काठमाडौं—झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले ‘एस्मो डिजाइनेटेड सेन्टर फर इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर (एस्मो-२०२६) प्रतिष्ठित एवार्ड प्राप्त गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं कन्सल्ट्यान्ट अंकोलोजिष्ट डा. वीरेन्द्र यादवले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजीले प्रदान गर्ने यो एवार्ड क्यान्सर उपचारसँगै प्रभावकारी लक्षण व्यवस्थापन र उपशामक हेरचाहलाई एकीकृत रूपमा अघि बढाउने सेवासँग सम्बन्धित रहेको जानकारी दिए ।
उनकाअनुसार अनुसार यो अन्तर्राष्ट्रिय पहिचान नेपालमा क्यान्सर उपचारलाई थप व्यापक, प्रमाणमा आधारित, संवेदनशील र बिरामीकेन्द्रित बनाउने प्रतिबद्धताको प्रतिफल हो । एस्मोको यो एवार्डले पूर्वाञ्चल क्यान्सर अस्पतालको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउनुका साथै नेपालमा अंकोलोजी तथा उपशामक हेरचाह सेवाको विकासमा समेत सकारात्मक सन्देश दिएको छ ।
अस्पतालले यस उपलब्धिलाई बिरामी केन्द्रित सेवाहरू सुदृढ बनाउने, जीवनको गुणस्तर सुधार गर्ने र क्यान्सरबाट प्रभावित प्रत्येक व्यक्तिलाई सम्मान, सहयोग तथा संवेदनशीलतासहितको सेवा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कोशेढुङ्गाका भएको जनाएको छ ।
क्यान्सर उपचारमा आधुनिक प्रविधि र चिकित्सकीय दक्षतासँगै बिरामीप्रतिको मानवीय संवेदना, पीडा व्यवस्थापन र सम्मानजनक जीवनयापनलाई जोड दिनु आजको स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकता हो । यस सन्दर्भमा पूर्वाञ्चल क्यान्सर अस्पतालले प्राप्त गरेको एस्मो २०२६ को मान्यतालाई नेपालको क्यान्सर उपचार सेवाको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।
पूर्वाञ्चल क्यान्सर अस्पतालले आधुनिक क्यान्सर उपचारलाई प्रभावकारी लक्षण व्यवस्थापन र उपशामक हेरचाहसँग एकीकृत गर्ने अवधारणालाई प्राथमिकता दिएको जनाएको छ । यसले उपचारका क्रममा बिरामीको शारीरिक अवस्थासँगै मानसिक, भावनात्मक तथा मानवीय आवश्यकतालाई समेत सम्बोधन गर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ ।