२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसहरी जीवनशैली बन्दै जिम, स्वास्थ्यमा के फाइदा ?

सहरी जीवनशैली बन्दै जिम, स्वास्थ्यमा के फाइदा ?


काठमाडौं—सहरमा आजकल धेरै युवायुवती र वयस्कहरुको मुखबाट सुन्न पाइन्छ—मोटाइयो, अब जिम जानुपर्छ । कतिपय युवायुवतीहरु त गठिलो र आकर्षक शरीर बनाउनका लागि जिम धाइरहेका हुन्छन् । स्वस्थ र फिट रहनका लागि जीमशैली जीवनशैलको अंग नै बनिसकेको छ । जिममा गर्नेहरुमध्ये थुप्रै सेलिब्रेटीहरु पनि पर्छन् । तिनैमध्ये एक हुन्—निर्देशक, कमेडियन विशाल भण्डारी । भण्डारीले पछिल्ला झण्डै १५ वर्षदेखि जिमलाई आफ्नो जीवनशैली बनाएका छन् । ‘फिटनेसकै लागि मैले १५ वर्षअघि जिम सुरु गरेको थिए,’ उनी भन्छन्, ‘अहिले जिम मेरो डेली रुटिन भित्र पर्छ ।’ उनका लागि जिम विहानको नृत्यकर्मजस्तै बनिसकेको छ ।

दैनिक २ घण्टा जिममा बिताउने उनी विहान १० देखि १२ बजेसम्म कसरत गर्छन् । ‘बाँकी समय म आफ्ना कामहरुमा व्यस्त हुन्छु । जिम भित्र धेरै खाले खेलकुद पर्छन्,’ विशाल थप्छन्, ‘कतिपय अवस्थामा म लिफ्ट उपयोग नगरेर सिँढी भ¥याङ चढने गर्छु ।’ नियमित जिम र ब्यायामको तालमेलले नै ३९ वर्षको उकालोमा हिडिरहँदा पनि उनी उतिकै ताजगी र फिट देखिन्छन् । ‘साना नानी भाइहरुले हत्तपत्त अंकल भन्दैनन्,’ उनी हाँस्दै सुनाउँछन् ‘यो पनि चमत्कारै हो नि होइन र ?’ जिममा नवप्रवेशीहरुलाई उनी जिममात्रै नभएर कार्डियोलगायत सबै शारीरिक गतिविधीहरुमा सक्रिय रहन सुझाव दिन्छन् ।

नर्स अमृता मोक्तान पनि स्वस्थ शरीर बनाउनकै लागि जिम धाउन थालेकी हुन् । अहिले त उनी आफै जिम ट्रेनर पनि हुन् । मोडलसमेत रहेकी उनी हरेक दिन जिम छुटाउदिनन् । भन्छिन्, ‘निश्चित समयको जिम शरीरलाई स्वस्थ राख्नका लागि निकै प्रभावकारी छ ।’

भण्डारी र  मोक्तान सेलिब्रेटी हुन् । तर, सामान्य र कामकाजी पुरुष तथा महिलाहरु आजकल जिम धाइरहेकै हुन्छन् । अहिले युवापुस्तामा फिटनेसको क्रेज देखिन्छन् । शरीर फिट, आकर्षक राख्न होस् वा स्वस्थ रहन धेरैजसोको रोजाइमा जिम पर्छ । मुख्य त शरीरको तौल घटाउन धेरैले जिमलाई रोज्छन् । के साँच्चै जिमले हमीलाई स्वस्थ बनाउन र तौल घटाउन सहयोग पुर्याउछ त ? शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्डियोभास्कुलर सर्जन डा. सन्जीतकुमार शाह जिमले मुटु स्वास्थ्यमा मात्रै नभएर सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँछन् ।

‘व्यायामले हाम्रो मुटुलाई राम्रो गर्छ । मुटुका लागि केही विशेष व्यायामहरु हुन्छन् । कार्डियो एक्ससाइज, कार्डियाक व्यायाम गर्दा राम्रो हुन्छ । कार्डियकमा साइकल चलाउने, ट्रेड मिल, स्टे«चिङ, जगिङ, ब्रिक्स वाक पर्छन् । दौड र तेज हिड्न उत्तम हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले सुरुमा एक महिना सिम्पल कार्डियाक एक्ससाइज गर्ने त्यसपछि क्रमसः वर्क लोड बढाउने गर्नुपर्छ । यसो गर्दा मुटुलाई नराम्रो हुनबाट बचाउन सकिन्छ साथै अरु अंगहरुलाई पनि अप्ठ्यारो पर्दैन् ।’

राष्ट्रिय खेलकुद फिटनेस काउन्सिल प्रमाणित रोयल जिमका प्रशिक्षक सञ्जय थापा शरीरमा जिमले गर्नाले फ्याट कोलेस्ट्रललाई कम गर्ने बताउँछन् । ‘मोटोपन पनि घटाउँछ । जति मसल बढ्यो, त्यति नै मोटोपन कम हुन्छ भन्ने बुझनुपर्छ,’ उनी भन्छन्, ‘अंग्रेजीमा मेटाभोलिक कन्डिसनिङ भन्छन्, यसले कार्डियो भसल हेल्दी बनाउँछ, फोक्सोले सहज काम गर्ने बनाउँछ । यसो हुँदा हाम्रो शरीर स्वास्थ्य हुन्छ । मसल राम्रो हुदै जान्छ भने मोटोपन घट्छ ।’ उमेरअनुसार मानिसको काम गर्ने क्षमता कम हुँदै जाने भएकाले अल्छी लाग्ने हुन्छ तर जिम गर्नाले शरीरलाई सक्रिय बनाई राख्न सहयोग पुर्याउने उनी बताउँछन् ।

जिम गर्दा के कुरामा ध्यान दिने

जिम गर्दा आफ्नो प्रशिक्षकले भनेअनुसार गर्नुपर्छ, अरुको नक्कल गर्नु घातक पनि हुन सक्छ । जिम सुरु गर्दा के—के कुरामा ध्यान दिने ? ‘तपाईंको प्रशिक्षकलाई के—के व्यायाम गर्दा राम्रो होला भन्ने थाहा हुन्छ,’ प्रशिषक थापा भन्छन्, ‘आफैलाई भने कुरा ब्यायामले राम्रो गर्छ वा कुनले राम्रो गर्दैन भन्ने थाहा नहुन सक्छ ।

डा. शाह पनि जिम गर्दा धैर्य, प्रक्रिया, आहार र स्वास्थ्य सबैलाई एकदमै ध्यान दिनु आवश्यक हुने बताउँछन् । ‘स्वस्थ शरीर र आकर्षण शरीर फरक कुरा हुन्,’ उनी थप्छन्, ‘हामी स्वस्थ शरीर निर्माणमा लाग्नुपर्छ ।’

प्रशिक्षक थापाकाअनुसार जिम ८ वर्षदेखि नै सुरु गर्न सकिन्छ । तर बालबालिकाहरुलाई रमाइलोको साथसाथै सामान्य व्यायामहरु जिममा गराइन्छ । जसमा हिडाउने, हातको एक्ससाइजहरु आदि पर्दछन् । खानपानमा भने जिम गर्नेहरुले ध्यान दिनुपर्नेमा डा. शाह र प्रशिक्षक थापा दुवै सहमत छन् । ‘स्वस्थ्य खाना खानुपर्छ । जिम गर्ने व्यक्तिले धुम्रपानको लत छ भने त्यो छोडनु पर्छ,’ थापा भन्छन्, ‘धूम्रपान गरेमा ठूलो खतरा हुन्छ । रक्सी पनि प्रयोग नगरेकै राम्रो ।’

सहरीकरणसँगै विस्तार भइरहेको जिमको सुरुवात नेपालमा सन् १९५३ तिर भएको मानिन्छ । ‘नेपाल ब्यायाम मन्दिर’ले सन् १९८६ मा एक सामाजिक संस्थाको रुपमा मान्यता प्राप्त गरेको थियो । जुन नेपालको पहिलो जिम मानिन्छ । अहिले नेपालमा धेरै जिमहरु संचालमा आइसकेका छन् । नेपाल बडिबिल्डिङ एण्ड फिटनेश एशोसिएसनका उपाध्यक्ष दिनेश राजभण्डारी नेपालमा अनुमानित ७ सय ५० बढी जिम सेन्टरहरु रहेको बताउँछन् । ‘देशभर अनुमानित ७ सय ५० बढी जिम सेन्टरहरु छन्,’ उनी भन्छन्, ‘जसमध्ये काठमाडौंमा मात्रै ३ सय जति सेन्टर रहेको आँकलन हाम्रो छ ।’


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ