काठमाडौं-नेपालका ५० हजार विद्यालय जाने बालबालिकाको मौखिक तथा दन्त स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘५०,००० स्माइल्स नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउन बिएम फाउण्डेसन नेपाल र सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई)बीच समझदारीपत्र भएको छ ।
बुधबार कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा बिएम फाउण्डेसनमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र एसएनएचपीईका उपाध्यक्ष डा। सागर धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा एसएनएचपीईका अध्यक्ष डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्यान्डबाट भर्चुअल माध्यममार्फत सहभागी भएका थिए ।
त्यसैगरी, एसएनएचपीईका नेपाल सम्पर्क व्यक्ति दामोदर नेपालको उपस्थितिमा भएको कार्यक्रममा एसएनएचपीई बोर्ड सदस्य तथा युरोपियन जर्नल अफ नेप्लीज हेल्थकेयर प्रोफेसनलका प्रधान सम्पादक डा. कौशलकिशोर तिवारी इटालीबाट भर्चुअल रूपमा सहभागी भएका थिए ।
५० हजार बालबालिकासम्म पुग्ने लक्ष्य
‘५०,००० स्माइल्स नेपाल’ अभियानले नेपालभरका विद्यालयमा पुगेर बालबालिकाको मौखिक तथा दन्त स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा, जनचेतना र परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ ।
अभियानअन्तर्गत हालसम्म दुई प्रदेशका १३ विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ । जसमा बागमती प्रदेशका १२ र गण्डकी प्रदेशको एक विद्यालय रहेका छन् । आगामी दिनमा अभियानलाई थप विद्यालय तथा विशेषगरी ग्रामीण र स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायसम्म विस्तार गर्ने योजना रहेको छ ।
अभियानमार्फत बालबालिकामा सानै उमेरदेखि दाँत तथा मुखको सरसफाइसम्बन्धी स्वस्थ बानीको विकास गर्ने, नियमित दन्त परीक्षणको महत्वबारे जानकारी गराउने तथा आवश्यक उपचार सेवामा पहुँच बढाउने उद्देश्य राखिएको छ ।
नेपाल र विदेशमा रहेका स्वास्थ्यकर्मीलाई जोड्दै
समझदारीअनुसार नेपाल तथा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीका साथै स्वास्थ्यसम्बन्धी विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका रेसिडेन्ट चिकित्सक तथा स्वयंसेवकलाई अभियानमा सहभागी गराइनेछ ।
अभियानको प्राविधिक पक्षमा कान्तिपुर डेन्टल कलेज एण्ड शिक्षण अस्पतालले सहयोग गर्नेछ । अस्पतालले मौखिक स्वास्थ्य परीक्षण, क्लिनिकल मार्गदर्शन तथा आवश्यक प्राविधिक विशेषज्ञता उपलब्ध गराउनेछ ।
बिएम फाउण्डेसनका अध्यक्ष तथा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बालबालिकामा सानै उमेरदेखि मौखिक स्वास्थ्यसम्बन्धी ज्ञान र स्वस्थ व्यवहार विकास गर्नु अभियानको प्रमुख उद्देश्य रहेको बताए ।
उनका अनुसार अभियानलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्याउन स्वास्थ्य क्षेत्रका विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका रेसिडेन्ट तथा स्वयंसेवकलाई परिचालन गरिँदैछ ।
एसएनएचपीईका अध्यक्ष डा. श्रेष्ठले मौखिक स्वास्थ्य समग्र स्वास्थ्यकै अभिन्न हिस्सा भएकाले बालबालिकाले सानै उमेरदेखि उचित मौखिक स्वास्थ्य शिक्षा र सेवा पाउनुपर्नेमा जोड दिए । उनले अभियानका लागि एसएनएचपीईले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई अभियानसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे।
एसएनएचपीईका उपाध्यक्ष डा. सागर धितालले विशेषगरी ग्रामीण क्षेत्र तथा विद्यालयमा बालबालिकाको मौखिक स्वास्थ्यसम्बन्धी सूचना र सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार अभियानले नेपालमा कार्यरत स्वास्थ्यकर्मी र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र स्रोतलाई एउटै अभियानमार्फत परिचालन गर्ने प्रयास गरेको छ ।
अभियानले बालबालिकामा सकारात्मक मौखिक स्वास्थ्य व्यवहार विकास गर्ने, नियमित स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्ने, दाँत तथा मुखसम्बन्धी समस्या समयमै पहिचान गर्ने र आवश्यक उपचार सेवामा पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।