२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘टोल–टोलका डाक्टर’ शान्ति र जमुना, जसले समुदायको स्वास्थ्यमा पहुँच बढाए

‘टोल–टोलका डाक्टर’ शान्ति र जमुना, जसले समुदायको स्वास्थ्यमा पहुँच बढाए


पोखरा— जमुनादेवी श्रेष्ठले पोखराका टोल—टोलका घरघरमा २४ वर्ष सेवा दिइन् । पोखरा–१३ की जमुनादेवीले स्वास्थ्य स्वयंसेविकाका रुपमा यति लामो समय समुदायमा बिताइन् । ६० वर्ष पुगेपछि उनले सेवाबाट औपचारिक रुपमा स्वेच्छिक अवकाश लिएकी छन् ।

तर, उनले २४ वर्षे सेवा अवधिमा स्थायी सरकारी कर्मचारीजस्तो न त मासिक पारिश्रमिक पाइन्, न त अवकाशपछि पेन्सन वा उपदान नै । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा पोखरा उपमहानगरको महिला सदस्य निर्वाचित भएकी थिइन् । पोखराका तत्कालीन मेयर कृष्ण थापा थिए । थापाले नै महिला सदस्य श्रेष्ठलाई स्वयंसेविकाको भूमिका पनि बहन गर्न आग्रह गरे ।

हरेकको आफ्नै व्यक्तिगत काम धन्दा, फुर्सद नपाउने र स्वयंसेवी बनेर काम गर्नुपर्ने भएपछि महिला स्वास्थ्य स्वयंसेविका बन्न इच्छुक कोही हुँदैनथे । ‘त्यतिबेला त स्वयंसेविका बन्ने मान्छे नै पाइँदैनथ्यो, अहिले भने स्वयंसेविकाको संख्या पनि बढेको छ,’ उनले भने ।

श्रेष्ठ स्वयंसेविका भएका बेला अहिलेजस्तो थिएन । अहिले त पालिकाका केन्द्र तथा वडामा स्वास्थ्य चौकी, स्वास्थ्य इकाई र प्राथमिक उपचार केन्द्रको स्थापना र स्तरवृद्धि भइरहेको छ । स्वास्थ्यकर्मीको संख्या पनि बढिरहेकै छ । जनताको स्वास्थ्यमा पहुँच वृद्धि भइरहेको छ ।
सुरुवातको बेला थियो, स्वयंसेविकाले के गर्नुपर्ने भन्नेबारे स्वयंसेविकालाई नै अन्योल थियो । पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा नगरभरिका महिला स्वास्थ्य स्वयंसेविका भेला गराएर प्रशिक्षण दिइएको श्रेष्ठ सम्झन्छिन् ।

पोखरा–१३ मा राजेन्द्र सिग्देल र पोखरा–१२ मा १ जना गरी २ जना पुरुष स्वयंसेविकाकाको भूमिकामा थिए । पछि राजेन्द्र सिग्देललाई अप्ठ्यारो महसुस भएपछि सामाजिक काम गरिरहेकी शान्ति सिग्देललाई जिम्मेवारी हस्तान्तरण गरे । सामाजिक काममा सक्रिय शान्ति वि.सं. २०६६ बाट महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेकी थिइन् । अहिले उनी पनि ६० वर्ष पुगेपछि स्वयंसेविकाको भूमिकाबाट स्वेच्छिक अवकास लिएकी छन् । नगर प्रशिक्षण केन्द्रको तालिमपछि आफूहरुले के गर्नुपर्ने, जिम्मेवारी के हुने भन्नेबारे प्रष्ट भएको शान्ति बताउँछिन् ।

प्रशिक्षणमा गर्भवती महिला, पौष्टिक आहार, बालबालिकाको सुरक्षा, आधारभूत खोप तथा सुईलगायत विषयमा सिकाइन्थ्यो । स्वयंसेविकाको जिम्मेवारी पाएपछि टोल–टोलमा सचेतनाका लागि उनीहरु पुग्थे । ‘हामीले घर–घरमा, टोल–टोलमा बालबालिकाको खोप, गर्भवतीको संख्या, अवस्था, हात्तीपाइले, मलेरिया लगायत रोग आदिबारे सचेत गराउने गथ्र्याैं,’ उनले भनिन् ।

महिला स्वयंसेविकाको रिपोर्ट नै स्वास्थ्यका तालुक निकायले प्रयोग गरेर विवरण सार्वजनिक गरिरहेको शान्ति बताउँछिन् । ‘हामी टोल–टोलबाट रिपोर्ट वडा कार्यालयमा बुझाउँथ्यौं । वडाबाट लगेर जनस्वास्थ्य कार्यालयमा बुझाउँथे । मुख्य भूमिका स्वयंसेविकाको नै रहन्थ्यो,’ उनले भनिन् । स्वयंसेविका नभए पोलियोविरुद्धको खोप, हात्ती पाइलेविरुद्धको औषधी, भिटामिन ए, जुकाको औषधी खुवाउनेलगायतका अभियान सफल हुनै नसक्ने श्रेष्ठ र सिग्देलको तर्क छ ।

स्वयंसेविका भएर घर–घरमा सचेतनाका लागि पुग्दा हाम्रा घरमा किन आएको भनेर कुुकुर लगाइदिने गरेको दुखद् अनुभवसमेत शान्तिसँग छ । तर, कोही भने घरमा तथ्यांक संकलन गर्न पुग्दा पनि विशेषज्ञ डाक्टर नै आएको झैं सम्मान गर्ने गरेको उनीहरुको अनुभव छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले परिवार नियोजनका साधन प्रयोग सम्बन्धी सचेतना, बालबालिकालाई आवश्यक थप औषधोपचार, टोल–टोलमा वडा तथा जनस्वास्थ्यले भर्न पठाएका फाराम भर्ने, गर्भवतीले स्वास्थ्य जाँच गराउनुपर्ने तालिकाबारे जानकारीलगायत काम गरेर बालबालिका र महिलाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको र लामो समयसम्म स्वयंसेविकाको रुपमा काम गर्न पाउँदा खुसी लागेको उनीहरुले सुनाए ।

कोभिड–१९ को समयमा पनि उनीहरुको भूमिका सक्रिय नै रह्यो । कोभिडका बेला होस् कि नियमित खोप अभियान, उनीहरु माथिल्ला निकायहरुलाई सघाइरहेकै हुन्थे । जब जनतामा पुग्नुपर्छ, माथिल्ला निकायले महिला स्वास्थ्य स्वयंसेविकालाई गुहार्ने गर्थे । शान्ति र जमुना दुवैजनालाई पोखरा–१३ ले सम्मानसहित बिदाइ गरेको छ । उनीहरु दुवैको एउटै भनाइ छ, ‘महिला स्वास्थ्य स्वयंसेविका नभएपनि सामाजिक सेवामा रहिरहन्छौं । हामी औपचारिक रुपमा जिम्मेवार नभएपनि सामाजिक काममा सक्रिय नै रहनेछौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ