२०८३ साउन १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा

नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा


वीरगञ्ज-नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पताल परिसरमा भएको तोडफोडको घटनापछि विवाद थप चर्किएको छ । मंगलबार घटना र त्यसपछि उत्पन्न परिस्थितिप्रति असन्तुष्टि जनाउँदै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । चिकित्सकहरूका अनुसार उक्त आक्रमणले अस्पतालभित्रको कार्य वातावरण असुरक्षित बनेको छ ।

घटनाको छानबिन र सुरक्षा व्यवस्थाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइएको छ । त्यसपछि उनीहरूले सामूहिक रूपमा पदबाट अलग हुने निर्णय गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूको पेशागत सुरक्षा सुनिश्चित हुन नसकेको र यथास्थितिमा उपचार सेवा दिन सम्भव नभएको उल्लेख गरिएको छ ।

चिकित्सकहरूको सामूहिक राजीनामापछि नारायणी अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुने देखिएको छ । घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न चिकित्सकहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ