२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआँबुखैरेनी गाउँपालिका अस्पतालमा थपिए डायलाइसिस मेसिन

आँबुखैरेनी गाउँपालिका अस्पतालमा थपिए डायलाइसिस मेसिन

अप्रेशन थिएटर सञ्चालन छिट्टै, विशिष्टीकृत सेवा दिने योजना


पोखरा—तनहुँको आँबुखैरेनी गाउँपालिका अस्पतालमा दुई थान डायलाइसिस मेसिन थपिएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई दुई थान डायलाइसिस मेसिन उपलब्ध गराएको हो ।

यससँगै अस्पतालमा ५ वटा डायलाइसिस मेसिन हुनेछन् । ५ मेसिनबाट २ सिफ्टमा चलाउँदा हप्तामा २४ जनालाई डायलाइसिस सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए ।

‘अस्पतालमा डायलाइसिस सेवा भए यहीँ लिन हुन्थ्यो भनेर निवेदन दिएकाको संख्या २५ रहेको छ । कहीँ न कहीँ डायलाइसिस त गरिरहनुभएको छ । पेइङमा पनि डायलाइसिस गराइरहनुभएको छ,’ उनले भने, ‘अस्पताललाई विपन्न नागरिक उपचार सेवा कार्यक्रमअन्तर्गत सूचीकृत गरेपछि हामीले निःशुल्क सेवा दिन्छौं । सूचीकृत गर्न पहल भइरहेको छ ।’

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय तीन जना नर्सिङ स्टाफलाई डायलाइसिस तालिम दिइसकेको र एक जना तालिमकै क्रममा रहेको बताउँछन् । मेसिन इन्स्ट्रलेसनको प्रक्रियामा रहेको छ । डायलाइसिसको लागि तालिमप्राप्त मेडिकल अफिसरसमेत नरहेको, ल्याबका रगतको वर्गीकरणका लािग जनशक्ति अभाव रहेको, स्थायी ब्लड बैंक नभएको अवस्थामा पनि पालिकाको पहलमा डायलाइसिस सेवा दिन पहल भएको उनको भनाइ छ ।

गाउँपालिकाले नै स्थापना र सञ्चालन गरेको हुनाले आवश्यक जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकाले पर्याप्त बजेट व्यवस्था गरी काम गर्ने प्रमुख उपाध्याय बताउँछन् ।

मेसु डा. क्षेत्रीका अनुसार अस्पतालमा हाल दैनिक एक सय हाराहारीमा बिरामी आउने गरेका छन् भने २० देखि ३० जना इमर्जेन्सीमा आउने गरेका छन् । ७ देखि १० जना भर्ना हुने बिरामी आउने गरेका छन् । अस्पतालमा आएका बिरामीमध्ये लगभग १० प्रतिशत बिरामी रिफर गर्नुपर्ने उनको भनाइ छ । सिटीस्क्यान, एमआरआई, अप्रेशनलगायत सुविधा नभएकाले रिफर गर्नुपर्ने उनी बताउँछन् ।

अस्पतालमा अप्रेशन थिएटर स्थापना कार्य अन्तिम चरणमा पुगेको छ । केही उपकरण प्रदेशबाट प्राप्त भएको र केही टेन्डरमार्फत ल्याउने क्रममा रहेकाले करिब १ महिनामा अप्रेशन सेवा सुरु गरिने मेसु डा. क्षेत्रीले बताए ।

अस्पतालमा ४० जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी रहेका छन् । मेडिकल अफिसर छात्रवृत्तिका २, नर्सिङ स्टाफ २, प्यारामेडिसिन २ र कार्यालय सहयोगी १ जना मात्र स्थायी दरबन्दीमा रहेका छन् । एमडिजिपी १, नर्सिङ स्टाफ १४, मेडिकल अफिसरलगायत अन्य कर्मचारी पालिका आफैंले व्यवस्थापन गरेको छ ।

अस्पतालले स्वास्थ्य बिमा सेवा पनि उपलब्ध गराउँदै आएको छ । अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर विशिष्टीकृत सेवा दिने योजना बनाइरहेको मेसु डा. क्षेत्री बताउँछन् । ‘त्यहाँबाट रोटेसन बेसिसमा रेजिडेन्स डाक्टरको पोस्टिङ हुन्छ, डिस्ट्रिक्ट हस्पिटल पोस्टिङ भन्ने हुन्छ समन्वय गर्दैछौं,’ उनले भने, ‘त्यसरी गर्न सकियो भने विशिष्टीकृत सेवाका साथै थप सेवा दिन सकिने भयो ।’

अस्पतालको दरबन्दी स्वीकृत नभएको अवस्थामा सेवा दिने पहलमात्रै भएको उनी बताउँछन् । दरबन्दी स्वीकृतका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागमा निवेदन दिइएको भएपनि प्रक्रिया अघि बढ्न नसकेको मेसु डा. क्षेत्रीको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ