काठमाडौं—सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित देशका ६ वटा विश्वविद्यालयमा नयाँ रेक्टर र रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रेक्टर र रजिस्ट्रार नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. तारादत्त भट्ट नियुक्त भएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।
नवनियुक्त रेक्टर र रजिस्ट्रारहरूले मंगलबार नै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।