२०८२ चैत्र ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशदादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं

दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं


बागलुङ—ढोरपाटनमा फैलिएको दादुराका ६७ जना बिरामी उपचारपछि घर फर्किएका छन् । फागुनको पहिलो सातादेखि यहाँ दादुरा फैलिएको थियो । यस्तै २० जना बिरामीको ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।

हालसम्म १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार मंगलबारसम्म बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण पुष्टि भएपछि युद्धस्तरमा बिरामीलाई खोजेर उपचार थालिएको हो ।

यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाइएको हो । –रासस


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ