२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू

कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू


काठमाडौं—कोशी प्रदेशका दूरदराज तथा दुर्गम क्षेत्रका बिरामीहरूलाई घरदैलोमै प्रशामक तथा हस्पिस केयर सेवा पु¥याउने उद्देश्यले ‘हब एन्ड स्पोक’ मोडलमा आधारित टेलिमेडिसिन सेवा सुरु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्य केन्द्र र प्रदेशका १४ वटै जिल्लाका अस्पतालहरूलाई ‘स्पोक’का रूपमा जोडेर यो सेवा सञ्चालनमा ल्याइएको हो ।

उक्त परियोजनाका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वर्ल्ड क्यान्सर कोल्याबोरेसन र नेपाल हस्पिस केयर सेन्टरबीच दुई वर्षका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र टु वर्ल्ड क्यान्सर कोल्याबोरेसनका नेपाल लिड तथा नेपाल हस्पिस केयर सेन्टरका प्रतिनिधि प्रा.डा. विष्णुदत्त पौडेलले हस्ताक्षर गरेका छन् ।

यो नेपालमै पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा सुरु गरिएको नवीन प्रयास भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ बताए । परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार (स्वास्थ्य मन्त्रालय) को विशेष सहजीकरण र सहयोग रहेको छ ।

प्रदेश सरकारले नै जिल्ला अस्पतालहरूबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने स्थायी नर्स तथा डाक्टरहरूलाई छनोट गरी समावेस गराएको हो । छनोट भएका स्वास्थ्यकर्मीहरूलाई ५ दिने आवासीय तालिम प्रदान गरिसकिएको छ । टु वर्ल्ड क्यान्सर कोल्याबोरेसनका नेपाल लिड प्रा.डा. विष्णुदत्त पौडेल र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी मेडिकल अंकोलोजिष्ट डा. सोनिया दुलालको सुपरभिजनमा उक्त तालिम सम्पन्न भएको हो । साथै, प्रदेश मन्त्रालयले १४ वटै जिल्लामा टेलिमेडिसिन सेटअप गर्न र यस कार्यक्रमलाई दिगो बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस अभियानमा संलग्न विभिन्न विषयका विशेषज्ञहरूले कुनै पनि नाम वा माध्यमबाट दिइरहेको सेवा पूर्ण रूपमा स्वयंसेवी रहेको छ । परियोजनाअन्तर्गत अस्पतालसम्म आउन नसक्ने गम्भीर बिरामीहरूका लागि हप्ताको प्रत्येक बिहीबार टेलिमेडिसिनमार्फत परामर्श तथा उपचार सेवा दिइनेछ । हालै टु वर्ल्ड क्यान्सर कोल्याबोरेसनका अध्यक्ष एवं मेडिकल अंकोलोजिस्ट डा. पुनीत बेन्स, प्रा.डा. विष्णुदत्त पौडेल र डा. सोनिया दुलाल लगायतका विज्ञहरूको उपस्थितिमा यो सेवाको औपचारिक सुरुवात गरिएको हो ।

उद्घाटनकै दिन तेह्रथुम र सोलुखुम्बु जिल्लाका ३ जना जटिल बिरामीहरूको अवस्थाबारे स्थानीय डाक्टर तथा नर्सहरूले प्रस्तुत गरेका केसहरूमाथि छलफल गरी टेलिमेडिसिनमार्फत आवश्यक परामर्श र लक्षण व्यवस्थापनका उपायहरूका बारे बताइएको थियो । यो सेवाको विस्तारसँगै जटिल बिरामीहरूले आफ्नै गाउँ–ठाउँमा स्थानीय स्वास्थ्यकर्मीहरूमार्फत विशेषज्ञ परामर्श पाउनेछन् । यसले गर्दा ठूला अस्पताल धाउँदा हुने आर्थिक भार, यात्राको सास्ती र बेड नपाउने समस्याको अन्त्य हुनेछ । दुई वर्षको अवधिमा यस परियोजनाको प्रभावकारिता अध्ययन गरी यसलाई दिगो बनाउने र देशका अन्य प्रदेशहरूमा पनि मोडलका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सामान्यतयाः प्रसामक सेवा क्यान्सर, दीर्घकालीन मिर्गौला रोग, मुटु तथा कलेजोका गम्भीर रोगहरू, श्वासप्रश्वास सम्बन्धी कडा रोगहरू र स्नायु तथा मस्तिष्कसम्बन्धी रोगहरू जस्ता जटिल तथा निको नहुने रोगबाट पीडित बिरामीहरूका लागि दिइन्छ । यसको मुख्य उद्देश्य रोग पूर्ण रूपमा निको पार्नुभन्दा पनि बिरामीको शारीरिक पीडा (दुखाइ) कम गरी जीवनको गुणस्तरमा सुधार ल्याउनु हो ।

‘हाल प्रतिष्ठानलगायत देशभरि नै क्यान्सर सम्बन्धी विज्ञहरूको ठूलो कमी रहेको छ,’ प्रवक्ता प्रा.डा. श्रेष्ठले भने, ‘यही जनशक्ति अभावका कारण क्यान्सरका बिरामीहरू प्रसामक सेवा पाउनबाट वञ्चित नहोऊन् भन्ने कुरालाई ध्यानमा राख्दैं हाललाई यो टेलिमेडिसिन सेवा क्यान्सरका बिरामीहरूका लागि मात्र केन्द्रित गरेर सुरु गरिएको छ र भविष्यमा प्रसामक सेवा चाहिने अन्य रोगका बिरामीहरुको लागि पनि उक्त सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ