काठमाडौं—नेपालसहित विभिन्न देशमा चार दशकभन्दा लामो समयदेखि चिकित्सा सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यमा योगदान पुर्याउँदै आएका जापानका नेत्र रोग विशेषज्ञ प्रा.डा. नाइतो ताकेशी जापान सरकारको सन् २०२६ को विदेशमन्त्री प्रशंसापत्रबाट सम्मानित भएका छन् ।
जापान र अन्य मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई जापानका विदेशमन्त्रीले प्रदान गर्ने यो सम्मानले डा. नाइतोको लामो समयदेखिको सेवाभाव र समर्पणलाई उच्च कदर गरेको छ ।
चिकित्सा पेसामा आबद्ध रहँदै आफ्नो शैक्षिक तथा व्यावसायिक जिम्मेवारीसँगै उनले नेपाल र मोजाम्बिकलगायतका देशमा चार दशकभन्दा बढी समयदेखि स्वास्थ्य सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
नेपालमा डा. नाइतोले प्रत्यक्ष रूपमा बिरामीको उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आँखा स्वास्थ्य सेवाको संस्थागत विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको योगदानमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेत्र रोग विभाग स्थापना गर्ने कार्यमा सहभागिता तथा नेपालको दक्षिणी दुर्गम क्षेत्रमा आँखा अस्पताल निर्माणसम्बन्धी परियोजनाहरूमा संलग्नता विशेष रूपमा उल्लेखनीय छन् ।
सहरदेखि दुर्गम क्षेत्रसम्मका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले डा. नाइतोले गरेको निरन्तर प्रयासले नेपाल–जापानबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुर्याएको छ।
यसअघि सन् २०१६ मा पनि नेपालस्थित जापानी राजदूतावासबाट उनले नियोग प्रमुखको प्रशंसापत्र प्राप्त गरेका थिए । नेपालमा चिकित्सा सेवा विस्तार, आँखा स्वास्थ्य सेवाको विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिन उनले पुर्याएको समर्पित योगदानको कदरस्वरूप यसपटक जापानका विदेशमन्त्रीको प्रशंसापत्रका लागि उनी छनोट भएका हुन् ।
डा. नाइतो ताकेशीको यो सम्मानले नेपाल र जापानबीचको दशकौँ लामो मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप उजागर गरेको छ। साथै, मानवीय सेवाभाव, व्यावसायिक निष्ठा र अन्तर्राष्ट्रिय सहयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने प्रेरणादायी उदाहरणसमेत प्रस्तुत गरेको छ।