बर्सेनी नेपालीहरू विश्वका विभिन्न देशहरू पुग्ने क्रम बढ्दो छ । खासगरी रोजगारीको सिलसिलामा बढी पुग्ने गरेको देखिन्छ, जसले देशको ठूलो अर्थतन्त्रमा सकारात्मक देन पनि पु¥याइरहेको छ । त्यस्तै, विभिन्न देशका नागरिकहरू पनि नेपाल भ्रमणमा आउने क्रम बढ्दो देखिन्छ । यसबाट नेपाल पर्यटकीय गन्तव्यको रूपमा परिचित गराइरहेको छ । तर, यससँगै संक्रामक रोगको जोखिम पनि बढ्दै गइरहेको छ ।
उदाहरणका लागि भारत–नेपालको खुला सिमानाबाट दैनिक हुने मानिसको आवत—जावतबाट दुवै देशमा एकै खाले संक्रामक रोग विस्तार भएको विगत अनि अहिलेको अनुभव पनि देखिन्छ । तर, अहिले भारत–नेपाल मात्र नभएर तेस्रो मुलुक जानेको संख्या पनि वर्षेनी ह्वात्तै बढेको छ । त्यहाँका नागरिकहरूको बढ्दो नेपाल भ्रमणले गर्दा त्यहाँ देखिने गरेका संक्रामक रोगहरूले नेपालमा प्रत्यक्ष जोखिम पारेको देखिन्छ ।
केही समय अगाडि अफ्रिकी महादेशमा देखिने गरेको मंकीपक्स संक्रमण नेपाली तथा विदेशीमार्फत नेपालसम्म आइपुगेको थियो । भाग्यवश यो भाइरस नेपाली समुदायमा फैलन भने पाएन । तर, अवस्था सधैँ यस्तै हुन्छ भन्ने हुँदैन । तसर्थ, २१ औं शताब्दीमा प्रवेश गर्दै गर्दा र विश्व एउटा सानो गाउँजस्तै भइसकेको अवस्थामा कुनै पनि देश वा महादेशमा देखिने गरेका संक्रामक रोग नेपालसम्म आई पुग्दैन् भन्ने अवस्था छैन । केही निम्नलिखित संक्रमणहरूको जोखिम नेपालको लागि उच्च रहेको देखिन्छ ।
मर्स–कोरोना भाइरस (मिडल–इस्ट रेस्पिरेटोरी सिन्ड्रोम)
यो भाइरस (MERS–CoV) पहिलो पटक साउदी अरबियामा सन् २०१२ मा पुष्टि भएको थियो । यसको मुख्य स्रोत ऊँट (camel) जनावरलाई मानिएको छ । यो भाइरस संक्रमितहरूमध्ये अधिकांश अथवा ८४ प्रतिशत साउदी अरबियामा पुष्टि भएको विश्व संगठन (डब्लूएचओ)ले जनाएको छ । मध्यपूर्वीय देशबाहिर भने एसियामा पछिल्लो पटक सन् २०१५ मा दक्षिण कोरियामा आउटब्रेकको रूपमा देखिएको थियो । कोरियाली नागरिक मध्यपूर्वीय देशको भ्रमणपश्चात् भाइरस सो देशमा पुगेको अध्ययनबाट पुष्टि भएको थियो ।
सो आउटब्रेकबाट १८६ जना संक्रमित भएको र ३८ (२० प्रतिशत) बिरामीको मृत्यु भएको थियो । त्यो बेला दक्षिण कोरियामा राष्ट्रिय आपत्तकालको घोषणा समेत गर्नुपरेको थियो । यो एक कोरियाली नागरिक भ्रमण गर्दा संक्रमित भई आफ्नो देश फर्कंदा भएको दृष्टान्त हो ।
तर, नेपालको लागि साउदी अरेबिया रोजगारीका लागि एक प्रमुख गन्तव्य नै हो । दैनिक साउदी अरबियालगायत मध्यपूर्वीय देशहरूमा सयौँले आवतजावत गर्ने गर्दछन् । यसबाट नै मर्स–कोरोना भाइरसको जोखिम कतिको छ भन्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा यो भाइरसको नियमित परीक्षण नहुने हुनाले आजको मितिसम्म पुष्टि भएको भने पाइँदैन् । यो श्वास–प्रश्वाससम्बन्धी संक्रमण भएकोले यसको प्रारम्भिक लक्षणहरू रुघा–खोकीजस्तो हुने हुनाले पनि यो भाइरसप्रति गम्भीर भएको पाइँदैन् अर्थात् सामान्य रूपमा लिने गरिन्छ । यो भाइरसको कारणले जटिल निमोनिया भएको भएपनि यो भाइरसको परीक्षण नहुने हुनाले यही मर्स भाइरस थियो वा छ/छैन भन्ने अवस्था छैन ।
केही समय अगाडि मंकीपक्स भाइरस साउदी अरेबियाबाट आएका नेपालीहरूमा पुष्टि भएको थियो । सामान्यतयाः संक्रमण भएको औसतमा ५ दिनमा मर्स–कोरोना भाइरसका लक्षणहरू देखिने भएतापनि २ हप्तासम्ममा पनि देखिने गर्दछ । यसको मुख्य लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, श्वास–प्रश्वासमा समस्या, जाडो हुने, जिउ दुख्ने हुने गर्दछन् । जटिलता हुँदै गएमा निमोनिया हुने अनि अरू अंगहरूमा पनि समस्याहरू देखिन थाल्दछन् ।
यसको मृत्युदर ३७ प्रतिशतसम्म हुने गरेको तथ्यांक छ । खासगरी ज्येष्ठ नागरिक, दीर्घरोगका बिरामीहरूलाई बढी जटिलता देखिन सक्ने जोखिम रहने गर्दछ । नेपाल सरकारले मध्यपूर्वीय देशहरू, विशेषतः साउदी अरेबिया देशबाट फर्केकाहरूमा १४ दिनभित्र श्वास–प्रश्वाससँग सम्बन्धित समस्या वा लक्षणहरू देखिए मर्स–कोरोना भाइरसको परीक्षण गरिदिने वातावरण बनाइदिनु पर्दछ । अनि मात्र हुनसक्ने सम्भावित प्रकोपलाई रोक्न सकिनेछ ।
हान्टा भाइरस (Hantavirus)
केही समय अगाडि एक क्रुज सिपमा भएको हान्टा भाइरसको आउटब्रेकले विश्व चर्चा पाएको थियो । सन् २०२६ को मे महिनामा यो भाइरस सो जहाजमा सवार मानिसहरूबीच फैलिएको थियो । कम्तीमा ३ जनाको मृत्यु भएको सो जहाजमा १३ जनामा भाइरस पुष्टि भएको थियो । यो एन्डिज प्रजातिको हान्टा भाइरस भएको पुष्टि भएको थियो, जुन मानिसबाट मानिसमा सीमित रूपमा भए पनि सर्न सक्दछ ।
यो भाइरस विशेषतः अमेरिकी महादेशमा बढी देखिने गर्दछ । यसको मृत्युदर ५० प्रतिशत हुने गर्दछ । यसलाई कार्डियोपल्मोनरी सिन्ड्रोम हान्टा भाइरस भन्ने गरिन्छ र यसले विशेषतः फोक्सो र मुटुमा जटिलता ल्याउने गर्दछ । तर, एसिया तथा युरोपमा देखिने हान्टा भाइरस हेमोरेजिक फिबर विथ रेनल सिन्ड्रोम हो, जसको मृत्युदर तुलनात्मक रूपमा कार्डियोपल्मोनरी सिन्ड्रोम हान्टा भाइरसभन्दा कम छ । यसको मृत्युदर बढीमा १५ प्रतिशतसम्म हुने गर्दछ ।
मानिसहरूमा विशेषतः संक्रमित मुसाको मल, मूत्र वा र्यालको सम्पर्कमा आउँदा सर्ने गर्दछ । तसर्थ, कृषक, सरसफाइमा काम गर्ने वा वन–जंगलमा काम गर्नेहरूमा यो भाइरसको जोखिम बढी हुने गर्दछ ।
सुरुमा ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, वाकवाक वा बान्ता हुने गर्दछ । तर, पछि कार्डियोपल्मोनरी सिन्ड्रोम हान्टा भाइरसमा एकदम खोकी लाग्ने, श्वास–प्रश्वासमा समस्या आउने, फोक्सोमा पानी जम्ने र अचेत समेत हुने गर्दछ । हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम हान्टा भाइरसमा भने रक्तचाप घट्ने, रक्तस्राव हुने अनि मिर्गौला फेल हुने समस्या देखिन्छ ।
हान्टा भाइरस नेपालमा पनि पुष्टि भएको एक वैज्ञानिक लेखमा प्रकाशित भएको छ तर समुदायमा यसको अवस्था के छ भन्ने बारेमा भने आधारभूत अध्ययन समेत भएको पाइँदैन् । किनभने, मुसाको मल, मूत्र वा र्यालबाट सर्ने भएको अनि टेकु अस्पतालमा मुसाले टोक्यो भनेर आउनेको उल्लेखनीय संख्या हेर्दा हान्टा भाइरसको जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन् ।
माथि उल्लेख गरेझैँ हाल नेपालीहरू विश्वका विभिन्न देशहरू जाने बढ्दो ट्रेन्डलाई आधार मान्ने हो भने अमेरिकी महादेश (विशेषतः दक्षिण अमेरिकी महादेशमा) पाइने घातक कार्डियोपल्मोनरी सिन्ड्रोम हान्टा भाइरस नेपालसम्म नआइपुग्ला भन्ने छैन । किनभने, यो प्रजातिको हान्टा भाइरस मानिसबाट मानिसमा सर्न सक्ने भाइरस हो र मे महिनामा क्रुज सिप आउटब्रेक हुँदा यो भाइरस मानिसबाट मानिसमा फैलिएको थियो ।
पछिल्लो समय नेपालीहरू दक्षिण अमेरिकी देशहरूमा जाने क्रम पनि बढ्दो देखिन्छ । यसर्थ, त्यहाँ देखिने उच्च घातक मानिने हान्टा भाइरसको नेपाल भित्रिने जोखिमलाई नकार्न सकिँदैन् ।
निपाह भाइरस (Nipah Virus)
निपाह भाइरस हाल भारतमा पछिल्लो समय वर्षेनीजसो देखिन थालेको छ । विशेषतः दक्षिणी भारतमा निपाह भाइरस देखिँदै आइरहेको तथ्यांक देखिन्छ । निपाह भाइरसको प्राकृतिक स्रोत चमेरो (फ्रुट ब्याट) लाई मानिन्छ ।
यो पहिलो पटक सन् १९९८ मा मलेसियाली सुँगुर पालक कृषकहरूमा आउटब्रेकको रूपमा देखिएको थियो । यो त्यहाँ सुँगुरबाट सरेको भनिएतापनि भारत तथा बंगलादेशमा भने चमेरोको र्याल वा पिसाब लागेको खानेकुरा/फलफूल खाँदा सर्ने गरेको देखिन्छ ।
नेपालमा चमेरो (फ्रुट ब्याट) यथेष्ट भएको भएतापनि निपाह भाइरस मानिसमा पुष्टि भने भएको देखिँदैन् । यो संक्रमित व्यक्तिको शरीरको तरल पदार्थ जस्तैः र्याल, रगत, पिसाब आदिबाट अर्को व्यक्तिमा सर्न सक्दछ ।
सन् २०११ मा भारतको सिलिगुडीमा अस्पतालबाट निपाह भाइरस स्वास्थ्यकर्मी लगायत अरू भिजिटरहरूमा फैलिएको थियो । सो आउटब्रेकमा झन्डै संक्रमितमध्ये ७४ प्रतिशतको मृत्युसमेत भएको थियो । सिलिगुडी घटना निपाह भाइरस मानिसबाट मानिसमा कसरी सजिलै सर्न सक्दछ भन्ने उदाहरणको रूपमा मान्न सकिन्छ ।
तसर्थ, नेपालमा यो भाइरसलाई पनि नियमित परीक्षणमा राख्नु पर्दछ भने सम्भावित आउटब्रेकको तयारी हुनुपर्दछ । संक्रमण भएको ३ देखि १४ दिनमा यसको लक्षणहरू देखिन सक्दछ । सुरुमा अरू संक्रामक रोगहरूजस्तै ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता हुने भएतापनि विस्तारै भ्रमित हुने र मस्तिष्क सुजन (इन्सेफलाइटिस) हुने गर्दछ ।
मस्तिष्क सुजन र कम्पन सुरु भएको २४ देखि ४८ घण्टामा बिरामी अचेत अवस्थामा पुग्ने गर्दछ । यसको मृत्युदर ७५ प्रतिशतसम्म हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । नेपालमा खासगरी भारतसँग जोडिएका र निपाह भाइरस देखिँदै आइरहेका क्षेत्रबाट आउनेहरूमार्फत यो संक्रमण नेपाल भित्रिने जोखिमलाई बेवास्ता गर्न मिल्दैन् ।
इबोला (Ebola)
केही महिना अगाडि मात्र इबोला भाइरसको ठूलो महामारी अफ्रिकी महादेशको विशेषतः कंगो देशमा देखिएको थियो । र, अहिले पनि पूर्ण रूपमा रोकिसकेको छैन । यद्यपि यो संक्रमण युगान्डा र फ्रान्ससम्म समेत पुगेको छ ।
अगस्ट १९, २०२६ सम्मको तथ्यांकअनुसार कंगोमा ५ हजार २९० जनामा संक्रमण पुष्टि भएको र २ हजार ५१६ जनाको (झन्डै ४८ प्रतिशत) मृत्यु भएको थियो । इबोला भाइरसलाई उच्च घातक संक्रमणको रूपमा लिने गरिन्छ ।
इबोला भाइरस, सुडान भाइरस र बन्जीबुन्ज्यो प्रजातिको इबोला भाइरसले विगतमा ठूला–ठूला प्रकोपहरू ल्याएका थिए । यसको प्राकृतिक स्रोत चमेरोलाई मानिन्छ भने मानिस चमेरो, बाँदर, चिम्पान्जी आदिका तरल पदार्थको सम्पर्कमा आउँदा यो भाइरस सर्ने गर्दछ ।
सबैभन्दा महत्वपूर्ण भनेको जब मानिस जनावरको सम्पर्कमा आएर संक्रमित हुन्छ अनि सो संक्रमित व्यक्ति समाजमा यो भाइरस फैलाउने माध्यम बन्न जान्छ । संक्रमित व्यक्तिको शरीरको तरल पदार्थ वा रगतको सम्पर्क वा संक्रमित व्यक्तिको बान्ता, दिसा, रगत कुनै पदार्थको सतहमा रहेको र अर्को व्यक्तिले छोएमा (विशेषतः छालामा घाउ/कोतरिएको) सो व्यक्ति संक्रमित हुन सक्दछ । तर, संक्रमितमा लक्षण नदेखेसम्म भने सर्न सक्ने सम्भावना रहँदैन् ।
स्वास्थ्यकर्मीले पीपीई (सुरक्षा कवच) नलगाई बिरामीको उपचार वा परीक्षण गर्दा सबैभन्दा बढी जोखिममा पर्ने गर्दछन् । संक्रमण भएको २१ दिनसम्ममा इबोलाका लक्षण देखिने गर्दछन् ।
सुरुमा देखिने लक्षणहरू अरू संक्रमणहरूमा देखिने जस्तैः ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, आलस्य हुने, बान्ता हुने, घाँटी दुख्नेजस्ता देखिने गर्दछन् भने त्यसलगत्तै पखाला लाग्ने, पेट दुख्ने, बिबिरा देखिने र मिर्गौला तथा कलेजोमा असर देखिन थाल्दछ । रक्तस्रावजस्तै बान्ता तथा दिसामा रगत देखिने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता समस्याहरू देखिन गर्दछन् ।
हाल कंगोमा फैलिएको बन्जीबुन्ज्यो प्रजातिको इबोला भाइरस विगतमा विरलै प्रकोपको रूपमा देखिएकोले खोप विकासको प्राथमिकतामा परेको थिएन । तर, हाल इतिहासकै ठूलो प्रकोपमध्येको इबोलाको रूपमा देखा परेपछि भने खोप विकासका लागि तीव्र काम भइरहेको देखिन्छ ।
केही दिन अगाडि मात्र इबोलाको खोप कंगोमा पुगेको खबर आइपुगेको छ र यसबाट तत्कालको लागि बन्जीबुन्ज्यो प्रजातिको इबोला भाइरसबाट छुटकारा पाउनेमा आशावादी देखिन्छ । यद्यपि यसको प्रभावको नतिजा इबोला प्रभावित क्षेत्रमा प्रयोगपश्चात् नै देखिनेछ ।
किनभने बन्जीबुन्ज्यो प्रजातिको इबोला भाइरसका लागि भ्याक्सिन विकास भइसकेको छैन तर पहिले अर्को प्रजातिको इबोलाका लागि तयार पारिएको खोप अहिले प्रयोगमा ल्याइदैंछ र केही हदसम्म सुरक्षा दिन सक्ने आशा भने गरिएको छ ।
अफ्रिकी मुलुकबाट पर्यटकको रूपमा नेपाल आउनेको संख्या उल्लेखनीय नभएतापनि नेपालबाट विभिन्न कारणले अफ्रिका जानेको संख्या भने वर्षेनी बढ्दो रहेको तथ्यांकले देखाउँदछ । टेकु अस्पतालमा अफ्रिका जाँदा अनिवार्य लगाउनुपर्ने खोप ‘एल्लो फिभरको खोप’ दैनिक आधा दर्जनको हाराहारीमा लगाउन आउने गरेको संख्याबाट नै नेपालबाट अफ्रिका जानेको संख्या कसरी बढिरहेको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
त्यहाँ देखिँदै आइरहेको जस्तै इबोला भाइरस सामान्यतयाः अफ्रिकी महादेशमा सीमित जस्तो देखिने गरेतापनि संक्रमित मानिसबाट नेपालसम्म आउन सक्ने सम्भावना ढिलो–चाँडो प्रबल नै देखिन्छ । सन् २०१४–२०१६ मा हालसम्मकै सबैभन्दा ठूलो आउटब्रेक हुँदा नेपालले पनि केही तयारी गर्दै थियो । तर, त्यहाँ इबोलाको प्रभाव घट्दै जाँदा नेपालले भइरहेको तयारी पनि स्थगित गरेको थियो । त्यसपछि नेपालको इबोला तयारी हालसम्म पनि शून्यप्रायः नै देखिन्छ ।
अन्तमा, यातायातको सहज पहुँचले गर्दा विश्व एक सानो गाउँजस्तो भइसकेको छ । एक देश÷महादेशको मानिस सहजै अर्को देश÷महादेश केही घण्टाको अन्तरालमा पुग्न सक्ने भइसकेको छ ।
हाल विश्वका विभिन्न देशमा रोजगारी, शिक्षा, भ्रमण वा अरू नै कारणले गर्दा नेपालीहरू पुग्ने अनि विभिन्न देशहरूबाट पनि नेपाल भ्रमणका लागि आउने पर्यटकहरू पनि गणितीय हिसाबले ह्वात्तै बढेको देखिन्छ । यसले आर्थिकदेखि राजनीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको त छ । तर, यस सँगसँगै आवत—जावत गर्ने मानिसबाट नयाँ–नयाँ संक्रमणहरू नेपाल भित्रिने सम्भावना पनि उत्तिकै देखिन्छ ।
तसर्थ, यस्तो जोखिमलाई सम्बोधन गर्न नियमित परीक्षणको दायरा बढाउनुको साथै नागरिकका लागि सम्बन्धित देशमा देखिने गरेका संक्रामक रोगका बारेमा पूर्वजानकारी प्रवाह गर्ने/गराउनुपर्ने पनि उत्तिकै आवश्यकता देखिन्छ ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)