२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘गाडी सर्भिसिङजस्तै हो मानिसका लागि प्राकृतिक उपचार’

‘गाडी सर्भिसिङजस्तै हो मानिसका लागि प्राकृतिक उपचार’


पोखरा – एलोप्याथिक औषधीको प्रयोग व्यापक भएको समयमा बिना औषधी उपचार हुन्छ भन्दा सबैलाई पत्यार नलाग्न सक्छ । बिना औषधी मानिस निरोगी बन्न सक्छ भन्ने सुन्दा त्यसो भए एलोप्याथिक औषधी र आधुनिक डाक्टर किन चाहियो भनी प्रश्न उठाउने प्रशस्तै भेटिन्छन् । प्राकृतिक उपचार पद्धतिबाट नै धेरै रोग निको पार्न सकिने बताउँछन् उत्तरबाहिनी ज्ञान केन्द्रका अध्यक्ष चैतन्य कृष्ण ।

अध्यक्ष कृष्ण प्राकृतिक उपचार चिकित्सालय (अस्पताल) स्थापना गर्न लागिपरेका छन् । उनी मन खुसी हुँदा मानिसलाई रोगमुक्त हुन सघाउने तर्क गर्छन् । धार्मिक प्राकृतिक रूपमा महत्वपूर्ण ठाउँ भएकाले उत्तरबाहिनीमा प्राकृतिक अस्पताल स्थापना गर्न लागेको उनले बताए । उनका अनुसार आनन्द रामायणमा भगवान् राम ७ महिना जति सो ठाउँमा बसेका थिए भने कालीगण्डकी उत्तरतिर फर्केर बगेको पवित्र भूमि हो ।

प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उद्देश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको छ । भवनको संघीय सांसद् धनराज गुरुङले शिलान्यास गरे । भवन ठुलो हुने भएकाले बहु वर्षीय रूपमा निर्माण सम्पन्न हुनेछ । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुंगास्थित उत्तरबाहिनीमा आगामी असारभित्रै १ तला र १२ कोठासहित २ ट्रस्ट निर्माण हुने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए ।

चिकित्सालयमा प्राकृतिक उपचार मसाज, जलोपचार, स्टिम बाथ, फिजियोथेरापी, यौगिक थेरापी, अकुपञ्चर, माटोबाट उपचार लगायत प्राकृतिक तरिकाबाट उपचार गरिने उनको भनाइ थियो । प्राकृतिक उपचारअन्तर्गत पञ्चतत्व, योग, स्टिमबाथ, सनबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाजलगायत पर्दछन् ।

उनले भने, ‘प्राकृतिक उपचार पद्धति भनेको निश्चित समयपछि हामी गाडी सर्भिसिङ गर्छाै, हरेक मनुष्यका लागि केही समय व्यस्त भएर काम गरेपछि शरीरको होल बडीको सर्भिस गर्ने उपचार पद्धति हो । सम्पूर्ण रूपमा शरीरलाई तन्दुरुस्त बनाउँछ । उपचार लिन पर्ने क्रोनिक डिजीजका लागि यो उपयुक्त हुन्छ, लाइफस्टाइल बेस्ड रोगका लागि चमत्कारिक काम गर्छ । औषधी नखाई पनि उपचार हुन्छ । शरीरका विकार निकाल्ने पद्धति छ, लक्षण हेरेर होइन, सिस्टमलाई नै ठिक गर्ने खालको उपचार पद्धति हो । फिजियोथेरापीका बिरामी लामो समय बसेर निको भएर निस्कने ठाउँ हुन्छ । सयौँ प्रकारका रोगहरू, प्यारालाइसिस, नशा, पेटका समस्याको उपचारका लागि रामवाण हो ।’

चिकित्सालयमा सुरुमा ओपिडी धेरै नै बिरामीलाई उपचार गर्न सकिने भए पनि भर्ना गरी उपचार गर्न १० बेडबाट सेवा सुरु गरिने उनले बताए । भवन निर्माणका लागि बजेट सहरी विकास मन्त्रालयअन्तर्गत २ करोड १२ लाख प्राप्त भएको उनको भनाइ थियो । उनले भने,‘सञ्चालन खर्च चुनौतीपूर्ण छ, बिएनवाइएस डाक्टर, फिजियोथेरापिस्ट डाक्टर राख्नुपर्छ, ज्ञान केन्द्रले सामर्थ्य नहुनेलाई निःशुल्क र सामर्थ्य हुनेबाट सामान्य शुल्क लिन्छ ।’

प्राकृतिक उपचार पद्धतिको लोकप्रियता युरोप, अमेरिका, भारत, नेपाल सबैतिर बढेको उनको भनाइ छ । स्वस्थ मानिस पनि त्यहाँ पुगेपछि १ महिना बस्न खोज्छन्, प्राकृतिक धार्मिक महत्वको ठाउँ छ, त्यहाँ पुगेपछि आनन्द अनुभूति हुन्छ । मानिस पूर्ण स्वस्थ भएर फर्कन सक्ने उनको दाबी छ । जनशक्ति व्यवस्थापनका लागि भोलेन्टियर र पारिश्रमिकसहितका स्वास्थ्यकर्मी राखिने उनी बताउँछन् । रजहर, चितवन, सैनामैनामा मुख्य ३ ठुला अस्पतालबाट जनशक्ति उत्पादन पनि भइरहेको उनले जानकारी दिए ।

चिकित्सालय संघीय सरकार र गल्याङ नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुनेछ भने गल्याङ नगरपालिकाले सञ्चालन गर्नेछ ।
प्राकृतिक पद्धतिबाट गरिने उपचार एलोप्याथिकको तुलनामा बढी समय लाग्ने भए पनि दीर्घकालीन रूपमा फाइदा हुनेछ । चैतन्य कृष्ण भन्छन्, ‘तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी देखिएको छ ।’ आकस्मिक उपचार गर्नुपर्ने बिरामीको उपचार भने सो चिकित्सालयमा सम्भव हुँदैन । २४ कोठे सुविधा सम्पन्न अस्पताल भवन ४२ रोपनी क्षेत्रफलमा रहनेछ । (ज्ञान केन्द्रका अध्यक्ष चैतन्य कृष्णसँगको कुराकानीमा आधारित)


क्याटेगोरी : अन्य, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ