काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको बताएकी छन् । सोमबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिदैं उनले लहान अन्तरिम ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको जानकारी दिइन् ।
‘ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत रहेको छ,’ उनले भनिन्, ‘ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ ।’ मन्त्री मेहताले ढल्केवरमा पूर्वाधार बन्न समय लाग्ने भएकाले लहानमा रहेको प्रादेशिक अस्पताललाई अहिले अन्तरिम ट्रमा सेन्टरका रुपमा प्रयोग गर्न लागिएको जानकारी दिइन् ।
उनले लहानमा रहेको प्रादेशिक अस्पताल ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको बताइन् । ‘उक्त अस्पतालमा सिटी स्क्यानलगायत आवश्यक स्वास्थ्य पूर्वाधार, चिकित्सकीय जनशक्ति तथा बिरामीको पर्याप्त चाप रहेको छ,’ उनले भनिन्, ‘साथै ब्लड बैंकको व्यवस्था पनि रहेको छ ।’
तर, यो ढल्केवरको विकल्प नभएका उनको भनाइ थियो । ‘यो ढल्केवरको कुनै विकल्प होइन् । नागरिकलाई तत्काल उपचार दिन अन्तरिम र व्यवहारिक व्यवस्था हो,’ उनले भनिन् ।
मन्त्री मेहताले संसदमा राखेको भनाइ जस्ताको तस्तै
सडक दुर्घटनामा गम्भीर घाइते भएका नागरिकहरुलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्याता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार उपलब्ध गराउने सरकारको नीति हो ।
सोहीअनुरुप हरेक प्रदेशमा कम्तिमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकताअनुसार ट्रमा युनिट स्थापना गर्ने कार्य अगाडि बढाइएको छ ।
मेरा लागि देशका सबै भूगोल र सबै नागरिक समान छन्, स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय होइन् नागरिकको मौलिक आवश्यकताको विषय हो । त्यसैले मन्त्रालयले तत्काल सेवा दिन सकिने व्यवस्था र दीर्घकालीन पूर्वाधार निर्माणका लागि सँगसँगै काम अगाडि बढाइएको छ ।
मधेश प्रदेशको सन्दर्भमा लहानस्थित प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गर्ने योजना मन्त्रालयले अगाडि बढाएको छ । उक्त अस्पतालमा सिटी स्क्यानलगायत आवश्यक स्वास्थ्य पूर्वाधार चिकित्सकीय जनशक्ति तथा बिरामीको पर्याप्त चाप रहेको छ । साथै ब्लड बैंकको व्यवस्था पनि रहेको छ ।
आकस्मिक तथा ट्रमा सेवाका लागि आवश्यक आधार समेत उपलब्ध छ । यी पूर्वाधार उपयोग गर्दै लहानमा तत्काल ट्रमा सेवा सुचारु गर्न सकिन्छ । ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत रहेको छ । ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ ।
त्यसको संरचना दीर्घकालीन रुपमा निर्माण हुनेछ । तर, नयाँ संरचना निर्माण हुन समय लाग्दछ । त्यस अवधिसम्म दुर्घटनामा घाइतेहरुले उपचारका लागि टाढा जानु पर्ने अवस्था नरहोस् भनेर लहानमा उपलब्ध पूर्वाधारहरुको उपयोग गरी तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउन खोजिएको हो ।
यो ढल्केवरको कुनै विकल्प होइन् । नागरिकलाई तत्काल उपचार दिन अन्तरिम र व्यवहारिक व्यवस्था हो । त्यसैले एउटा ठाउँमा स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा सेवा विस्तार गर्नु विरोधाभाष होइन् । सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा स्वास्थ्य पूर्वाधार थप्दैं जाने हो यस विषयलाई क्षेत्रगत प्रतिस्पर्धा अथवा विवादका रुपमा होइन्, नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवाको विस्तारका रुपमा बुझ्न म आग्रह गर्छु ।
हाम्रो उद्देश्य एउटै हो दुर्घटनामा परेका नागरिकहरुले समयमै उपचार पाउन र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता नहोस् । यस विषयमा अनावश्यक विरोध र आन्दोलन नगर्न, निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र तत्काल उपलब्ध पूर्वाधारबाट नागरिकलाई सेवा दिन सबै जनप्रतिनिधि र सम्बन्धित पक्षलाई सहयोग गर्नुहुन म अनुरोध गर्दछु ।