२०८३ साउन १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू

झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू


काठमाडौं—स्वयम्भूस्थित ३०० शय्याको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले झण्डै २५ करोड रुपैयाँ लगानीमा अत्याधुनिक प्रविधिबाट इमेजिङ सेवा सञ्चालनमा ल्याएको छ । ‘हस्पिटल फर अल’ भन्ने अवधारणालाई थप सशक्त बनाउँदै अस्पतालले ‘मनमोहन इमेजिङ प्रा.लि.’मार्फत सबै प्रकारका इमेजिङ सेवा एउटै छानामुनिबाट उपलब्ध गराउन थालेको हो ।

अस्पतालका चिफ एक्जुकेटिभ डाइरेक्टर डा. एन. शर्माका अनुसार नयाँ इमेजिङ सेन्टरमा अत्याधुनिक एमआरआई, १२८ स्लाइस सिटी स्क्यान, फोरडी अल्ट्रासाउन्ड, कलर डप्लर, एनोमली स्क्यान, फाइब्रोस्क्यान, डेक्सा स्क्यान तथा इको कार्डियोग्राफीलगायतका सेवा सञ्चालनमा छन् । यसले बिरामीलाई एकै स्थानबाट छिटो, सहज र गुणस्तरीय निदान सेवा दिने विश्वास अस्पतालले लिएको छ ।

अस्पतालसँगैको नयाँ भवनबाट मनमोहन इमेजिङ प्रा.लि. सञ्चालनसँगै ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ६ जना इन्टरभेन्सन रेडियोलोजिस्ट र करिब एक दर्जनभन्दा बढी दक्ष टेक्निसियन कार्यरत छन्।

डा. शर्माले नेपालमा दक्ष स्वास्थ्य जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको बताए। ‘देशमा क्वालिफाइड जनशक्तिले काम पाउँदैन भन्ने कुरा पूर्ण रूपमा सही होइन । अहिले समस्या जागिरको भन्दा पनि दक्ष जनशक्ति अभावको हो । हामीले लामो समयदेखि इन्टरभेन्सन कार्डियोलोजिष्ट खोजिरहेका छौं, तर पाउन सकेका छैनौं,” उनले भने । उनले नेपालमा अनस्कील्ड लेबरमात्रै बेरोजगार भएको बताए ।

एआई–गाइडेड सिटी स्क्यान : छिटो परीक्षण, एक घण्टाभित्र रिपोर्ट

मनमोहन इमेजिङले चीनमा निर्मित १२८ स्लाइस साइनोभिजनको सिटी स्क्यान सञ्चालनमा ल्याएको छ । जसमा नवीनतम एआई–गाइडेड सफ्टवेयर जडान गरिएको छ ।

डा. शर्माका अनुसार रेडियोलोजिस्टले तयार गरेको रिपोर्टलाई एआईले पुनः विश्लेषण र पुष्टि गर्ने भएकाले रिपोर्टको विश्वसनीयता अझ बढी हुन्छ ।

यो मेसिनबाट १५–२० मिनेटमै सिटी स्क्यान हुने र एक घण्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ । साथै, प्लेन र कन्ट्रास्ट दुवै प्रकारका स्क्यान तथा कार्डियोभास्कुलर बाहेक अन्य सबै भास्कुलर परीक्षण समेत गर्न सकिने सुविधा रहेको छ ।

सिटी स्क्यान मेसिनको प्राविधिक मर्मतसम्भार भारतको बेङ्गलुरुस्थित सेक्युवा हेल्थकेयर पब्लिक लिमिटेडले गर्दै आएको छ । डा. शर्माका अनुसार कम्पनीसँग दीर्घकालीन सम्झौता भएकाले उपकरणमा आउने ९० प्रतिशत प्राविधिक समस्या रिमोट सिस्टमबाटै समाधान हुने गरेको छ । आवश्यक परे मात्रै प्राविधिक टोली नेपाल आउने व्यवस्था गरिएको छ ।

हिलियम–फ्री सुपर १.५ टेस्ला एमआरआई : कम खर्च, उच्च गुणस्तर

अस्पतालले करिब डेढ महिनाअघि हिलियम–फ्री सुपर १.५ टेस्ला एमआरआई पनि सञ्चालनमा ल्याएको छ । परम्परागत एमआरआईको तुलनामा यसमा मर्मतसम्भार खर्च कम लाग्ने र सञ्चालन अझ सहज हुने डा. शर्माले बताए ।

उनका अनुसार यो एमआरआई आधुनिक रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ र कुनै प्राविधिक समस्या आएपनि तीन दिनभित्र पुनः सञ्चालनमा ल्याउन सकिने क्षमता राख्छ ।

‘यसले दिने तस्बिरको गुणस्तर अत्यन्त उत्कृष्ट छ । कतिपय अवस्थामा तीन टेस्ला एमआरआईभन्दा पनि राम्रो इमेज प्राप्त हुन्छ । साथै, आवाज कम आउने भएकाले बिरामीका लागि निकै सहज र सुरक्षित छ,’  उनले भने । एमआरआईबाट पनि एक घण्टाभित्रै रिपोर्ट उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

डा. शर्माले बैंक ऋणमार्फत उपकरण खरिद गरिएको जानकारी दिँदै गुणस्तरीय सेवा विस्तारका लागि गरिएको लगानीले सकारात्मक परिणाम दिन थालेको बताए । ‘हामीले ठूलो लगानी गरेका छौं तर अहिले खुसी छौं । उपकरणले उत्कृष्ट गुणस्तरको रिपोर्ट दिइरहेको छ र बिरामीले छिटो तथा सहज सेवा पाइरहेका छन् । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ