२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिड-१९ जितेका शिक्षक दम्पत्तीको अनुभवः असावधानीले संक्रमण, सावधानी अपनाउँदा सुरक्षित

कोभिड-१९ जितेका शिक्षक दम्पत्तीको अनुभवः असावधानीले संक्रमण, सावधानी अपनाउँदा सुरक्षित


पोखरा–पोखराको नदीपुरस्थित ज्ञानभूमि माविका शिक्षक पुरुषोत्तम सापकोटा बेला–बेला बैठक सेमिनारमा सहभागी भइरहन्थे । ११ वैशाखमा शिक्षक संघको महानगर कमिटीको भेलामा पनि उनी सहभागी भए ।

बैठकमा सहभागी सापकोटा पर्सिपल्टदेखि स्वास्थ्यमा गडबड भएको महसुस गर्न थाले । उनको स्वास्थ्य प्रतिकूल कोभिड–१९ संक्रमणका कारण भएको रहेछ तर उनलाई शंकासमेत भएन ।

पुरुषोत्तमकी श्रीमती मीनकुमारी पनि कन्या मावि नदीपुर पोखराकी शिक्षिका हुन् । कोभिड–१९ को संक्रमणको शंकासमेत नभएका सापकोटा श्रीमतीसँग टाढा रहने कुरै भएन । उनकै कारण श्रीमती पनि संक्रमित भइन् ।

भेलाको अध्यक्षता महानगर कमिटी अध्यक्ष शुक्रराज माविका शिक्षक भोला पौडेलले गरेका थिए । उनी कोभिड–१९ संक्रमित रहेछन्, कसैलाई पत्तै भएन् । अघिल्लो दिन बैठकमा सहभागी पौडेल भोलिपल्टैदेखि ओछ्यान परे । शिक्षक भोला भन्छन्, ‘सुरुमा सतर्क रहन नसक्दा परिवारका सबै सदस्यमा फैलियो, लापरबाहीजस्तै भयो ।’

सामान्य अवस्थामै सचेत रहनुपर्ने उनको अनुभव छ । उनलाई भने मदरल्यान्डमा पढ्ने छोराको माध्यमबाट संक्रमण भएको अनुमान छ ।
१३ बैशाखदेखि नै स्वास्थ्यमा समस्या महसुस गरेका सापकोटा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) पुगे । युरिक एसिड, सुगर, प्रेसर जाँच गरे, भिडियो एक्सरेसमेत गरे । युरिक एसिड बढेको रिपोर्ट आयो । उनले औषधी पनि खाए । १५ वैशाखसम्म पनि स्वास्थ्यमा सुधारको छाँटकाँट आएन, थप शरीर दुख्ने, झझमाउने, ओल्यास्स हुने, हल्का पसिना आउने लक्षण देखापरे तर ज्वरो आएन ।

उता, अध्यक्ष पौडेललाई कोभिड–१९ संक्रमण पुष्टि भएकोे खबर आयो । त्यसपछि बल्ल उनीहरु झसङ्ग भए, कोरोना पो हो कि भन्ने शंका गरे । पुरुषोत्तमकी श्रीमतीलाई त पखाला लाग्नेबाहेक कुनै लक्षण थिएन, शरीर कमजोर भएको महसुस भने भएकै थियो ।

१७ वैशाखमा त पुरुषोत्तम गन्ध र स्वाद थाहै नपाउने अवस्थामा पुगे । त्यसपछि बल्ल सापकोटा दम्पत्ती कोभिड–१९ संक्रमण भएको र होम आइसोलेसनमा बस्नुपर्ने निष्कर्षमा पुगे । ‘होम आइसोलेसनमा त बस्ने । तर, २ छोराहरुलाई कहाँ कसरी राख्ने ? खानाको व्यवस्था कसरी गर्ने ? एकातिर कोभिड संक्रमणले गाल्दै लगेको चिन्ता, अर्काेतिर छोराहरुलाई सुरक्षित राख्ने चिन्ता । दोहोरो चिन्ताले बेचैन बनायो,’ पुरुषोत्तमले भने । विकल्प नभएपछि चिन्ताबीच मन दह्रो बनाए, सावधानी अपनाए ।

उनले भने, ‘छोराहरु खाना पकाउन सक्ने क्षमताका पनि भएनन्, अन्यत्र पठाऊँ भने कोभिड–१९ संक्रमित बाबुआमाका छोरा कसले राखिदिने ?’

कोभिड–१९ रिपोर्ट पोजेटिभ आएको खबर बाबुआमालाई आउने फोनबाटै थाहा पाए छोराहरुले । अब बर्बाद भयो, कोरोनाबाट दुखद् घटना भएको समाचार सुनेका छोराहरु रुने कराउने गर्न थाले । उनीहरुले छोरालाई सम्झाइ बुझाइ गरे ।

सापकोटा दम्पत्तीले छोराहरुसँग भौतिक दूरी कायम गरे । उनीहरुले डबल मास्क लगाउने, तातोपानी र साबुनपानीले राम्ररी भाँडाकुँडा सफा गर्ने र सरसफाइमा ध्यान दिँदै उनीहरु सुत्नका लागि फरक कोठाको व्यवस्था गरे । खाना भने आफैंले पकाएर खुवाए । ‘मनमा छोराहरुलाई पनि कोभिड–१९ सर्ला कि भन्ने त्रासबीच खाना हामीले नै बनायौं । अलग्गै सुत्न र टाढा बस्न लगाइयौं । विकल्प नभएपछि त्रासबीचमै खाना खुवायौं । तर समस्या भने देखिएन,’ सापकोटाले भने ।

शिक्षक पौडेललाई कोभिड–१९ भएको सुनेदेखि नै सापकोटा दम्पत्तीले दिनमै ३ पटक बाफ लिने, कुल्ला गर्ने, योग गर्ने तातो पानी प्रशस्त खाने गर्न थाले । त्यसपछि मेडिकल कन्सल्टेन्ट डाक्टरसँग सल्लाह लिन पुगेका सापकोटा दम्पत्तीलाई भिटामिन तथा जिन्कको सहारा मिल्यो ।
‘पछिल्लो पटक कोभिडमुक्त भएको महसुस गरी ३१ वैशाखमा पुनः पिसिआर जाँच गराएँ । रिपोर्ट बल्ल ६ जेठमा आयो,’ सापकोटाले भने, ‘धेरै मानिसको मृत्युको कारण त भित्रभित्रै खत्तम पारेर सिकिस्त भएपछि अस्पताल पुग्नु हो जस्तो लाग्यो ।’

कुनै पनि सामान्य स्वास्थ्य समस्या देखिए पिसिआर जाँच गर्ने र प्राथमिक उपचार तुरुन्तै सुरु गर्नुपर्ने सुझाव उनको छ । सामान्य जीवनभन्दा असजिलो महसुस भए तातोपानी खाने, बाफ लिने, कुल्ला गर्ने, स्वास्थ्य सावधानी अपनाउनु बुद्धिमतापूर्ण हुने उनले सुनाए । उनका छोराहरुलाई भने कोभिड–१९ संक्रमण भएन ।

‘१५-१६ दिन भइसक्यो, तिनीहरुमा समस्या छैन । अब पिसिआर जाँच गर्न पनि पर्दैन होला । स्वास्थ्य मापदण्ड अपनाएर सावधान हुने हो भने सुरक्षित हुन सकिँदो रहेछ,’ सापकोटाले भने । आफूमा कोभिड–१९ संक्रमण भइहाले पनि स्वास्थ्य मापदण्ड पूरा गर्ने हो भने परिवारका सदस्यलाई सुरक्षित गर्न सकिने उनको बुझाइ छ ।

‘पछिल्लो समयमा धेरै तन्नेरीको ज्यान जानुको कारण पहिले बेवास्ता गर्ने र अन्तिम अवस्थामा अस्पताल जानु हो जस्तो लाग्यो,’ उनले भने । सुरुमा सतर्कता अपनाउनुपर्ने, स्वास्थ्य प्रतिकूल हुनासाथ पिसिआर जाँच गरिहाल्ने हो भने कोभिड जित्न सहज हुने उनको भनाइ थियो । सरकारीमा पिसिआर रिपोर्ट आउनै ढिला हुने, त्योभन्दा पहिले बिरामी अस्पताल पुग्नै ढिला हुने गरेकाले धेरैको स्वास्थ्य अवस्था जटिल भएको हुनसक्ने उनको तर्क छ ।

सामान्य स्वास्थ्य जटिलता देखिएपनि यो महामारीमा खेलवाड नगर्न उनको सल्लाह छ । २० दिन कोरोनासँग उनीहरुको घम्साघम्सी भयो । अन्तत सापकोटा दम्पत्तीले कोभिड–१९ लाई परास्त गर्न सफल भए । अर्काेतर्फ पहिले नै कोभिड–१९ संक्रमित भएका भोला पौडेललाई भने श्वासप्रश्वासमा समस्या भयो । उनको परिवारका सबै सदस्य संक्रमित भए । पौडेललाई ज्यान दुख्ने, १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने समस्या भयो । अक्सिजन लेभल घट्यो ।

उनी गण्डकी मेडिकल कलेजमा भर्ना नै भए, सामान्य रुपमा अक्सिजन नै लिनुपर्ने अवस्था भयो । उनले भने, ‘कान्छो छोरा मदरल्यान्डमा पढ्थे । ज्वरो, खोकी लागेको थियो । परीक्षा दिन नजाऊ भन्दा पनि मानेनन् । उनलाई स्कुलमा नै संक्रमण भइसकेको रहेछ ।’ पोखराका विद्यालयमध्ये पहिलो चरणमा मदरल्यान्डका विद्यार्थीमा कोरोना संक्रमण भेटिएको थियो ।

भोलाकी श्रीमती र जेठो छोरासमेत संक्रमित भए । माइला छोरो टिचिङमा जाँच दिन जाँदै नै संक्रमित भएका थिए । भोलाकी श्रीमतीलाई २ दिन त धेरै नै ज्वरो आयो, अनि क्रमmस् घट्दै गयो । ठूलो छोरालाई भने जटिल समस्या देखिएन । पछिल्लो समयमा दुबै परिवारका सबै सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ