२०८२ असार १, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना

रिफन्ड भन्दै ५० लाख रुपैयाँ कर्मचारीले घोटाला गरेको पुष्टि


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल अस्पतालमा स्वास्थ्य बीमा सेवा लिने बिरामीले तिरेको करिब ५० लाख रुपैयाँ बीमा रिफन्ड भन्दै कर्मचारीले खल्ती भरेको पुष्टि भएको छ । रातिको समयमा कर्मचारीले रिफन्ड गरेको रकम अपत्यारिलो तरिकाले बढेपछि अस्पतालका शाखा अधिकृत सुशीलकुमार अर्यालको संयोजकत्वमा लेखा अधिकृत हेमन्त ढकाल र आईटीका दीपक केसी सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिले त्यहाँ कार्यरत केही कर्मचारी रिफन्डका नाममा रकम आफूले लिएको फेला पारेको छ । उक्त कार्यमा ६ जना संलग्न भएको र करिब ५० लाख रुपैयाँ हिनामिना गरिएको प्रतिवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समक्ष पेस गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतकाअनुसार अहिले प्रतिवेदन अध्ययन र थप प्रमाण खोजीको काम भइरहेको छ ।

समितिले बुझाएको प्रतिवेदन अध्ययनपछि प्रतिष्ठानको कार्यकारी परिषद्ले १५ चैत्रमा घोटाला भएको निष्कर्ष निकालेको थियो । १० फागुनमा सिस्टममा स्वास्थ्य बीमा तर्फको काउन्टरमा अस्वाभाविक रिफन्ड देखिएको थियो । लगतै २० फागुनमा छानबिनका लागि कार्यदल गठन गरिएको थियो ।

छानबिन समितिका संयोजक अर्याल कार्यकारी परिषद्ले प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘अस्पतालको नियम तथा मौजुदा कानुनअनुसार दोषीलाई कारबाही हुन्छ,’ उनले भने, ‘प्रतिवेदन नै पूर्ण होइन्, मूल्यांकन गर्दा थपघट हुन पनि सक्छ ।’

अर्यालकाअनुसार प्रतिवेदनबाट घोटाला भएको पुष्टि हुन्छ । ‘को कसलाई के कस्तो कारबाही हुन्छ भन्ने कार्यकारी परिषद्ले निर्णय गर्छ । हेरौं अब एक हप्तामा टुंगिएला,’ उनले थपे । घोटालाबारे छानबिन गरी २५ फागुनमै प्रतिवेदन बुझाउने समयसीमा भएपनि अध्ययन गर्नुपर्ने समय बढी लागेपछि १ चैत्रमा कार्यदलले प्रतिवेदन बुझाएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ