२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपुतलीबजारमा ब्लड बैंक सञ्चालन गर्ने निर्णय, शल्यक्रिया र डायलाइसिस गर्नुपर्ने बिरामीलाई राहत पुग्ने

पुतलीबजारमा ब्लड बैंक सञ्चालन गर्ने निर्णय, शल्यक्रिया र डायलाइसिस गर्नुपर्ने बिरामीलाई राहत पुग्ने

धेरै औषधि उपलब्ध गराउन सकेका छैनौं : मेसु डा. आचार्य


पोखरा–स्याङ्जाको पुतलीबजार नगरपालिकाले ब्लड बैंक सञ्चालन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन् ।

जिल्ला अस्पताल स्याङ्जा र रेडक्रस जिल्ला शाखा स्याङ्जाको सहकार्य र समन्वयमा ब्लड बैंक सञ्चालन गर्न लागिएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्र्तीले जानकारी दिए ।

ब्लड बैंक सञ्चालन गर्नका लागि यसअघि नै रेडक्रसमार्फत भवन निर्माण भइसकेको थियो । हाल आवश्यक फ्रिज, इक्युपमेन्ट, कर्मचारी व्यवस्थापनलगायत काम पूरा गरी सेवा सञ्चालनको तयारी गरिएको हो । यसका लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७८/७९ को विपद् व्यवस्थापन कोषमा बचेको रकमबाट १० लाख निकासा गर्न लागिएको छ ।

अहिलेको अवस्थामा जिल्ला अस्पतालमा मासिक ४० देखि ४५ पिन्ट रगत आवश्यक पर्छ । डायलाइसिस तथा शल्यक्रियाका लागि रगत अत्यावश्यक हुन्छ । यहाँ २०/२५ दिन राख्ने र त्यो समयसम्म खपत नभए पोखरा पठाउने र फ्रेस रगत ल्याउने गरी योजना बनाइएको अधिकृत घर्तीले बताए ।

३ जना जनशक्ति नगरपालिकाले उपलब्ध गराउने र स्याङ्जाका डायलाइसिस गर्नुपर्र्ने सबै बिरामीको यहीं गर्ने व्यवस्था मिलाउने योजना छ । ‘२ जना अनमी पास गरेको र स्टाफ नर्स पढेको जनशक्तिलाई तालिम दिएर खटाउने तयारी भएको छ । आवश्यकताअनुसार १ थप गर्ने सोचाइमा छौं,’ अधिकृत घर्तीले बताए । १४ वटा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य इकाइको स्थापना भएका छन् ।

तिनीहरुमार्फत आधारभूत स्वास्थ्य सेवा दिइरहेको अवस्था छ । आगामी दिनमा विपन्नहरुको स्वास्थ्य विमा गर्ने योजना बनाएको छ ।

डायलाइसिसबाहेक सुत्केरीलाई पनि रगत आवश्यक हुने उल्लेख गरिन्छ । जिल्ला अस्पताल स्याङ्जाका मेसु डा. रमेश आचार्य अहिले नजिकमा ब्लड बैंक नहुँदा पोखरा रिफर गर्नुपर्ने गरेको सुनाउँछन् ।

‘अस्पतालमा स्वास्थ्य बिमा सेवा पनि भएकाले बिरामीको संख्या बढी नै हुन्छ । अस्पतालमा धेरै विभागका विशेषज्ञ डाक्टर नभएकोले गण्डकी मेडिकल कलेजसँग सहकार्य गरेर कम्तीमा ३ जना विशेषज्ञ चिकित्सक उपलब्ध गराउनुपर्छ भनिरहेका छौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले त्यो नीति पनि ल्याएको भएपनि कलेजले सम्झौता गर्न मानिरहेको छैन ।’

धेरै औषधि उपलब्ध गराउन सकेका छैनौं : मेसु डा. आचार्य

जिल्ला अस्पताल स्याङ्जामा स्वास्थ्य बिमा सेवा सञ्चालन भइरहको भएपनि बिमा बोर्डले समयमै पेमेन्ट नदिँदा समस्या हुने गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश आचार्य स्वास्थ्य बिमाअन्तर्गत धेरै प्रकारका औषधि दिन नसकिएको बताउँछन् ।

‘११ सयभन्दा बढी प्रकारका औषधि बिमामा सूचीकृत छन्, सबै प्रकारका औषधि उपलब्ध गराउन पनि असजिलो भइरहको छ । हामीले किन्ने पनि टेन्डर प्रक्रियामा हो । स्याङ्जामा बिरामीको धेरै चाप नहुने, औषधी भेन्डरले ३÷४ सय प्रकारका औषधिमात्रै दिने गरेको अवस्था छ,’ डा. आचार्यले भने, ‘हामीले स्वास्थ्य बिमाअन्तर्गत सेवा त दिइरहने तर बिमाले पेमेन्ट नदिने । ६०÷७० लाख क्लेम हुँदा १०÷१२ लाख पेमेन्ट हुँदा कसरी सञ्चालन गर्ने ?’

स्याङ्जामा काठमाडौंका ठूला अस्पताल र विशेषज्ञ डाक्टरले सिफारिस गरेका औषधि पनि खोजी हुन्छ तर दिन सकिने अवस्था छैन । बिमितहरुले औषधि एक दुई वटा नपाउँदा पनि चित्त दुखाउने अवस्था भएकाले यो सबै पक्षबाट प्रष्ट हुन आवश्यक भएको डा. आचार्य बताउँछन् । जिल्ला अस्पतालमा १२ जना मिर्गौलाका बिरामीलाई डायलाइसीस गरिँदै आएकामा करिब ४ गुणा बढीलाई सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ