२०८३ भदौ २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक

दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक

दर्ता तथा सूचीकृत नभएका तेलको सामाजिक सञ्जालमार्फत प्रचारमा रोक, नियमविपरीत विज्ञापन गरे कारबाही हुने


काठमाडौं—औषधि व्यवस्था विभागले दर्ता तथा सूचीकृत नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक्न उत्पादक र आयातकर्ताहरुलाई निर्देशन दिएको छ । २६ भदौंमा विभागका महानिर्देशक भरत भट्टराईले एक सूचना जारी गर्दै विभागमा दर्ता नभएका जडिबुटीयुक्त सुगन्धित तेलको बिक्री—वितरण र सामाजिक सञ्जालमार्फत भइरहेको प्रचार—प्रसारमा रोक लगाएका हुन् ।

अहिले कपाल झर्न रोक्ने, शरीरको दुखाइ कम हुनेलगायतका स्वास्थ्य सम्बन्धी फाइदा तथा चिकित्सकीय दाबी गर्दै सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट जडिबुटीजन्य सुगन्धित तेलहरु प्रचार–प्रसार तथा बिक्री–वितरण भइरहेको छ । विभागले सामाजिक सञ्जालमार्फत त्यस्ता उत्पादनको विज्ञापन, प्रचार–प्रसार तथा बिक्री–वितरण भइरहेको विषयमा ध्यानाकर्षण भएको उल्लेख छ ।

‘औषधि ऐन, २०३५, जडिवुटीजन्य सुगन्धित तेलहरुको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरुको सूचिकृत सम्बन्धि न्यूनतम मापदण्ड, २०८१ अनुसारको मापदण्डको प्रावधानहरु बमोजिम विभागमा सुचिकृत नभई जडिवुटीजन्य सुगन्धित तेल लगायत अन्य समेत कुनै पनि उत्पादनको विक्री—वितरण गर्न नपाइने र औषधि ऐन, २०३५ को दफा १९, औषधि दर्ता नियमावली, २०३८ नियम ७ बमोजिम विज्ञापनको अनुमति प्राप्त नगरी कुनै पनि प्रकारको विज्ञापन, प्रचार—प्रसार गर्न नपाइने, गरेको खण्डमा औषधि ऐन को उल्लंघन भएको मानिने हुँदा यस्ता प्रकारका कुनै पनि कार्य नगर्ने—नगराउने, गरेको भए तत्काल बन्द गर्न यो सूचना जारी गरिएको छ,’ विभागको सूचनामा छ ।

नियमविपरीत विज्ञापन तथा प्रचार–प्रसार गरेको पाइएमा औषधि ऐन उल्लघंन भएको मानिने र त्यस्ता कार्य तत्काल बन्द गराइने विभागको चेतावनी छ । विभागले जडीबुटीयुक्त सुगन्धित तेलका उत्पादक तथा आयातकर्तालाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी विभागमा यथाशीघ्र दर्ता तथा सूचीकृत हुनसमेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ