालत गएकी थिइन्, उच्च अदालतमा उनले मुद्धा हारिन् । त्यसपछि अहिले यस सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
अवैद्य रुपमा डिम्ब झिकिएको विषयमा बीएण्डबी अस्पतालका सुचना अधिकारी नवीन खकुरेलले आईभीएफ अलग्गै विभाग भएकाले त्यसबारेमा आफूहरुलाई धेरै कुरा थाहा नभएको बताए । ‘आईभीएफ अस्पतालभन्दा छुट्टै डिपार्टमेन्ट हो,’ उनले भने, ‘त्यहाँको धेरै कुरा थाहा हुँदैन् । प्रहरीले पनि अनुसन्धान गरिरहेको छ, आन्तरिक रुपमा पनि अनुसन्धान जारी छ ।’
पहिले पनि उठेको थियो यस्तै विवाद
यसअघि २०८२ असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बबरमहलस्थित होप फर्टिलिटी सेन्टरबाट दुई नाबालिकाको डिम्ब निकालिएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको थियो ।
सीआईबीले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार मुद्दा चलाउन सिफारिस गरे पनि तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । उक्त निर्णयको व्यापक आलोचना भएको थियो ।
एक सुरक्षा अधिकारीका भन्छन्, ‘त्यो निर्णयपछि यस्ता अवैध गतिविधिमा संलग्नहरूको मनोबल बढेको देखिन्छ। अहिलेको घटनाले पनि त्यसको पुष्टि गरेको छ।’
कसरी झिकिन्छ अण्डा ?
सामान्य अवस्थामा किशोरी वा महिलाको अण्डाशयबाट डिम्ब (अण्डा) महिनामा एक पटक स्वाभाविक रूपमा (रजस्वला) हुँदा निस्कन्छ । चिकित्सकीय रूपमा डिम्ब आईभीएफ (टेस्ट ट्युब बेबी)जस्ता उपचारका लागि निकाल्ने गरिन्छ । बाँझोपन भएका महिलाहरुको सन्तान जन्माउनका लागि र कसैले ढिलो सन्तान जन्माउने योजना वा कुनै दीर्घ रोगका कारण इग फ्रिजिङ गर्न चाहेको अवस्थामा डिम्ब झिक्ने गरिन्छ ।
त्यसका लागि महिनावारी सकिएको तीन दिनपछि केही दिन हर्मोन औषधि दिएर धेरै डिम्बहरू परिपक्व बनाइन्छ । त्यसपछि हल्का बेहोस बनाउने औषधि दिएर अल्ट्रासाउन्डको सहायताले योनिमार्गबाट सुई अण्डाशयसम्म पुर्याइन्छ । सुईबाट डिम्बहरू सावधानीपूर्वक निकालिन्छ ।
यो प्रक्रिया सामान्यतयाः १५–३० मिनेटको हुन्छ र शल्यक्रियाजस्तो ठूलो चिरफार गर्नु नपर्ने विशेषज्ञहरु बताउँछन् । डिम्ब एक सन्तान भइसकेका महिलाहरुबाट मात्रै निकाल्ने गरिन्छ । विकसित देशहरुमा यसका लागि निश्चित मापदण्डहरु बनाइएको छ । नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि २० वर्षभन्दा माथि र ३५ वर्षभन्दा कम उमेरका महिलाले मात्रै डिम्ब दान गर्न व्यवस्था गरेको छ ।
नेपालमा २० वर्षभन्दा कम उमेरका किशोरीहरुबाट डिम्ब निकाल्न स्वास्थ्य मन्त्रालयको मापदण्डले नै प्रतिबन्ध लगाएको छ । अझ सर्वोच्च अदालतले त यो प्रक्रियालाई रोकेर प्रभावकारी अनुगमन गर्न अन्तरिम आदेश नै दिएको छ । बाहिरी मुलुकहरुमा पनि १८ वर्षभन्दा कम उमेरका किशोरीहरुबाट केवल विशेष चिकित्सकीय कारण (जस्तैः क्यान्सर उपचारअघि प्रजनन क्षमता जोगाउने) हुँदा विशेषज्ञ चिकित्सकको सिफारिस र कानुनी/नैतिक मापदण्डअनुसार मात्र गरिन्छ । तर, पछिल्लो घटनाले कम आयस्रोत भएका नाबालिकाहरुलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकाल्ने अवैध सञ्जाल सक्रिय रहेको देखाउँछ ।