२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य मन्त्रालयको खरिद प्रसंग र कोभिड-१९ विरुद्धको लडाइ

स्वास्थ्य मन्त्रालयको खरिद प्रसंग र कोभिड-१९ विरुद्धको लडाइ


कोरोना भाइरस (कोभिड-१९) संक्रमणको खतरापूर्ण अवस्थाको नियन्त्रण र सम्भावित प्रकोपबाट सुरक्षित रहन नेपालले अलिकति ढिलो भएतापनि जसरी सतर्कता अपनायो यो प्रशंसनीय छ । सिमित साधन, स्रोत र स्वास्थ्य क्षेत्रको कमजोर संयन्त्रका बाबजुद पनि संसारका बादशाह मानिने विकसित राष्ट्रहरुले पनि परास्त गर्न नसकेको कोरोनाको महामारीका विरुद्ध नेपाल सरकार र मुख्यगरी प्रधानमन्त्री बढी गम्भीरतापूर्वक लाग्नु भएको छ ।

कोरोना संक्रमणले चीनलगायतका ठूला राष्ट्रहरुलाई हानिरहेको बेला भर्खरैमात्र आफ्नो दोस्रोपटक मिर्गौला ट्रान्सप्लान्ट गरेर विस्तरामै सुत्ने बिरामी अहिले तीन करोड नेपाली जनताको सुरक्षाका लागि चिन्तित हुँदै १८ घन्टा सक्रिय छन् । रातको ६ घण्टामात्र आराम होला निन्द्रामा ? नेपालमा विश्वभरी फैलिएको यो संक्रमणको भयावह अवस्थाबाट जोगिन सक्छौं भनेर पूरा समर्पित भावले लागि परिरहेको एउटा बिरामीको भावनालाई हेर्दा हामीलाइ गर्व लाग्छ । यो कुरा मैले उहाँको अति प्रशंसक र भक्तिभाव गर्ने शैलीबाट ब्यक्त गरेको होइन् । सायद उहाँले मलाई चिन्न पनि चिन्नुहुन्न ।

तर, अति दुःखको विषय यो बेलामा पनि पधेंरामा जमेर कुरा काट्ने, सिन्को नभाँच्ने कमचोर कतिपय पार्टीका नेता, कतिपय मन्त्रीहरू र हुँदा भनाउँदा नेपालका धनी धनाढ्यहरु कानमा तेल हालेर रमिते बनिरहेका छन् । सत्तापक्षका नेतागण र पार्टीको ठूलो हिस्सा वेकम्मा भएर कडा क्वारेन्टाइनमा सुतिरहेका छन् । यिनीहरुले गर्ने न्यूनतम काम भनेको विस्तराबाट मिडियाकर्मीसँग थुतुनो जोडेर सरकारले गरेका काम र कमजोरीहरुको आलोचना गर्ने मात्र हो ? कसैलाई राजनैतिक संयन्त्र बनाउन पर्ला ? कसैलाई कमजोरी देखाएर पद हत्याउने अवसर चाहिएला ? उमेर डाडा काटिसकेकाले यसरी कहिल्यै राष्ट्र र जनताको हित हुन सक्दैन् भन्ने कुरा कहिले बुझने ? आफू पदमा हुँदा पनि खासै के चमत्कार ग¥या हो र ? यो विपदको बेला यत्रो पार्टी र पार्टीका नेताहरुले आफ्नो खालको सक्रियता, संकट समाधानको उपाय, विचारहरु र कार्यक्रम प्रस्तुत गरेर सरकार र स्वयं प्रधानमन्त्रीलाई सघाउने कि बेड्बाट फाल्तु कुरा फत्फताएर सरकारले जसोतसो गर्न लागेको कामप्रति खाली वितृष्णा मात्र फैलाउने ?

सिंगो केन्द्रीय पार्टी र शीर्ष नेतादेखि कार्यकर्ता पंक्ति सरकारको अघिपछि रहेर काममा सहयोगी बन्ने, सामूहिक रुपमा योजना बनाउने, पार्टीको बैठक डाँक्ने, टाढाटाढै बसेर विचार विमर्श गर्ने गर्दा कसैको ज्यान गइहाल्नेवाला छैन । संक्रमित स्रोतमा बढी गम्भीर हुने, सुरक्षित रहने हो । हाम्रा डाक्टर र स्वास्थ्यकर्मी ज्यानको बाजी लगाएर संक्रमित बिरामीको र सम्भावित संक्रमितको उपचार गर्न होमिएका छन् । राज्यका कार्यकारिणी र नेताहरुमात्र सुरक्षित हुनुपर्ने ? सुरक्षाको सामाग्री प्रयोग गरेर अन्य राहत र उद्धारको सेवामा लाग्नु पनि चिकित्सकको जस्तै भूमिका हुन्छ । सत्तासीन पार्टीका नेता, सिंगो पार्टी र विपक्षी पार्टीको पनि कोरोनाको विपत्ती सामना गर्ने कार्यमा लाग्ने र सरकारलाई सहयोग पु¥याउने भूमिका त्यति प्रभावकारिता देखिएको छैन । बरु, नकारात्मक आलोचना प्रभावकारी रुपमा उठाउन खप्पिस देखिन्छन् । सरकारका सदाबहार विरोधीहरु त ‘के खाम कनिका बुकाम’ भनी रहेकै हुन्छन् । यसको त बढी चर्चा गर्नु आवश्यक छैन ।

अर्कोतिर सरकार पनि नियतवस नभएपनि काम गर्ने शैली र सहकार्य जुटाउने कुरामा चुकेको छ । स्वास्थ्य मन्त्रालयले किन आर्थिक क्रियाकलापमा दोष आउने गरी काम गर्नुपथ्र्यो ? नियम संगत गर्न सकिदैन्थ्यो र ? खरिद प्रणालीका आफ्नै प्रक्रिया छन् । आपत विपतको बेला खरिद ब्यवस्थापन गर्न विशेष व्यवस्था गर्न एकै रातमा पनि सकिन्छ । यस्तो बेला सामानको संकट थियो । तर, नभै पनि भएन र केही तत्काल काम चलाउको लागि महंगोमै पाउँदा पनि खरिद गर्नुपर्ने बाध्यता रहन्छ । किनकी उपचारमा ढिलो हुनु पनि गम्भीर प्रश्न थियो । त्यस्तो अवस्थामा कुनै अमूक कम्पनीसँग स्थायी एग्रीमेन्ट गरिकन कुनै निकायको हाकिमले एकल रुपमा सामान आयात गर्ने बन्दोबस्त गर्नु उचित थिएन । त्यसो गर्दा सस्तो सुलभ दरमा पाउन सक्ने अवसर बन्द हुन्थ्यो । यो तरिका गलत हो । मन्त्रालय यस्तो विपद्का बेला उचित समाधान दिने गरी खरिद समिति बनाएर फास्ट ट्रयाकमा खरिद प्रस्ताव तयार गरेर ठूलो भोलुमको हकमा मन्त्रिपरिषद्को राय वा निर्णयमा खरिद गर्न सक्थ्यो । सबै मेडिकल सप्लायर्सलाई छलफलमा बोलाउने र दरभाउ बुझेर जिम्मेवारी दिन र सरकार आफै आयात गर्न अगाडि बढ्न सक्दथ्यो ? सस्तो दरमा पाउँदा पाउँदै महंगो दरमा खरिद गर्नु भ्रष्टाचार नभएपनि देशको लागि नोक्सानी त हो ।

जे होस सम्झौता रद्ध त ग¥यो । फेरि, दोस्रो गल्ती सेनालाई जिम्मेवारी दिइराखेको छ । त्यो त झन मिल्दो कुरा होइन । त्यत्रो सरकारको अंग स्वास्थ्य मन्त्रालयले पीपीई खरिद गर्न सक्दैन् ? नेपालमा कति मेडिकल सप्लायर्स छन् । प्रतिस्पर्धा वा बाँडेर जिम्मेवारी दिनु पर्दैन ? धेरैजसो विदेशी सप्लायर्सहरु र उत्पादक कम्पनी सरकारको झन्झटिलो प्रक्रियामा जाने चाहना राख्दैनन् । निजी क्षेत्रलाई सजिलै उपलब्ध गराउँछन् । इमानदार ब्यापारी र सप्लायर्सलाई विधिपूर्वक आयातमा सहज गराएर उचित नाफा दिएर काम गर्दा र त्यो पनि प्रतिस्पर्धा गराएर लिँदा खरिद प्रक्रिया सहज बनाउन सकिन्छ । जो जहाँ अनुभवी र सक्षम छन्, तत स्थानबाट काम गर्नु उचित हुन्छ भन्ने कुरा खै मन्त्रालयले बुझेको ? नजानी–नजानी आफै भान्से बनेर हुने भए किन कुक चाहिन्थ्यो ? सरकारका मान्छेहरूले नै उपचार गर्न लाग्ने हो भने किन चिकित्सक र स्वास्थ्यकर्मीको आवस्यकता पर्छ ? अब सेनालाई दिएर उसले जतिमा ल्याए पनि स्वीकार्नु ? अनि न स्वीकारेर फेरि सेनालाई अप्ठ्यारोमा पार्नु ? यो पनि सोह्रै आना मिलेन । हतारमा किन नहोस्, सही तरिकाले काम गर्न नजान्दा नियत राम्रो भएपनि अपजस बेहोर्नु पर्छ । यथार्थमा यही भएको हो जस्तो लाग्छ ।

यद्यपि, यस्तो अवस्थामा भ्रष्टाचार नै भैहाल्यो भनेर हचुवामा मन्त्री र इमान्दार पधाधिकारीको बदनाम गर्नु राम्रो कुरा होइन । प्रमाणको आधार पुष्टी नभै बोल्नु अराजक प्रवृत्ति हो । सिनो खाने चिलको ध्यान, ताजा मासुतिर जाँदैन सिनोतिर जान्छ भनेजस्तै सरकारको विरुद्धमा नियतबस सधैं नकारात्मक रुपमा उत्रिरहने प्रवृत्ति बढी छ । शत्रु मित्रु, चोर साधु नछुट्टयाई भुक्ने लखेट्ने कुकुरको एउटै धर्म हुन्छ, जो आएपनि भुक्ने । यस्तो प्रवृत्ति राम्रो होइन भन्ने उदाहरण दिन खोजेको मात्र हो । निजी स्वार्थ र भ्रष्टाचारको गन्ध छ भने को दोषी छ पत्ता लगाउन सम्बन्धित निकायलाई अगाडि बढाऊ । हचुवामा जथाभावी आरोपित गर्ने काम नगरौं । काम गर्न सबैलाई गाह्रो हुन्छ । अहिले घरमा बसेर कुरा काट्न निकै सजिलो छ । यो सम्भावित महामारीका बेला स्वास्थ्य सुरक्षाको भूमिकामा बसेको स्वास्थ्य मन्त्रालय र त्यहाँका मन्त्री, पदाधिकारीहरुले भ्रष्टाचार नै गर्ने नियतबस सामान ल्याउने कोसिस गरेका हुन भनेर कसरी भन्ने ? जसरी हुन्छ चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षाको सामान दिनु जटिल चुनौती छदैं थियो । त्यो हिसाबले पनि हुन सक्छ, हतारोको काम लतारो ?

अहिलेको अवस्थासम्म यहाँका धनाढ्य व्यापारीहरुले पनि सरकारको कदममा सहयोग गरेको देखिदैन् । विपदको बेला सहयोग नगर्ने महाधनाढ्यहरुलाई के भन्ने ? अहिले सरकारको कदम, एक्सन र प्रधानमन्त्रीको सक्रियतामा काँधमा काँध मिलाएर कोरोनाजस्तो मानवको महादुश्मनका विरुद्धमा एक भएर लड्ने बेला हो । फट्याइँ राजनीति गर्ने, इगो साँध्ने बेला होइन । आदर्श र सिद्धान्त छाँट्ने बेला होइन् । कर्ममार्फत खतराको भूमरीसँग भिड्ने बेला हो । प्रधानमन्त्री र काम गरिरहेका माथि हिलो छ्याप्ने होइन् । सके बढी नसके उनीहरुले जत्तिको हिम्मत र आँट पालेर काम गर्नुपर्छ । बल्ल भन्न मिल्छ कि हामी यति काम ग¥यौं, तिमीहरु के ग¥यौ ? सबैको उत्तिकै प्रयास र योगदानमा सतर्कतापूर्वक अगाडि बढियो भने मात्र कोरोनारहित नेपाल बनाउन सकिन्छ । आएको कोरोनालाई भगाउन सकिन्छ । अनाहकमा बेमौसमी बाजा नबजाऊ, सरकारलाई भरपूर सहयोग गरौं ।

(लेखक विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.लि.का संचालक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ