काठमाडौं— स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल दृष्टि आई केयर सिस्टमको सहकार्यमा विशेषज्ञ आँखा सेवा सुरु भएको छ । बिहीबारबाट मनमोहन अस्पतालले आफ्नो बहुविशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आँखा उपचार सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ सेवाअन्तर्गत अस्पतालमै विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण, परामर्श तथा उपचारको सुविधा उपलब्ध हुनेछ । अस्पतालका कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्माकाअनुसार विशेषज्ञ आँखा बहिरङ्ग सेवा (ओपीडी), दृष्टि परीक्षण तथा रिफ्र्याक्सन, अप्टोमेट्री, आँखा सम्बन्धी उपचार, परामर्श तथा आवश्यकताअनुसार रेफरल सेवा उपलब्ध हुनेछ । अस्पताल परिसरमै अप्टिकल सेवासमेत सञ्चालनमा आएको छ ।
मोतिबिन्दुलगायतका शल्यक्रिया तथा इऋत्, ख्ँब्, द्य(कअबल, द्यष्यmभतचथ र ँगलमगक एजयतयनचबउजथ जस्ता उन्नत परीक्षण आवश्यक परे बिरामीको चिकित्सकीय अवस्था र आवश्यकताअनुसार दृष्टिका उपयुक्त केन्द्रमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको डा. शर्माले जानकारी दिए ।
नयाँ सेवाले मनमोहन अस्पतालको विद्यमान बहुविशेषज्ञ स्वास्थ्य सेवा संरचनामा आँखा उपचारलाई समेत जोडेको छ। सहकार्यअन्तर्गत मनमोहनको अस्पताल संरचना, बिरामी सेवा तथा विभिन्न विशेषज्ञबीचको समन्वयलाई दृष्टिको आँखा उपचारसम्बन्धी विशेषज्ञ जनशक्ति, क्लिनिकल अनुभव तथा उपचार सञ्जालसँग जोडिएको छ ।
सेवा सञ्चालनसँगै बिरामी सुरक्षा, संक्रमण नियन्त्रण, अभिलेख व्यवस्थापन, आपत्कालीन समन्वय तथा नियमित गुणस्तर समीक्षालाई प्राथमिकतामा राखिने दुवै संस्थाले जनाएका छन् ।
सेवा शुभारम्भका अवसरमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष तथा कार्यकारी निर्देशक डा. शर्माले विशेषज्ञ आँखा सेवा सुरु हुनु अस्पतालको समग्र र बिरामी केन्द्रित स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण कदम भएको बताए ।
‘मनमोहनको बहुविशेषज्ञ अस्पताल संरचना र दृष्टिको आँखा उपचारसम्बन्धी विशेषज्ञतालाई एउटै प्रणालीमा जोडेर बिरामीलाई जाँचदेखि आवश्यक उपचारसम्म सहज, सुरक्षित र भरपर्दो सेवा दिन चाहन्छौँ,’ उनले भने, ‘यस सहकार्यले समुदायमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने विश्वास लिएका छौँ ।’
त्यस्तै, दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठले गुणस्तरीय आँखा सेवा नागरिकको पहुँच नजिक पुर्याउनु दृष्टिको मुख्य उद्देश्य रहेको बताए । ‘मनमोहनसँगको सहकार्यले सामान्य आँखा परीक्षणदेखि उन्नत परीक्षण र आवश्यक शल्यक्रियासम्मको उपचार यात्रालाई व्यवस्थित रूपमा जोड्नेछ,’ उनले भने, “बिरामीको सुरक्षा, सही परामर्श र उपचारको निरन्तरतालाई केन्द्रमा राख्दै यस सेवालाई नमुना सहकार्यका रूपमा विकास र विस्तार गर्दै लैजानेछौँ ।’
दुवै संस्थाले सेवा गुणस्तर, बिरामीको अनुभव, प्रतीक्षा समय तथा रेफरल समन्वयको नियमित समीक्षा गर्ने जनाएका छन्। बिरामीको आवश्यकता र प्राविधिक सम्भाव्यताका आधारमा आगामी दिनमा थप परीक्षण तथा उपचार सेवा विस्तार गर्ने योजना रहेको पनि बताइएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वयम्भूबाट सामान्य स्वास्थ्य सेवासँगै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।