२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशयुवा चिकित्सक डा. शिशिर : जो कोभिड–१९ विरुद्धको मोर्चामा निरन्तर डटिरहे

युवा चिकित्सक डा. शिशिर : जो कोभिड–१९ विरुद्धको मोर्चामा निरन्तर डटिरहे


पोखरा—कोभिड–१९ को पहिलो लहरमा कोभिडबारे कोही कसैले पनि यस्तै हो भनेर बताउन सक्ने अवस्था थिएन । स्वास्थ्यकर्मीहरुले कोभिड–१९ का बिरामी पीपीई, मास्क र सेनिटाइजर प्रयोग गरी जाँच गर्ने गर्थे । चिकित्सकहरुमा न त अनुभव थियो, न त त्यसबारे विज्ञता नै । कोभिड–१९ का कारण हुने मृत्युदर बढिरहेको थियो । चिकित्सकहरु प्रयास त गर्थे, त्यो प्रयास बालुवामा पानीसरह बन्थ्यो । यस्तै अन्योलपूर्ण अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड वार्डमा खटिए मेडिकल अफिसर–डा. शिशिर क्षेत्री ।

क्षेत्रीय अस्पतालमा सेवा र उनको वैवाहिक जीवनको सुरुवात करिब १ महिनाको अन्तरमा भयो । जतिबेला कोभिड कहरले जनजीवन अस्तव्यस्त थियो । एकै दिन ४०–५० जना कोभिड बिरामी भर्ना हुने गर्थे, मृत्यु हुनेको संख्या पनि उच्च नै थियो । कोभिड बिरामीमा इम्युनिटी पावर घट्ने, भ्रम बढी र मनोबल कमी हुने साथै उमेर ज्यादा भएका ज्येष्ठ नागरिकमा दीर्घ रोगसमेत रहने हुँदा मृत्युदर बढी भएको हुनसक्ने डा. क्षेत्री बताउँछन् ।

कोभिड–१९ को पहिलो लहरमा बिरामीको मृत्यु भएपछि अधिकांश चिकित्सकमाथि दुव्र्यवहार भएको भएपनि दोस्रो लहरसम्म आइपुग्दा बिरामीका आफन्तहरु केही बुझ्ने र शान्त हुँदै गएको उनको अनुभव छ । उनी भन्छन्, ‘बिरामी कोभिड–१९ संक्रमणपछि मरिहालिन्छ । लौ न हजुर बचाउनुहोस् भन्ने र मनोबल कमजोर बनाउने गर्थे । पूर्व तयारी वा पूर्व सतर्कताको स्थिति थिएन । यसले पनि मृत्युदर बढी थियो ।’
जब कोभिड वार्डमा बिरामीको मृत्यु हुन्थ्यो । चिकित्सकहरुसमेत अनियन्त्रित बन्ने गर्थे । ‘हामीले मास्क, पीपीई लगाएका हुन्थ्यौं । आँसु देखाउँदैनथ्यौं । तर, मनोबल गिर्ने, मृतकका आफन्तलाई सम्झाउनै कठिन हुने, प्रोफेसन नै परिवर्तनसम्मको सोच आउँथ्यो सुरु सुरुमा त,’ उनी सुनाउँछन््, ‘मेडिकल विज्ञानमा केही सिमितता हुन्छन् । बिरामीको अन्तिम अवस्था हो भन्ने थाहा हुँदाहुँदै पनि केही गर्न सकिन्छ कि भनेर कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराललगायत सिंगो टिममा छलफल भइरहन्थ्यो तर, बिरामी बचाउन सकिँदैनथ्यो । त्यहीबेला साइडको अर्काे बेडका बिरामीको मनोबल घट्ने, बिरामीलाई आफ्नो पनि अवस्था त्यही हुने हो कि भन्ने चिन्ताले समस्या झन् जटिल पनि बन्ने गरेको हुन्थ्यो ।’

एकातिर कोभिड जोखिम, अर्कातिर चिन्ताले मनोबल घट्ने । कोभिड वार्डमा परिस्थिति सामान्य बनाउन पछिल्लो समयमा क्रिटिकल केसलाई छुट्टै प्रोटोकलमा राख्ने र उपचार गर्ने गरिएको उनले बताए । ‘सिरियस बिरामीसँग सामान्य बिरामी नराख्ने, अक्सिजन मात्रा ९० प्रतिशतभन्दा कम भएका मात्रै भर्ना लिने प्रोटोकल बनाइएको थियो,’ उनले भने । कोभिड सामान्य बिरामीको चाप उच्च भएकाले निश्चित प्रोटोकलका बिरामीमात्रै कोभिड वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । अस्पतालमा बेड नपाउने समस्याले धेरै बिरामीमा झन् नकारात्मक प्रभाव पारेको हुन्थ्यो ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि कोभिड वार्डमा नबस्न, मास्क अनिवार्य लगाउन, सेनिटाइज गर्न र साबुन पानीले हात धुन साथै भित्र लगेर बाहिर ल्याउनुपर्ने वस्तुहरु वार्डमा नलैजान सुझाव दिने गरेको उनी बताउँछन् ।

वार्डमा भएका कोभिड बिरामीको अवस्था पत्ता लगाउन चिकित्सकहरु २÷३ पटक राउन्डमा जाने गर्थे । ६ जना चिकित्सकको टिम थियो । स्टाफ नर्सदेखि अक्सिजन बोक्नेसम्मको लक्ष्य बिरामीलाई सहज सेवा दिने र ज्यान बचाउने नै हुन्थ्यो । कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई होटल आइसोलेसनमा राख्ने गरिएको थियो तर डा. क्षेत्री भने स्वास्थ्य मापदण्ड अपनाएर आफ्नै घर जाने गर्थे ।

चिकित्सकले १४ दिन कोभिड वार्डमा काम गर्नुपर्ने र १ हप्ता होम आइसोलेसनमा रहनुपर्ने प्रोटोकल तयार पारिएको थियो भने त्यसपछि मेडिकल अफिसरहरुलाई पालैपालो इमर्जेन्सीमा २४ सै घन्टा सेवा दिने गरी खटाइएको उनी सम्झन्छन् ।

बिरामीको चाप बढ्दै जाँदा दोस्रो लहरमा भने इमर्जेन्सीमा राखेर समेत कोभिड बिरामीको उपचार गरिएको डा. क्षेत्री बताउँछन् । उनी भन्छन्, ‘इमर्जेन्सीमै पनि छुट्टै कोभिड बिरामी राख्ने र रेड, एलो, ग्रिन जोन छुट्याएर राखेका थियौं । अक्सिजन चाहिने बिरामीलाई भर्नाको लागि नभई तत्कालको व्यवस्थापनका लागि त्यसो गरिएको हो ।’

कोभिड–१९ बाट लामो समयसम्म आइसोलेसनमा राखेर, सामान्य वार्डमा सारेर उपचार गरी निको भएर फर्किएका ४ जनाबाट आफूले पुनर्जीवन पाएको भन्दै हश्रासु बहाउँदै बिदाइ भएको डा. क्षेत्री सम्झन्छन् । भर्ना भएको अवस्थामा नजिकैका बिरामीको मृत्यु, वातावरण, खानपान, दीर्घ रोग वा अन्य जटिल स्वास्थ्य समस्याका कारण बिरामीको स्वास्थ्यमा जटिलता आउने गरेको उनको भनाइ छ ।

अहिले उनले कोभिड बिरामीको जीवन रक्षार्थ खटिएको करिब १५ महिना भयो । सुरु –सुरुमा त कोभिड संक्रमण हुने हो कि भन्ने शंका उनका मनमा उब्जिन्थ्यो । कोभिड बिरामी छुनै पनि डराउने अवस्था थियो, बिस्तारै उनमा अरु बिरामीजस्तै त हो नि भन्ने भावना बढ्दै गयो । यहीबीचमा उनकी श्रीमती डा. प्रतीमा राना थापाबाट शल्यक्रियामार्फत बच्चा पैदा भयोे । तर, चौथो दिनमा कोभिड–१९ संक्रमण पुष्टि भयो । ‘प्रतिमाको फोक्सो करिब ७० प्रतिशत ड्यामेज भइसकेको थियो,’ उनले भने । जटिल अवस्थामा रहेकी प्रतिमाको उपचार सफल भएपछि आत्मविश्वास झन् बलियो भएर आयो ।’ फोक्सो ड्यामेज भएको मान्छेलाई पूर्ववत् अवस्थामा फर्काउन सक्यौं भने बिरामी निको पार्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उनी बताउँछन् ।

डा. क्षेत्री अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड ओपिडीमा विगत १ महिनादेखि कार्यरत छन् । अहिले सबै स्वास्थ्यकर्मीले खोप लगाइसके भने कोभिडबारे धेरै तथ्य बाहिरिसकेको छ । ‘कोभिड–१९ निश्चित टाइम फ्रेममा उपचार पाए निको हुन्छ,’ उनी भन्छन् । ज्वरो आएमा तत्काल सावधानी अपनाउन र साना मेडिकल पसल नजान उनको सुझाव छ । उनले कोभिडविरुद्धको भ्याक्सिन लगाएकाहरुमा पनि जटिल खालको कोभिड संक्रमण हुन सक्ने भएकाले स्वास्थ्य मापदण्ड अपनाउन र सतर्क रहन आग्रह गरे । कोभिड खोप पूर्ण सुरक्षा नभएर आंशिक सुरक्षा र सावधानी भएको उनी बताउँछन् । संक्रमणको ७ देखि १० दिनमा जटिलता देखिन सक्ने उनको भनाइ छ । कोभिड संक्रमण भएर निको भएका व्यक्तिमा फेरि कोभिड पोजेटिभ देखिनु भनेको अर्काे भेरियन्ट हुनसक्ने उनको तर्क छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक ७० जना लक्षण देखिएका बिरामीको डाक्टरको सिफारिसमा पिसिआर हुने गरेको छ । त्यसबाहेक प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पनि निःशुल्क पिसिआर हुने गरेको उनले जानकारी दिए ।

डा. क्षेत्री ज्वरो आएमा अस्पतालमा आएर परामर्श लिन, संक्रमण भइहाले सतर्क रहन तर नआत्तिन आग्रह गर्छन् । कोभिड संक्रमण भइहालेमा बिरामी मरिहाल्ने नभई फोक्सोमा असर गर्ने र अन्य समस्या थप बल्झिने हुनाले कतिपय डिप्रेसनमा जानसक्ने हुन्छ । तसर्थ, आत्मविश्वास नै महत्वपूर्ण हुन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ