काठमाडौं—मुलुककै जेठो वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. नेपाललाई वीरको निर्देशकमा नियुक्त गरेकी हुन् ।
जनरल तथा ग्यास्ट्रो सर्जन रहेका डा. नेपाल ११ औं तहका चिकित्सक हुन् । उनले नयाँदिल्लीस्थित एम्सबाट जनरल सर्जरीमा एमएस र पिजीआई चण्ढीगढबाट ग्यास्ट्रो सर्जरीमा एमसीएच गरेका हुन् ।
डा. नेपालले काठमाडौं युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन् । उनले अमेरिकाबाट कोलोरेक्टल सर्जरीमा अब्जरभरसीप पनि गरेका छन् ।
डा. विकासले २००७ देखि २०१० सम्म त्रिशुली अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । यस्तै, सन् २०१४ देखि २०१७ सम्म त्रिवि शिक्षण अस्पताल महाराजगंजमा जनरल सर्जरीको एसिस्टेन्ट प्रोफेसरका रुपमा काम गरेका थिए ।
सन् २०१७ देखि उनी वीर अस्पतालको चिफ कन्सल्ट्यान्ट सर्जनका साथै एशोसिएट प्रोफेसरका रुपमा सक्रिय छन् ।
वीर अस्पतालका सहायक निर्देशक ईएनटी सर्जन डा. अनिता जिसी र प्लास्टिक सर्जन डा. अपार लामिछाने नियुक्त भएका छन् ।