२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनवलपुरमा बालविवाह र गर्भपतन उच्च, स्वास्थ्य संस्थामा बच्चा जन्माउनेकै हाराहारीमा गर्भपतन

नवलपुरमा बालविवाह र गर्भपतन उच्च, स्वास्थ्य संस्थामा बच्चा जन्माउनेकै हाराहारीमा गर्भपतन


पोखरा—नवलपुरमा बालविवाह र गर्भपतन गराउनेको संख्या उच्च रहेको छ । स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईले जिल्लामा गर्भपतन बढ्दैं गएको बताए । उनकाअनुसार २५ प्रतिशत बालविवाह हुने गरेको बताएका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा २० वर्षमुनिका गर्भवती ८ सय ९७ रहेका थिए भने २० वर्षमाथिका गर्भवती ५ हजार ८० थिए । स्वास्थ्य कार्यालयका अनुसार १ हजार ५ सय ९८ जनाले स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका थिए । अन्यले भरतपुर तथा अन्य जिल्लाका स्वास्थ्य संस्थामा पुगेर सेवा लिएको उनको अनुमान छ । यस्तै, २० वर्ष मुनिका १०६ जना र २० वर्षमाथिका १ हजार ४ सय ६४ जनाले गर्भपतन गराएका थिए । गर्भपतन सेवा लिने कुल १ हजार ५ सय ८४ जना छन् भने स्वास्थ्य संस्थामा बच्चा जन्माउने १ हजार ५ सय ९८ जना छन् ।

नवलपुर स्वास्थ्य कार्यालय प्रमुख चापागाईं भन्छन्, ‘गर्भपतन र प्रसूतिक लागि चितवन जानेको डाटा हामीसँग छैन, अहिले हामीसँग रहेको तथ्यांकले १५/१६ प्रतिशत २० वर्षमुनिका छन् ।’ पहिलेदेखि नै भरतपुर जाने ट्रेन्ड रहेकाले भरतपुर जानेको संख्या करिब १० प्रतिशत गरी २५ प्रतिशत बालविवाह हुने अनुमान गरिएको उनले बताए । उनी भन्छन्, ‘१७/१८ वर्षमै विवाह गरेर २१/२२ वर्षमा बच्चा जन्माउने पनि हुन्छन् ।’

आव २०७६/७७ मा १ हजार ३९ जना २० मुनिका गर्भवती भएको तथ्यांक छ भने २० वर्ष माथिका ५ हजार ५ सय ४८ गर्भवती भएको स्वास्थ्य कार्यालयको रेकर्ड छ । जसमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने १ हजार ४ सय ९८ छन् । २० मुनिका ८१ जनाले गर्भपतन गराएका थिए भने २० वर्ष माथिका १ हजार ५ सय ३७ जनाले गर्भपतन गराएका थिए ।

‘असुरक्षित गर्भपतन नगराउन सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ प्रमुख चापागाई भन्छन्, ‘गर्भपतन गराउने करिब १४ सयमध्ये १३ सयले परिवार नियोजनको साधन लगेका छन् । हामीले सकेसम्म लामो अवधिको सिफारिस गर्ने गरेका छौं ।’

स्वास्थ्य कार्यालयको तथ्यांकले आर्थिक वर्ष २०७६/७७ मा भन्दा २०७७/७८ मा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य प्रमुख चापागाईंले गर्भपतन गराउनेमध्ये अधिकांशले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । ‘बर्थिङ सेन्टर थप्ने काम भइरहेको छ । अहिले १४ वटा वर्थिङ सेन्टर छन् ३० वटा पु¥याउनुपर्ने आवश्यकता छ,’ उनले भने ।
जिल्लामा १० देखि १२ वटा संस्थाले सुरक्षित गर्भपतन सेवा दिने गरेका छन् । स्वास्थ्य प्रमुख चापागाई भन्छन्, ‘सुरक्षित गर्भपतन सेवा दिनसक्ने जनशक्ति सरुवा भएको अवस्थामा १/२ वटा घटबढ हुन्छन् ।’ नवलपुरमा निजी स्वास्थ्य संस्थाले गर्भपतन सेवा दिन अनुमति पाएका छैनन् ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले नवलपुरका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेदिक कार्यालयहरुको अनुमगन तथा निरीक्षणका क्रममा पनि स्वास्थ्य प्रमुख चापागाईले जानकारी गराएका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले कार्यालयको भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको बताउँदै जनसंख्याको आधारमा स्वास्थ्य सेवा प्रदायक संस्था कम भएको सुनाए ।

अनुगमनपछि मन्त्री अधिकारीले जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुले उपचार क्षमता बढाउनुपर्नेमा जोड दिइन् । सरकार जनतालाई आधारभूत स्वास्थ्य सेवाका साथै विशेषज्ञ सेवा प्रवाहमा लागिरहेको उनले स्पष्ट पारिन् ।

मन्त्री अधिकारीले जिल्लाको मध्यविन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप चुस्त बनाउन आग्रह गरिन् । मन्त्री अधिकारीले उपचाररत बिरामीहरुको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएकी थिइन् ।

मध्यबिन्दु अस्पतालमा बन्दै गरेको नयाँ भवन, अक्सिजन प्लान्ट, कर्मचारीको अवस्था बुझेकी थिइन् । मध्यविन्दुु जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. वीरवहादुर थापाका अनुसार निर्माणाधीन अस्पताल भवन निर्माण छिटो सक्ने, स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण व्यवस्था मध्यविन्दु अस्पतालका मुख्य आवश्यकता छन् । मन्त्री अधिकारीले आरुङखोलासिथत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अनुगमन पश्चात् जंगलमा खेर गएका जडिबुटी संकलन, भण्डारण, प्रशोधन गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताएकी छन् ।

सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा पुगेर मन्त्री अधिकारीले त्यहाँ उपचाररत गण्डकी प्रदेश प्रदेशसभा सदस्य प्रभा कोइरालाको स्वास्थ्य अवस्था समेत बुझेकी छन् । उनले रजहरलाई प्राकृतिक चिकित्साको हब बनाउनुपर्नेमा जोड दिँदै प्राकृतिक उपचारका लागि बिरामी रजहर नै आउने विश्वास व्यक्त गरिन् ।

यता, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेलगत्तै कोभिड प्रभावित उद्योग र पर्यटन व्यवसायी र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ