विराटनगरस्थित कोशी अस्पतालमा दैनिक १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म बिरामी ओपीडीमा आउने गर्छन् । बिरामीको चाप बढ्दै जाँदा टिकट काउन्टरदेखि प्रयोगशाला र आकस्मिक कक्षसम्म भीड व्यवस्थापन अस्पतालका लागि चुनौती बनेको छ । अस्पतालले भने सेवा प्रवाहलाई सहज बनाउन टिकट काउन्टर एकीकृत गर्ने, प्रयोगशालाको रिपोर्ट लिन हुने झन्झट घटाउने, आँखा विभागलाई नयाँ स्थानमा सार्ने तथा आकस्मिक सेवाको क्षमता विस्तार गर्ने तयारी अघि बढाएको छ । नयाँ भेन्डिङ मेसिन सञ्चालनमा ल्याउने तयारी समेत भइरहेको छ । अस्पतालको सेवा सुधार, भीड व्यवस्थापन, आकस्मिक सेवा तथा आईभीएफ सेवाका विषयमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झासँग हेल्थआवाजका लागि अनिल श्रेष्ठले गरेको कुराकानीः
दैनिक ठूलो संख्यामा बिरामी आउने ओपीडीको भीड व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हाम्रो मुख्य समस्या नै भीडभाड हो । त्यसलाई कसरी घटाउने भन्नेमा हामी केन्द्रित छौं । १५ भदौंदेखि टिकट काउन्टरको व्यवस्थापनमा परिवर्तन गरेका छौं । अहिले अर्थोका बिरामीले सोही भवनमा टिकट काट्ने व्यवस्था मिलाएका छौं । त्यसले गर्दा बिरामीले टिकट काट्न पनि टाढा जानुपर्ने र त्यसपछि सम्बन्धित विभागमा पुग्नुपर्ने अवस्था थियो । अहिले सबै सेवाको टिकट एउटै ठाउँबाट काट्न सकिने व्यवस्था गरेका छौं । यसले ओपीडीको भीड निकै हदसम्म नियन्त्रण भएको छ । अब बिरामीले एकै ठाउँबाट आफूले लिनुपर्ने सबै सेवाको टिकट लिएर सिधैं सम्बन्धित विभागमा जान सक्ने भएका छन् । यसबाट बिरामीलाई पनि सहज भएको छ ।
ल्याबको रिपोर्ट लिन पनि अब भीडमा बस्नुपर्ने अवस्था हटाउने तयारी गर्नुभएको हो ?
हो, अस्पतालमा नयाँ भेन्डिङ मेसिन जडान भइसकेको छ । अब करिब एक साताभित्र यसलाई सञ्चालनमा ल्याउने तयारी छ । मेसिन सञ्चालनमा आएपछि बिरामीले रिपोर्ट लिनका लागि फेरि ल्याबमा लाइन बस्नुपर्ने अवस्था हट्नेछ । बिरामीले एकपटक स्याम्पल दिएपछि बिल आएअनुसार रिपोर्ट त्यही मेसिनबाट प्रिन्ट गरेर लिन सक्नेछन् ।
यो प्रणाली एयरपोर्टमा बोर्डिङ पास प्रिन्ट गरेजस्तै वा एटीएमबाट रकम निकालेजस्तै स्वःचालित हुनेछ । यसले ल्याबमा हुने भीड र बिरामीको समय दुवै बचत गर्ने अपेक्षा गरेका छौं ।
आँखा विभागलाई रेडक्रस भवनमा सार्ने तयारी कहाँ पुगेको छ ?
अहिले आँखा विभाग पुरानो र बिरामीका लागि त्यति सहज नभएको ठाउँमा छ । त्यसलाई रेडक्रस रहेको भवनमा सार्ने तयारी गरिरहेका छौं । त्यही भवनमा ब्लड बैंक पनि छ । भवनमा फ्लोरिङ, पार्टेसन तथा संक्रमण नियन्त्रणका लागि आवश्यक संरचना निर्माण भइरहेको छ । यसका लागि हाम्रा चिकित्सकहररु आफैं पनि डिजाइन र इन्जिनियरिङको काममा लागिरहनुभएको छ । सकेसम्म दशैंअघि नै काम सम्पन्न गरेर आँखा विभाग सार्ने हाम्रो लक्ष्य छ ।
ब्लड बैंकको सेवालाई पनि थप व्यवस्थित र सुरक्षित बनाउने काम भइरहेको छ । जनशक्तिको केही सीमा भएपनि उपलब्ध स्रोत–साधनबाट सेवाको गुणस्तर कायम राख्ने प्रयास गरिरहेका छौं ।
कोशी अस्पतालको आकस्मिक कक्षमा क्षमताभन्दा बढी बिरामी हुने गरेका छन् । यसको समाधान कसरी खोज्दै हुनुहुन्छ ?
इमर्जेन्सीमा क्षमताभन्दा बढी बिरामीको चाप हुनु हाम्रो अर्को ठूलो चुनौती हो । वैज्ञानिक हिसाबले हेर्दा ४० शय्याको इमर्जेन्सी सञ्चालन गर्न कम्तिमा १०० श्ययाको मेडिसिन वार्ड आवश्यक हुन्छ । तर, अहिले हामीसँग इमर्जेन्सीमा ४० शय्या मात्रै छन् र वार्डको क्षमता पनि सीमित छ ।
त्यसैले बिरामीहरू इमर्जेन्सीमै थुप्रिने अवस्था आउँछ । यो समस्या भौतिक संरचनासँग पनि जोडिएको छ । सुपरस्पेसियालिटी भवन पूर्ण रूपमा हस्तान्तरण भएर अस्पतालले प्राप्त गरेपछि इमर्जेन्सी तथा अन्य विभागलाई थप व्यवस्थित र विस्तार गर्ने योजना छ ।
प्रसूति तथा आईभीएफ सेवा पनि विस्तार हुँदैछ ?
प्रसूति तथा स्त्रीरोग सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । त्यससँगै बाँझोपन तथा निःसन्तान सम्बन्धी उपचारअन्तर्गत आईभीएफ र आईयूआई सेवा पनि सुरु गरेका छौं । तर, आईभीएफ सेवा पूर्ण रूपमा र व्यापक ढंगले सञ्चालन गर्न विशेष प्रकारको इम्ब्रियोलोजी सेवा, दक्ष जनशक्ति र छुट्टै उपकरण आवश्यक पर्छ । त्यसका लागि क्रमिक रूपमा आवश्यक तयारी र व्यवस्थापन गरिरहेका छौं ।
कोशी अस्पतालको सेवा सुधारका लागि अहिलेको प्राथमिकता के हो ?
हाम्रो सम्पूर्ण प्रयास सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउनेमा केन्द्रित छ । सीमित स्रोत–साधनका बाबजुद बिरामीले अनावश्यक रूपमा समय र श्रम खर्च गर्न नपरोस् भन्नेमा हामी सचेत छौं ।
टिकट काउन्टरको एकीकृत व्यवस्थापन, ल्याब रिपोर्टलाई सहज बनाउने प्रविधिको प्रयोग, नयाँ भवनको उचित उपयोग र विभागहरूको पुनःव्यवस्थापन मार्फत सेवाग्राहीलाई अधिकतम सहजता दिने प्रयास गरिरहेका छौं ।
अस्पताल सुधारका लागि कर्मचारी, चिकित्सक, सेवाग्राही र सरोकारवाला सबैको सहयोग आवश्यक हुन्छ । सबैको सहकार्यबाट कोशी अस्पतालको सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।