२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठएक्सक्लुसिभग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपेन्द्र महतोको इन्ट्रीले ल्याएको तरंग

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपेन्द्र महतोको इन्ट्रीले ल्याएको तरंग

रुपज्योति र डा. चक्रराजकाे पोजिसन के होला ?


काठमाडौं—धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवन । देशकै नम्वर वान कर्पोरेट अस्पताल । झण्डै १ हजार कर्मचारी । देशकै गनेचुनेका चिकित्सकहरुको सशक्त टिम । आकर्षण सेवासुविधासहितको भौतिक पूर्वाधार र उपकरण भएको सुविधासम्पन्न अस्पताल ।

यति हुँदाहुँदै पनि नेपाली हेल्थ सेक्टरमा बेञ्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यवस्थापनमा यतिखेर उकुसमुकुस छ । मुख्य दुई लगानीकर्ता लामो समयदेखि बाहिरै रहेर सञ्चालन भइरहेको यस अस्पतालको सम्भावित व्यवस्थापन टिममा हुने फेरबदलको नतिजा के हुने हो भन्ने कुराले नेपालको ‘कर्पोरेट हेल्थ सेक्टर’लाई धेरथोर प्रभावित गर्ने निश्चित छ ।

अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा. चक्रराज पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालतसम्म पुगेको थियो । डा. पाण्डे र ज्योति समूहको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो ग्राण्डीमा छिरेका थिए । ५१ प्रतिशत सेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतोले कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेतापनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।

डा. महतो ग्राण्डीमा छिर्दै गर्दा व्यवस्थापनको विवाद समाधान हुने अपेक्षा गरिएकोमा उल्टो उल्झन थपिदैं गयो । डा. महतोसँगको किचलो लिएर दर्ता भएको मुद्धामा जिल्ला अदालत काठमाडौंले केही समयअघि फैसला गरेपछि उनी सेयर साझेदार बन्ने पक्का भएको छ । २५ प्रतिशत सेयरको लगानीकर्ताको रुपमा डा. महतोको लगानीले वैधानिकता पाएपछि व्यवस्थापन परिवर्तन लगभग पक्कापक्की भएको स्रोतको दावी छ ।

अहिले ग्राण्डी इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा दिपक कुँवर छन् । ७ सदस्सीय सञ्चालक समितिमा विजय राजभण्डारी, डा. चक्रराज पाण्डे, वीरेन्द्रबहादुर श्रेष्ठ, साधुराम पाण्डे, सुवर्णकृष्ण मल्ल र डा. सविना श्रेष्ठ विजुक्छे छन् । अस्पतालको कुल सेयरको लगानीका आधारमा झण्डै २५ प्रतिशत ज्योति समूह, २५ प्रतिशत डा. महतो र अहिलेको सञ्चालक समिति र अन्य ११७ जना सेयर होल्डरको ५० प्रतिशत सेयर हुन जान्छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् ।

अस्पतालको सञ्चालक समितिमा समेत रहेका मेडिकल डाइरेक्टर डा. पाण्डे व्यवस्थापन परिवर्तन हुनु कुनै पनि संस्थाको जीवनमा सामान्य भएको बताउँछन् । ‘ठूला लगानीकर्ताहरु सञ्चालक समितिमा आएर आफ्नो प्रभाव खोज्नु स्वभाविक हो,’ डा. पाण्डे भन्छन्, ‘व्यवस्थापनमा आएर इथिकल रुपमा संस्था सञ्चालन गर्ने हो भने ग्राण्डीको भविष्य उज्जवल छ ।’

व्यवस्थापन परिवर्तन हुने सम्भावनालाई इगिंत गर्दै अर्का प्रमुख लगानीकर्ता ज्योति समूहका डा. रुपज्योति अस्पतालको सञ्चालक समिति परिवर्तन हुनैपर्ने अवस्थामा पुगेको बताउँछन् । संस्थापक अध्यक्ष समेत डा. रुपज्योति सञ्चालक समिति परिवर्तन हुँदा ज्योति समूहको सहभागिता प्रभावकारी रुपमा हुने बताउँछन् । ‘ठूलो लगानीकर्ता ज्योति समूह हो । नयाँ सेयर पनि कायम हुने अवस्थामा छ । अब सञ्चालक समिति परिवर्तन हुन्छ र ज्योति समूह प्रभावकारी भूमिकामा व्यवस्थापनमा सहभागी हुन्छ,’ उनी भन्छन् ।

व्यवस्थापनको सम्भावित परिवर्तनका बाँछिटा

व्यवस्थापन परिवर्तन भएमा हुन सक्ने सम्भावित असरहरु छिटफुट रुपमा देखिन थालिसकेका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई व्यवसायभन्दा पनि आफ्नो ‘फेलोसोपी’को रुपमा लिएका डा. पाण्डेले सम्भावित परिवर्तनलाई आँकलन गरेरै हुनुपर्छ एक महिनाअघिमात्रै लाजिम्पाटमा छुट्टै अनामिवा क्लिनिक सुरु गरिसकेका छन् । तर, हेल्थआवाजसँगको कुराकानीमा डा. पाण्डेले क्लिनिक र ग्राण्डीको व्यवस्थापन परिवर्तन फरक कुरा रहेको दावी गरे ।

‘ग्राण्डीमा धेरै लगानीकर्ताहरु हुनुहुन्छ, धेरैको सोचअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘स्पोर्टस क्लिनिक मेरो आफ्नो इन्टेष्टको विद्या हो । त्यहाँ यो कुरा अप्लाई गर्न सकिदैन् ।’ डा. पाण्डे ग्राण्डीको हरेक इट्टामा आफ्नो पसिना रहेको बताउँदैं अहिले आफूले ग्राण्डी छाड्ने कुरा हल्ला मात्रै भएको बताउँछन् । उनले नयाँ व्यवस्थापन आएर सञ्चालन गरेतापनि आफू पछाडि बसेर अस्पतालको समृद्धिमा सदैव टेवा पु¥याइरहने बताए ।

तर, डा. पाण्डे निकट स्रोतकाअनुसार ठूला लगानीकर्ताहरुले व्यवस्थापन प्रभाव पार्ने गरी इन्ट्रीको तयारी गरेपछि सेफ ल्याण्डिङका लागि सहज होस् भनेर नै क्लिनिक सुरुवात गरेका हुन् । ‘उहाँ जतिको चिकित्सकले बदलिएको व्यवस्थापन आफू अनुकूल नभएमा छोडेर अर्को अस्पतालमा जाने कुरा भएन्,’ डा. पाण्डे निकट स्रोत भन्छ, ‘उहाँको नामै सुनेर बिरामीहरु ओइरिइहाल्छन् । त्यही भएर क्लिनिक सुरु गरेको हुनुपर्छ ।’

अस्पतालको परिकल्पना, स्रोत जुटाउनेदेखि अस्पताल स्थापना र सेटिङसम्म डा. पाण्डेको भूमिका प्रमुख रहेको एक सञ्चालक बताउँछन् । त्यो कुरा कसरी पनि पुष्टि हुन्छ भने डा. पाण्डेसँग अस्पतालको व्यवस्थापनको कसरी गर्ने भन्नेमा कुरा नमिलेपछि बाहिरिएका पूर्व अध्यक्ष रुपज्योतिले पनि आफ्नो अन्तर्वार्ता त्यो कुरा उल्लेख गरेका छन् । अनलाइनखबरमा प्रकाशित एक अन्तर्वार्तामा उनले आफूले थाइल्याण्डको समितिभेज अस्पतालको व्यवस्थापनलाई गुहारेर ग्राण्डीको व्यवस्थापनको जिम्मेवारी दिन खोजेको तर व्यवस्थापनका अन्यबाट सहयोग नभएपपछि बाहिरिएको उल्लेख गरेका छन् ।

ग्राण्डी अस्पताल स्रोतकाअनुसार व्यवस्थापनमा परिवर्तन आएर यदि डा. पाण्डे मेडिकल डाइरेक्टरबाट बाहिरिए भने त्यसको केही असर ग्राण्डी अस्पतालको सञ्चालनमा पनि देखिनेछ । ‘जे भएपनि अहिलेसम्म ग्राण्डीमा डा. पाण्डेको व्यवस्थापन मुख्य छ । मुख्य मान्छे नै बाहिरिएपछि केही समय सञ्चालनमा र व्यवस्थापनमा त समस्या आउने नै भयो,’ अस्पताल स्रोतले भन्यो । तर, रुपज्योतिसँग डा. पाण्डेको सम्बन्ध चिसो भएपनि अर्का २५ प्रतिशत सेयर भएका डा. महतोसँग भने उनको सम्बन्ध सुमधुर छ । त्यसकारण रुपज्योति पुनः सञ्चालक समितिमा इन्ट्री हुँदा डा. पाण्डे तत्काल ग्राण्डीबाट नबाहिरिने सम्भावना पनि उतिकै छ ।

कसरी सुरु भयो ग्राण्डी इन्टरनेशल हस्पिटल ?

टर्कीबाट विशेषज्ञता हासिल गरेर फर्केपछि डा. पाण्डेले केही समय बीएण्डबी र मेडिकेयर अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा काम गरे । देशमा केही नयाँ गर्न फर्केको बताउने उनी केही समय जागिर गरेपछि ग्राण्डीको परिकल्पना जुटे । उपचारकै शिलशिलामा ज्योति समूहका डा. रुपज्योतिसँग उनको भेट भयो । त्यही बेला डा. पाण्डेले रुपज्योतिसँग अस्पताल खोल्न लागेको र लगानी गर्न प्रस्ताव गरे ।

त्यही प्रस्तावपछि डा. रुपज्योति अस्पतालमा लगानी गर्न तयार भए । विभिन्न व्यवसायीलाई आफूले कल्पना गरेको अस्पतालसँग जोड्ने काम डा. पाण्डेले गरे । उनले प्रमुख लगानीकर्ताका रुपमा ज्योति समूह र अन्य १ सय २४ जना लगानीकर्ता भेला पारेर ३ अर्ब प्रोजेक्टका रुपमा सन् २०१० मा ‘केयर टु क्योर’ भन्ने स्लोगन राखेर २ सय बेडको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल निर्माण प्रारम्भ गरे । यसको सफ्ट ओपनिङ भने सन् २०१३ को जनवरीमा भएको हो ।

निर्माणका क्रममा प्रोजेक्टको रकम बढ्न गयो । अस्पताल सञ्चालनमा आएको दोस्रो वर्षमा नै अध्यक्ष डा. रुपज्योतिले अस्पताल घाटामा गएको भन्दै किचलो सुरु गरे । तर, उनको दावी भने फरक छ । यस सम्बन्धमा डा. रुपज्योति भने अस्पतालको व्यवस्थापनको अनुभव आफूमा नभएको, व्यवस्थापनमा आफू एक्लै परेको, अन्य व्यवस्थापनमा रहेकाले सहयोग नगरेकोजस्ता कारण आफू बाहिरिनु परेको बताउँदैं आएका छन् ।

विवादै—विवाद

अस्पताल निर्माणका क्रममा व्यवस्थापकीय कमजोरी भएर करिब ७० करोड बढी खर्च भएको गुनासो गर्दै सञ्चालक समितिमा रहेका डा. रुपज्योतिले थाइल्याण्डको बैककस्थित समितिभेज अस्पताललाई ग्राण्डीको व्यवस्थापनका लागि गुहारे । त्यहाँबाट ग्राण्डीको व्यवस्थापन हेर्ने गरी डा. जिरासद सिइओ बनेर आए ।

तर, उनी एक हप्ता पनि टिक्न सकेनन् । व्यवस्थापन र उनको कुरा नमिलेपछि उनी फर्किए । उनी फर्किनुमा ज्योति समूहले डा. पाण्डे प्रमुख जिम्मेवार रहेको निक्र्यौल ग¥यो । डा. जिरासद फर्किएपछि पुनः रुपज्योतिलाई अध्यक्ष बनाइयो । तर, मेडिकल निर्देशक रहेका डा. पाण्डे र अध्यक्ष डा. रुपज्योतिको काम गर्ने तरिका अलग—अलग भयो । जसले उनीहरु दुवैबीच विवाद चुलियो । यही विवादको परिणाम डा. रुपज्योति अध्यक्षबाट राजीनामा दिएर ग्राण्डीको सञ्चालक समितिबाट बाहिरिए । उनले त्यसबेला आफ्नो लगानी फिर्ता मागे तर भर्खरै सुरु भएको ग्राण्डीले उक्त लगानी फिर्ता गर्नका लागि थप लगानीकर्ता भित्र्याउने रणनीति अख्तियार ग¥यो ।

ज्योति समूह बाहिरिएपछि नयाँ लगानीकर्ताका रुपमा सन् २०१५ मा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ग्राण्डीको समग्र सेयरको आधा हिस्सा लिएर भित्रिने टुंगो लाग्यो । डा. महतोले १ अर्ब ८ करोड लगानी गरेर ५१ प्रतिशत सेयर लिने सहमति भएको थियो । तर, डा. महतोले ५१ करोड मात्र रकम जम्मा गर्न सकेपछि उनलाई सेयर धनीका रुपमा भित्र्याएर डा. रुपज्योतिलाई बिदाइ गर्ने योजना असफल भयो ।

डा. महतोले भनेजति पैसा लगानी गर्न नसकेपछि सञ्चालक समितिले उनलाई सेयर पनि दिने कि नदिने निक्र्यौल गर्न सकेन् । पैसा फिर्ता गर्दा ब्याजसहित गर्नुपर्ने अडान डा. महतो रह्यो । र, ग्राण्डीको व्यवस्थापनले कबुलेको पैसा ल्याएमात्र सेयर दिने अडानमा बस्यो । आफ्नो लगानी ब्याजसहित फिर्ता पनि नगर्ने र सेयर पनि नदिने भएपछि डा. महतो अदालत गए ।

अदालतमा मुद्धा दायर गरेर डा. महतो आफ्नो पुरानो प्रोजेक्ट (प्रस्तावित अश्विनी मेडिकल कलेज) हाल नेपाल मेडिसिटी अस्पताल निर्माणमा लागि परे । अहिले मेगा प्रोजेक्ट मानिएको मेडिसिटी पनि सञ्चालनमा आइसकेको छ । मेडिसिटी सञ्चालनमा आएको एक वर्षपछि उनको ग्राण्डीको सेयरबारेको मुद्धाको फैसला समेत भएको छ ।

अर्को लफडा पनि ग्राण्डीको कायमै छ । त्यो लफडा हो—सञ्चालक समितिबाट बाहिरिएपछि ज्योति समूहले सेयर बापत लगानी गरेको भन्दा थप बैंकबाट जमानी बसेर ऋण लिएको १ अर्ब ५० करोडको ब्याज ग्राण्डीले तिर्नुपर्ने भन्दै अदालत गुहारेको थियो । ‘त्यो मुद्धामा ग्राण्डीले ब्याज तिर्नुपर्ने फैसला भइसकेको छ,’ डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘तर, अहिलेसम्म तिरेको छैन् ।’ यो लफडा अझै किनारा लाग्न सकेको छैन । डा. महतोसँगै डा. रुपज्योति सञ्चालक समितिमा पुनः इन्ट्री हुँदा यो कुरालाई कसरी हल गरिन्छ भन्ने कुराले पनि नेपाली निजी स्वास्थ्य क्षेत्रको बेञ्चमार्क मानिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भविष्यका लागि महत्वको विषय हुनेछ ।


क्याटेगोरी : एक्सक्लुसिभ, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ