२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालयको शिक्षण अस्पताल सुरु, ३ वर्षभित्र एमबीबीएस पढाइने

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल सुरु, ३ वर्षभित्र एमबीबीएस पढाइने


पोखरा—पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अस्पतालको बहिरंग सेवाअन्तर्गत अर्थोपेडिक ओपिडी र रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसुति ओपिडी उद्घाटन गरेका हुन् ।

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले स्थानीय महिला सुशीला रेग्मीलाई उपचार गरी सेवा आरम्भ गरेका थिए । विश्वविद्यालयको छात्रावास भवनलाई परिमार्जन गरी शिक्षण अस्पताल निर्माण गर्न विश्वविद्यालयले गत जेठ २० गते सम्झौता गरेको थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह–प्राध्यापक. दीपेन्द्रकुमार यादवले हाल एक जना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ एवं एक जना अर्थोपेडिक सर्जन गरी २ जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म बहिरंग सेवा (ओपिडी) सञ्चालन गरिने जानकारी दिए । उनले २ जना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, चोटपटक र दुर्घटनासम्बन्धी बिरामीको जाँच हुने उल्लेख गरे ।

दैनिक २ सय जनासम्मलाई ओपिडी सेवा दिन सकिने उनको भनाइ थियो । ३ महिनामा इमर्जेन्सी सेवा सञ्चालन गरिने जानकारी दिँदै इमर्जेन्सीका लागि १० बेड र जनरल ९० बेड राख्ने गरी काम अघि बढाइएको उल्लेख गरे ।

सेवा शुभारम्भका अवसरमा उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयको लागि अपरिहार्य भएको भन्दै सेवा शुभारम्भ गर्न सकिएकोमा गौरव महसुस भएको बताए । विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपतिले विश्वविद्यालयको स्तरोन्नतीका लागि विद्यार्थी संख्या बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले आंगिक क्याम्पस खोल्ने र दुई वर्षभित्र एमबीबीएसको पठनपाठन सुरू गर्ने प्रतिबद्धता जनाए ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालय शुभारम्भ गरेको अस्पताल यस क्षेत्रकै उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको उल्लेख गरे ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सह–प्राडा. अमर नागिलाले पोखरा विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पताल सञ्चालन भएको दिन स्वर्णिम अक्षरले लेखिने भन्दै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना, तालिका बनाएर विश्वविद्यालयसमक्ष पेश गरेर अस्पताल सञ्चालन गर्न सफल भएको बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ