पोखरा—यशोधा राजभण्डारीले जीवनको लामो समय कुष्ठरोगका बिरामीको सेवामा समर्पित गरिन् । कुष्ठरोग संक्रमित उनले रोगलाई जितेर दोस्रो जीवन पाएकी हुन् । उनलाई कुष्ठरोग जित्न आफ्नै घरको कोठामा सिमित हुनुपर्यो भने कहिले डिस्पेन्सरी सेन्टरको आश्रय लिनुपर्यो । कहिले पोखराको हरियोखर्क अस्पतालका छाप्रोमा कुष्ठरोगसँग पौंठेजोरी खेल्नुपर्यो ।
जसोतसो उनले कुष्ठरोगलाई त जितिन्, कुष्ठरोगबाट अरुलाई बचाउन ठूलै युद्ध लडेझैं संघर्ष गर्नुपर्यो । उनी सिनियर स्टाफ नर्स भएर हजारौं बिरामीलाई दोस्रो जीवन दिन सफल भइन् ।
यशोदाको जन्म वि.सं. २००९ सालमा बागलुङ बजारको सम्पन्न परिवारमा भएको थियो । उनी डम्बरबहादुर राजभण्डारीकी कान्छी छोरी हुन् । वि.सं. २०२५ सालमा एसएलसी पास गरेकी उनी बागलुङकै वीरेन्द्र क्याम्पसमा आइए अध्ययनरत थिइन् । उनमा कुष्ठरोगको लक्षण देखियो ।
यशोदाका दाजु सूर्यचन्द्र राजभण्डारीले उपचारका लागि काठमाडौं लगे । यातायातको सुविधा थिएन । बागलुङबाट कार्कीनेटा हुँदै पोखरा आइपुग्न २ देखि ३ दिन लाग्थ्यो । पोखराबाट भने जहाजमा काठमाडौं पुगे । डाक्टरले औषधी खान त भने औषधी खान थालेपछि अनुहार र शरीरका विभिन्न भागमा रियाक्सन देखापर्यो ।
यशोदा घरबाहिर निस्कन्न थिइन् । एक्लो महसुस हुन्थ्यो । अर्का दाजु कृष्णचन्द्र राजभण्डारीले वि.सं. २०२७ सालमा बागलुङकै मिसिनरी डिस्पेन्सरीमा लगेर औषधोपचार सहज बनाए । यशोधा डिस्पेन्सरीबाट औषधी लिएपछि घरभित्रै मात्र बसिरहन्थिन् । मिसिनरीका मानिसले उनलाई काममा व्यस्त बनाउने उद्देश्यले हस्तकला पनि सिकाउँथे ।
उनी कुष्ठरोगका कारण एक्लो महसुस गरी घरभित्रै रहन्थिन्, त्यसैमाथि उनकी आमाको क्षयरोगका कारण र काकीको झाडापखालाका कारण निधन भयो । यशोधाका बुबाले एकै घरका जेठी र साइली तथा काकाले माइली छोरी विवाह गरेका थिए । जेठीका सन्तान थिएन्, माइली र साइँलीको निधनपछि ११ सन्तानको रेखदेखको जिम्मेवारी जेठीको जिम्मामा आइपर्यो । कुष्ठरोग लागेपछि छरछिमेकका मानिस नजिकमा आउँदैनथे ।
वि.सं. २०२८ सालमा यशोदाले पोखराको हरियो खर्क अस्पताल आएर औषधी लैजानुपर्ने भयो । तर, औषधी खाँदा निको हुनुभन्दा झन च्यापेजस्तो भयो । अर्काे वर्ष भने नयाँ खालको औषधी आएछ । हिँडडुल गर्न नसक्ने भएपछि उनलाई डोकोमा बोकाएर हरियोखर्क अस्पताल पुर्याइयो र भर्ना गरियो । छाला लाटो हुने, नसामा समस्या, औंला सोझो नहुने, हात बाङ्गो बनाउन नमिल्ने समस्या थिए ।
‘डोली चढेर जाने उमेरमा डोकोमा बसेर अस्पताल जानुपर्दा मन थामी नसक्नुभयो । अनुहार कुरुप थियो,’ उनी सम्झन्छिन् । हरियो खर्क अस्पतालमा अन्य २ जना कुष्ठरोगका बिरामीसँगै बस्ने व्यवस्था मिलाइयो । कुष्ठरोगकी बिरामी गौमाया थापाको नाक बिग्रिएको थियो । उनै थापाले राजभण्डारीलाई आमाको माया ममता अनुभूत गराइन् ।
नर्स मरियम पुनको सहयोगले यशोदाको एक्लोपनामा कम हुन्थ्यो । बिरामीलाई व्यस्त बनाउने उनीहरुले सक्ने काम लगाइन्थ्यो । यशोधाका हातखुट्टामा धेरै समस्या नभएकाले छिट्टै सुधार देखियो । बिरामीको हेरचाहमा पनि खटाइयो । हरियोखर्कका स्वास्थ्यकर्मीले सिकाएर पट्टी लगाउने, इन्जेक्सन लगाउने, औषधी दिने काम लगाएका थिए । बिरामीको उपचारमा पोखरा सिम्पानीमा रहेको साइनिङ अस्पतालका डा. ग्राहम हप्तामा एक पटक आउँथे भने कुष्ठरोगका बिरामीलाई रामबहादुर भण्डारीले पढाउने गर्थे ।
अस्पतालमा भएका अरु बिरामी कोहीको हात, कोहीको खुट्टा, कोहीको नाक थिएन । कहालीलाग्दो अवस्था थियो । यशोधाको कामबाट प्रभावित भएर हरियोखर्ककी नर्स बेलीबेटीले उनलाई नर्सिङ अध्ययनको प्रस्ताव गरिन् । सुरुमा यशोधालाई सक्दिनँ भन्ने लागेको थियो ।
आईएनएफको छात्रवृत्तिमा काठमाडौंको शान्त भवनमा वि.सं. २०३० सालमा नर्सिङ पढ्ने व्यवस्था मिलाइयो । त्यतिबेला यशोधाको शरीरबाट कुष्ठरोगको कीटाणु हटिसकेको थियो । तर, औषधीको इन्फेक्सन भने अनुहारमा देखिन्थ्यो । आनन्दवनबाट ल्याप्रोसी क्लिनिक द ल्याप्रोसी मिसन (टिएलएम) सञ्चालन हुन्थ्यो । त्यही उनले औषधी लिन्थिन् । ६ सेमेस्टर हुने नर्सिङको पहिलो सेमेस्टरमा उनले राम्रो गर्न सकिनन् । उनीसँगै अरु १९ जना नर्सिङ विद्यार्थी थिए ।
तर, उनले हिम्मत हारिनन्, मेहनत गर्दै गइन् । परिणाम उनले नर्सिङ पास गरिन् । नर्सिङ कोर्स पूरा गरेसँगै वि.सं. २०३३ देखि २०४७ सम्म उनले हरियोखर्क अस्पतालमा सिनियर स्टाफ नर्सका रुपमा काम गरिन् । त्यसपछि पारिवारिक समस्याले यशोदा काठमाडौं पुगिन् । त्यो समयमा उनले काठमाडौं १ वर्षजति स्वास्थ्यकै क्षेत्रमा काम गरिन् भने पछि उनले फरक क्षेत्रमा काम गरिन् ।
वि.सं. २०५८ सालमा फेरि नेपाल ल्याप्रोसी ट्रस्टमा ४ वर्ष काम गरिन् । त्यही वर्ष पुनः हरियोखर्क अस्पताल फर्किएकी उनले वि.सं. २०६२ सम्म नर्सिङ अफिसरका रुपमा काम गरिन् । यशोदाले इन्ट्रीगेसन, डिग्निटी, इकोनोमिक, एड्भान्स (आइडिया) को नेपाल महासचिव एक कार्यकाल र अध्यक्ष भएर १ कार्यकाल पूरा गरिन् ।
यशोदाले आइडियाको अध्यक्षका रुपमा न्यूयोर्कमा भएको न्युयोर्क इन्टरनेसनल ल्याप्रोसी इफेक्टेड वुमन्स कन्फरेन्समा पनि सहभागिता जनाएकी थिइन् । उनी न्युयोर्क, दिल्ली, आग्रा, चेन्नई र बंगलादेशका सम्मेलनमा सहभागी भएर कुष्ठरोगको अवस्थाबारे धारणा राख्न पाएकोमा खुसी व्यक्त गर्छिन् । दिल्लीमा भएको नर्सिङ सम्मेलन थप प्रभावकारी भएको उनको अनुभव छ । चाहे नर्सका रुपमा होस्, चाहे अभियन्ताका रुपमा कुष्ठरोगलाई जितेर पाएको नयाँ जीवन उनले पूर्ण रुपमा कुष्ठ रोगका बिरामीको सेवामा समर्पित गरिन् ।
उनले रोटरी सम्मान, सिद्धीसेतुली सम्मान, कुष्ठरोग निवारण संस्थाबाट सम्मान पाएकी छन् भने आइडियाको अध्यक्षका रुपमा मेडल हात पारिन् । आईएनएफको सहयोग, उपचारमा संलग्न स्वास्थ्यकर्मीको माया, ममता र उपचारबाट आफूले पुनःर्जीवन पाएको उनी बताउँछिन् ।
कुष्ठरोग संक्रमित बिरामीलाई हार नमान्न, अरु रोगजस्तै सामान्य ठान्न र शंका लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई देखाउन उनको सुझाव छ । ‘हाम्रा पाला त उपचार निकै कठिन थियो,’ उनी भन्छिन्, ‘छिमेकीले थाहा पाए फर्केर समेत हेर्दैन्थे । अहिले त धेरै सहज छ । रोग लुकाउन हुन्न ।’ सम्पन्न र शिक्षित परिवार भएकै कारण उपचार पाएर आफूले पुनःर्जीवन पाएको उनी बताउँछिन् ।