२०८३ साउन १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो

बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो


काठमाडौं—भक्तपुरस्थित भक्तपुर प्रादेशिक अस्पतालमा बिरामीका आफन्तहरुले रातभर आतंक मच्चाएको पाइएको छ । बिहीबार राति १२ बजेतिर काभ्रे तिमाल घर भएर सुर्यविनायक बस्ने ८२ वर्षीय एक जना दमका बिरामीलाई आईसीयुमा भर्ना गर्न नमानेको भन्दैं बिरामीका आफन्तले रातभर अस्पतालमा आतंक सिर्जना गरेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले जानकारी दिए ।

डा. झाकाअनुसार बुधबार राति १२ बजेदेखि १२ः३० बजेको समयमा दमबाट पीडित एक जना वृद्धलाई लिएर उनीहरु अस्पताल आएका थिए । ‘उहाँ दमको बिरामी हुनुहुन्थ्यो र रगतमा पनि संक्रमण थियो,’ डा. झाले भने, ‘हामीले उपचारपछि हिजै उहाँलाई डिस्चार्ज गरेका थियौं ।’

तर, दिउँसो डिस्चार्ज गरिएका ती बिरामीलाई लिएर राति दुई जना पुरुष र दुई जना महिला अस्पताल पुगेका थिए । त्यहाँ पुगेर उनीहरुले बिरामीलाई पुनः आईसीयुमा राख्न आग्रह गरे । कम जनशक्ति र अस्पतालमा आईसीयु बेड उपलब्ध नरहेको जवाफ अस्पतालले दिएपछि उनीहरुले अस्पतालमा लफडा सुरु गरेका थिए ।

‘हामीले अहिले सात वटा आईसीयु बेड सञ्चालन गरिरहेका छौं,’ डा. झाले भने, ‘जसमध्ये एउटा बेडमात्रै इमर्जेन्सीका लागि राखिएको थियो ।’ त्यसमा राख्न नसकिने र बिरामी जटिल नभएको स्वास्थ्यकर्मीले बताएपछि बिरामीका आफन्तहरुले हंगामा मच्चाउन सुरु गरेका थिए । डा. झाकाअनुसार छात्रवृत्ति करारका ११ जना नर्सहरु फिर्ता भएपछि अहिले अस्पतालसँग थप आईसीयु चलाउने जनशक्तिसमेत अभाव छ । यही कुरा स्वास्थ्यकर्मीहरुले बिरामीका आफन्तलाई गरेका थिए ।

तर, सुरुमा बिरामीसँगै दुई जना पुरुष र दुई जना महिला आएकामा अस्पतालको जवाफपछि उनीहरुले फोन गरेर २५—३० जनाको समूह अस्पतालमा जम्मा गरेका थिए । उक्त समूहले इमर्जेन्सीमा होहल्ला गर्नुका साथै आईसीयु तोडफोड गरेको थियो । यस्तै, डाक्टर र स्वास्थ्यकर्मीलाई तर्साउने, धम्काउने काम रातभर गरेको डा. झाले बताए ।

कतिसम्म भने चार पाँच जना मदिरा सेवन गरेका व्यक्तिहरुले अस्पतालका एक जना कर्मचारीलाई सिजरले प्रहार गरेका थिए । जसबाट ती कर्मचारीलाई चोट लागेको डा. झाले जानकारी दिए । ‘उहाँहरुमध्ये तीन चार जनाले मदिरा खानुभएको रहेछ, जथाभावी गर्दै थर्काउने, धम्काउने काम गर्नुभयो, तोडफोड गर्नुभयो,’ उनले भने, ‘मलाई पनि रातभर फोन गरेर टर्चर गर्नुभयो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ