२०८३ भदौ २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण

आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण


काठमाडौं—नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईबीबी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईबीबीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो ।

उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेकमार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । चेक हस्तान्तरण गर्दै आईबीबी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन् ।

उनले आईबीबीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् । ‘धन्यवाद प्रधानमन्त्री, धन्यवाद गृहमन्त्री, धन्यवाद अर्थमन्त्री, सेना, प्रहरी, राष्ट्रसेवक, स्वयंसेवक अनि आफ्नै मनले त्यही बाढीलाई चिर्दै उर्लिएको राहत रूपी हातहरू सबैलाई मेरो नमन,’ उनले भनिन् । उनले उपभोक्तालाई सम्बोधन गर्दै भनिन्, ‘मामुहरू सबैलाई धेरै–धेरै धन्यवाद । तपाईंहरूको साथ सहयोगबिना आज हामी यो ५० लाखको नगद सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ ।’

आईबीबीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको स्पष्ट पारिन् । ‘हिजोका दिनमा आईबीबीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनु भएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,’ सर्राफले भनिन् ।

उनका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईबीबीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । ‘यो डोनेसन आईबीबीले होइन, तपाईंहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,’ उनले थपिन् ।

आईबीबीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोड्दै राहत अभियान सञ्चालन गरेको हो । सर्राफले आईबीबीको तर्फबाट भएको सहयोग अभियानको सुत्रधार बन्न पाउँदा आफूलाई अत्यन्तै गर्व लागेको बताइन् । ‘यो सबै कुराको सुत्रधार बन्न पाउँदा मैले असाध्यै गर्व महसुस गरेकी छु,’ उनले भनिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ