काठमाडौं— बढ्दो मधुमेहको जोखिमलाई मध्यनजर गर्दै नयाँ बानेश्वरस्थित मेट्रो ल्याब्स प्रा.लि. (मेट्रोल्याब्स)ले मेगा सामुदायिक मधुमेह परीक्षण अभियान सञ्चालन गरेको छ । शनिबार विश्व मधुमेह दिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको डेढ महिना लामो अभियानमार्फत पाँच हजारभन्दा बढी व्यक्तिको निःशुल्क मधुमेह परीक्षण गर्ने र समुदायलाई करिब १ करोड बराबरको निःशुल्क परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
अभियानको औपचारिक शुभारम्भ मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले आफ्नो रक्त नमुना दिएर गरेका थिए । खड्का र ढकालको सहभागिताले मधुमेहको समयमै पहिचान र नियमित स्वास्थ्य परीक्षणप्रतिको जनचेतनालाई थप प्रोत्साहन गर्ने अपेक्षा मेट्रो ल्याब्सको छ ।
सो अवसरमा बोल्दैं नेपाल क्रिकेट संघ (क्यान) का सचिव समेत रहेका खड्काले स्वस्थ खानपान, नियमित व्यायाम र समयमै परीक्षण गरेमा मधुमेहको जोखिमबाट बच्न सकिने बताए । ‘मधुमेहविरुद्धको लडाइँ रोग लागेपछि होइन, समयमै सचेत भएर सुरु गर्नुपर्छ । स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण नै यसको जोखिम कम गर्ने महत्वपूर्ण उपाय हुन् । मैले आफ्नो सुगर परीक्षण गराएर यस अभियानमा सहभागिता जनाएको छु,’ उनले भने, मेट्रोल्याब्सको यस मेगा अभियानमा सहभागी भई निःशुल्क रगतमा चिनीको मात्रा तथा एचबीए१सी परीक्षण गराउनुहोस् र आफ्नो परिवार तथा साथीभाइलाई पनि प्रेरित गर्नुहोस् ।’
काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले स्वस्थ समुदाय निर्माणका लागि नागरिकको स्वास्थ्य परीक्षण आवश्यक रहेको धारणा व्यक्त गरे । ‘स्वस्थ समुदाय निर्माणका लागि नागरिकहरूमा स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचान गर्ने बानीको विकास हुनु आवश्यक छ । मधुमेहजस्तो दीर्घकालीन रोगको जोखिम कम गर्न नियमित परीक्षण र जनचेतना महत्त्वपूर्ण छन्,’ उनले भने, ‘मेट्रोल्याब्सले समुदायको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको यस अभियानमा सबै नागरिक सहभागी हुन र आफ्नो स्वास्थ्यप्रति सचेत रहन म आग्रह गर्दछु ।’

जनस्वास्थ्यविद् तथा मेट्रोल्याब्सका प्रबन्ध निर्देशक शंकर देवकोटाले स्वस्थ समुदाय निर्माणका गर्ने उद्देश्यका साथ यो मेगा अभियान सुरु गरेको जानकारी दिए । ‘स्वस्थ समुदाय निर्माण गर्न रोग लागेपछि उपचार खोज्नु मात्र पर्याप्त हुँदैन, रोग लाग्नुअघि नै सचेत हुनु र समयमै परीक्षण गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । यही सोचका साथ मेट्रोल्याब्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो मेगा अभियान सञ्चालन गरेको हो,’ उनले भने, ‘यस अभियानमा पनि हामीले नियमित सेवामा प्रयोग गर्दै आएको उही विश्वस्तरीय प्रविधि र गुणस्तर मापदण्ड अपनाउँदैछौँ ।’ उनले गुणस्तरीय स्वास्थ्य सेवा सहज पहुँचयोग्य मात्र होइन, रोकथाममुखी र किफायती पनि हुनुपर्छ भन्नेमा आफूहरुको विश्वास रहेको बताए । ‘हामी गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउँदै रोकथाममुखी स्वास्थ्य संस्कृतिको विकास गर्न प्रतिबद्ध छौँ,’ उनले थपे ।
यस अभियानअन्तर्गत २०८३ कात्तिक २७ देखि पुस १६ गतेसम्म सर्वसाधारणका लागि रगतमा चिनीको मात्रा तथा तीन महिनाको औसत चिनीको अवस्था देखाउने एचबीए१सी परीक्षण निःशुल्क उपलब्ध गराइएको मेट्रो ल्याब्सले जनाएको छ । ५,००० भन्दा बढी व्यक्तिसम्म परीक्षण सेवा पुर्याउने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानबाट समुदायले करिब १ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण सेवा प्रदान हुने ल्याबले जनाएको छ । ‘यस पहलको उद्देश्य मधुमेहको प्रारम्भिक पहिचान, सम्भावित स्वास्थ्य जोखिमबारे जनचेतना अभिवृद्धि तथा रोकथाममुखी स्वास्थ्य सेवालाई समुदायको पहुँचसम्म पुर्याउनु हो,’ मेट्रो ल्याबले भनेको छ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघको अनुमानअनुसार नेपालमा करिब १२.६ लाख वयस्क मधुमेहबाट प्रभावित छन्, जसमध्ये ७० प्रतिशतभन्दा बढीलाई आफ्नो मधुमेह अवस्थाबारे जानकारी छैन । मधुमेहको समयमै पहिचान र उचित व्यवस्थापनले यसबाट उत्पन्न हुन सक्ने गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम गर्न मद्दत गर्छ । मधुमेह प्रायः कुनै लक्षणबिना बढ्ने भएकाले समयमै परीक्षण गरी पहिचान गर्न सकेमा यसलाई नियन्त्रण गर्न वा ढिलो गर्न सकिन्छ ।
यस अभियानअन्तर्गतको निःशुल्क परीक्षण सेवा लिन इच्छुक नागरिकले ‘My Health Now’ मोबाइल एप डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गरेर मेट्रोल्याब्स नयाँ बानेश्वरमा उपस्थित भई परीक्षण गराउन सक्नेछन् । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका नागरिक सहभागी हुन सक्नेछन् र एक व्यक्तिले एक पटक निःशुल्क परीक्षण गराउन सक्ने मेट्रो ल्याबले जनाएको छ ।