२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि

स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तीन वटा कार्यदल गठन गरेको छ । १३ साउनमा मन्त्रालयले नेपाल चिकित्सक संघ (एनएमए) सँग भएको सहमतिअनुसार तीन वटा कार्यदल गठन गरेको हो ।

मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. रोशन न्यौपानेको संयोजकत्वमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्य सम्बन्धि विषयमा आवश्यक संशोधनको मस्यौदा तयार गर्नका लागि कार्यदल गठन गरिएको छ । १५ दिनभित्र मस्यौदा बुझाउने जिम्मेवारी पाएको उक्त कार्यदलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, कानुन, न्याय तथा संसदीय मामिला र उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, नेपाल चिकित्सक संघको तर्फबाट डा. बिना श्रेष्ठ र डा. योगेश भण्डारी सदस्य छन् भने स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत जयकुमार सुवेदी सदस्य सचिव छन् ।

तर, उपभोक्ता संरक्षण ऐन, २०७५ का स्वास्थ्य सम्बन्धि विषयमा आवश्यक संशोधनको लागि  मस्यौदा तयार पार्ने समितिमा उपभोक्ता प्रतिनिधित्व भने गराइएको छैन ।

यस्तै, मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ को २, ३ र १५ का साथै मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ र २३३ को सम्बन्धमा आवश्यक संशोधनका लागि मस्यौदा तयार पार्न उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीको संयोजकत्वमा समिति बनाएको छ ।

समितिमा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, एनएमएका तर्फबाट महासचिव विश्वराज दवाडीसहित डा. संयुक्त आचार्य, डा. राकेश शाह सदस्य रहेका छन् । १५ दिनभित्र मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको यो समितिको सदस्य सचिवमा मन्त्रालयका कानुन अधिकृत सुरेश चौलागाई सदस्य सचिव छन् ।

विभिन्न मन्त्रालयहरु र नेपाल चिकित्सक संघबीच यसअघि भएका सम्झौताहरु अध्ययन गरी त्यसको कार्यान्वयन खाका तयार गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाइएको छ । उक्त कार्यदलमा मन्त्रालयका कानुन उपसचिव राजेन्द्र प्रसाद लम्साल, मेडिकल अधिकृत डा. राहुल झा, एनएमएका तर्फबाट डा. संजीव तिवारी, डा. तेजसु सिंह मल्ल, डा. पल्पसा श्रेष्ठ सदस्य छन् । मन्त्रालयका मेडिकल अधिकृत डा. नवराज जोशी सदस्य सचिव रहेका छन् । यो कार्यदललाई पनि १५ दिनभित्र कार्यान्वयनको खाका पेश गर्न समयसीमा दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ