२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. मंगल रावल भन्छन्,‘अहिले तेरो मेरो भन्ने बेला होइन’

डा. मंगल रावल भन्छन्,‘अहिले तेरो मेरो भन्ने बेला होइन’


मुलुक अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको लडाइमा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघीय र प्रदेश सरकारले दिएको जिम्मेवारी मध्यनजर गर्दै जुम्लालगायत सो क्षेत्रका सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी कोरोना रोकथाम तथा नियन्त्रण अभियान तीब्रताका साथ अगाडि बढाएको छ । घर–घरमा गएर विदेशबाट आउने व्यक्तिहरुको लागत लिनेदेखि स्वाव संकलनको काम गरिरहेको छ । कर्णाली प्रदेशकै सबैभन्दा धेरै विज्ञ रहेको शैक्षिक स्वास्थ्य संस्था भएको आधारमा जिम्मेवारी पनि सोही प्रतिष्ठानमा हुनु स्वभाविक नै हो । कर्णाली क्षेत्रको तयारीका विषयमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलसँग हेल्थ आवाजका जुम्ला सम्वाददाता मानदत्त रावलले गरेको कुराकानीः

यस प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य शैक्षिक प्रतिष्ठानले कोभिड–१९ रोकथामका लागि के गरिरहेको छ ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम नेपालकै ठूलो दक्ष जनशक्ति र सुविधासम्पन्न एक स्वास्थ्य संस्था हो । प्रतिष्ठानले कोरोना भाइरस (कोभिड–१९) का विषयमा ४५ दिन अगाडि नै कोभिड टाक्स ग्रुप गठन गरेको थियो । प्रतिष्ठानले आफ्ना सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई बिदा बस्न नदिने निर्णय गरेको थियो । जतिबेला चीनको बुहान प्रान्तमा मात्र कोरोना भाइरस फैलिएको थियो । त्यो टाक्स ग्रुपले प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सम्बन्धी अभिमुखीकरण गर्ने, सचेतीकरण गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
त्यसलगतै प्रतिष्ठानले डा. धिरज गुरुङको नेतृत्वमा ८ सदस्यीय (आरआरटी) ¥यापिट रेस्पोन्स टिम बनायो । जसले जुम्लाका सीमा क्षेत्रहरुमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी हेल्थ डेस्क स्थापना गर्ने काम ग¥यो । प्रहरी प्रशासन, जनस्वास्थ्य सेवा कार्यालय र अन्य स्थानीय तहसँग समन्वय सहकार्य गरी जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको हो । गत १० चैतदेखि नाग्म हेल्थ डेस्कमा २४ सै घण्ठा प्रतिष्ठानले स्वास्थ्यकर्मी परिचान गरी साढे ३२ सय जना नागरिकको स्क्रिनिङ गरेको हो । स्वास्थ्यकर्मीलाई दुई महिने कोरोना डियुटी रोस्टर बनाएर परिचालन गरिएको छ ।

प्रतिष्ठानले तयार गरेको १ सय २० बेडको आइसोलेसनमा पुनः ८० बेड थपेर दुई सय बेडको आइसोलेसन तयार गरेको छ । आइसोलेसन बेड पनि ब्लूु, ग्रीन र रेड जोन बनाएर विभाजन गरेका छौं । बिरामीको अवस्थाअनुसार विभिन्न जोनमा राखेर सोहीअनुसारको उपचार गर्ने प्रतिष्ठानले तयारी गरेको हो । ६ बेडको बच्चा राख्ने आईसीयुसहित अहिले प्रतिष्ठानमा १६ वेडको आईसीयु रहेको छ भने ९ बेडको भेण्टिलेटर रहेको छ । कोरोना विशेष अस्पताल बनेर फरक प्रवेशद्धार बनाए प्रयोगमा ल्याएको छ । विशेषज्ञ डाक्टर खटाएर साढे एक महिनादेखि कोरोना विशेष छुट्टै एउटा क्लिनिक स्थापना गरी ज्वरो नाप्ने र आवश्यक सल्लाह, सुझाव र सचेतीकरण गर्ने गरेको छ ।

साधन स्रोत, जनशक्ति र सुरक्षित स्वास्थ्य सामाग्रीको अवस्था के छ ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय स्तरमै प्लाष्टिकको दुई सय थान पीपीई बनाएर प्रयोगमा ल्याएको हो । सुरक्षा सामाग्री छैन भनेर प्रतिष्ठानका स्वास्थ्यकर्मी त्यसै बसेनन् । कसरी आफूलाई सुरक्षित बनाएर काम गर्न सकिन्छ भनेर आफै स्यानिटाइजर, पीपीई बनाएर भएपनि काम गर्न लागि परे । ६० जना विशेषज्ञ डाक्टर, १५ जना नर्सिङ अफिसर, ७५ जना नर्सिङ स्टाफ, अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन सय बढीको जनशक्ति रहेको छ । आईसीयु विज्ञ डा. प्रवीणकुमार गिरी हुनुहुन्छ । उहाँलाई आईसीयूका विषयमा धेरै ज्ञान छ । प्रतिष्ठानमा आवश्यक उपकरण सिटिस्क्यान बीएसएल थ्री प्रयोगशाला रहेको छ । अर्काे कोरोना परीक्षण आरटी पिसिआर उपकरण प्रतिष्ठानले प्रयोगमा ल्याउने तयारी भएको छ । हप्ता दिनभित्र त्यो उपकरण आउँछ होला । अब प्रतिष्ठानले अन्य ठाउँमा जानु पर्दैन र पाठाउनु पर्दैैन होला ।

पिसिआर उपकरणमा काम गरेको जनशक्ति हामीसँग छ । बीएसएल प्रयोगशालाले ठूलो पिसिआर उपकरणलाई सञ्चालन गर्न सपोर्ट गर्दछ । केही दिनपछि कोरोना परीक्षण अब प्रतिष्ठानमै हुनेछ । एक घण्टामा ९० जनाको कोरोना परीक्षण गर्न सक्ने ठूलो क्षमताको उपकरण ल्याउने तयारी भएको छ । कोरोना टेष्टिङ वुथ (भित्र डाक्टर बसेर स्वाब लिने) त्यो पनि प्रतिष्ठानले आफै बनाउदैंछ । त्यसको काम अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानलाई संघीय सरकारबाट अहिलेसम्म ५० थान पीपीईबाहेक अरु सहयोग भएको छैन । तर, हजारौंको थानमा पीपीई चाहिने हो । कोरोना परीक्षण किट (आरडिटी) अहिलेसम्म आएको छैन । माग गरेका छौं, सायद २/३ दिनमा आउला । प्रतिष्ठानले कर्णाली प्रदेशका १० वटै जिल्लामा विशेषज्ञ डाक्टरसहित टोली परिचालन गर्ने कार्ययोजना बनाउँदैछ । यसअघि चीनको हिल्सा नाका, हुम्लाको यल्वाङग्मा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी परिचालन गरेको छ भने कालिकोटको रासकोट अस्पतालमा, रुकुम पश्चिम, दैलेखको राकम कर्णाली, कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य कस्तो रहेको छ ?
प्रतिष्ठानले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालयलगायत अन्य स्थानीय तहसँग समन्वय र सहकार्य गरी काम गर्दै आएको छ । समन्वय र सहकार्यकै कारणले संघीय सरकारभन्दा एक दिन अगावै १० चैतमा नै जुम्ला जिल्लालाई लकडाउन गर्न सफल भएको थियौं । लकडाउन पूर्णरुपमा कार्यन्वयन गर्नका लागि प्रहरी प्रशासनले ठूलो भूमिका खेल्दै आएको छ । यसमा सबै नागरिकले साथ सहयोगको आवश्यक रहेको छ । हरेक नागरिकले राज्यका नीति नियम पालना गर्न सकेको खण्डमा कोरोना भाइरसलाई रोकथाम नियन्त्रण सहज हुन्छ ।

यतिबेला संघीय सरकार स्वास्थ्य मन्त्रालयका सचिव, कर्णाली प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, कानुनमन्त्री, स्वास्थ्य निर्देशनालयसँग नियमित सम्पर्कमा छौं । उहाँले आवश्यक सहयोग समर्थन गर्ने भन्दै आउनु भएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारीबाट पनि राम्रो समन्वय पाएका छौं । हेल्थ डेस्क स्थापना गरेका ठाउँमा सुरक्षा टोली परिचालन गर्नेदेखि अन्य सरोकारवाला निकायसँग समन्वय, सहकार्य र व्यवस्थापनमा राम्रो भएकाले हामी पनि फिल्डमा काम गर्न सहज भएको छ । यसरी काम गर्ने हो भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सकिने सम्भावना हुन्छ । प्रशासन र स्थानीय तहको समन्वयमा नै जुम्लाबाट एक दिनमै मेडिकल घुम्ती टोलीले ३ सय २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाउन सफल भयौ । अहिलेसम्म यहाँबाट पठाएका स्वाबको नतिजा पोजेटिभ आएको छैन ।

अहिलेसम्मको कार्य अनुभव कस्तो रह्यो । अब के गनुपर्छ ?
कोरोना भाइरसको उपचार गर्ने अहिलेसम्म औषधि नै बनेको छैन । यसलाई रोकथाम र नियन्त्रण गर्नु नै हो । रोकथाम नियन्त्रण गर्नका लागि पहिलो उपाय भनेको लकडाउन (बन्दाबन्दी) नै हो । लकडाउन अझै लम्ब्याउन आवश्यक छ । राज्यले निर्देशित गरेको नीति नियम, लकडाउनलाई आम नागरिकले पालना गर्नुपर्छ । जसले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहज हुन्छ । भौतिक, व्यक्तिगत दुरी कायम गर्ने, खोक्दा टिसीयु, कुहिनाले छोप्ने र भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ । फोहोर वस्तु छुदा, शौचालय प्रयोग गर्दा सावुन पानीले हात धुनु पर्दछ ।

आपतको समयमा त सरकारी स्वास्थ्य संस्था र सरकारी संयन्त्रको नै महत्वपूर्ण भूमिका हुनेरहेछ हैन र ?
यस विषयमा कुन व्यक्ति वा स्वास्थ्य संस्था सामाजिक उत्तरदायी छ छैन भन्ने नै हो । सामाजिक उत्तरदायित्व भएको व्यक्ति, संस्था सधै बिरामी वा विपत आइपर्दा खुलेर काम गर्नु गर्दछ । राज्यले सामाजिक जिम्मेवारी र सामाजिक काममा विमुख हुने संस्थालाई कारवाही गर्न सक्नुपर्दछ । र काम गर्ने निजी स्वास्थ्य संस्था तथा अस्पताललाई सँगसँगै लिएर काम पनि गर्न सक्नुपर्दछ । निजी अस्पतालमा काम गर्ने धेरै डाक्टरहरु सामाजिक सेवाप्रति उत्तरदायी हुन चाहन्छन् तर व्यवस्थापनले नमान्दा पनि यस्ता समस्या हुने गर्दछन् । निजी अस्पताल राज्यले नै अनुमति दिएर खुलेका हुन् । विपतमा सहयोग नगर्ने संस्थालाई राज्यले नै नियमन गर्न सक्नु पर्दछ ।

कोरोना महामारीबाट हामीले अहिलेसम्म सिकेको कुरा के हो ?
कोरोनाले विश्वलाई नै एकजुट हुन पाठ सिकाएको छ । अहिले यतिबेला तेरो मेरो भन्ने बेला होइन । सबै एकजुट र एक ढिक्का भएर कोरोना भाइरस विरुद्धको लडाइ रोकथाम नियन्त्रण गर्नुको विकल्प छैन । विशेषगरी सरुवा रोगका विषयमा नेपालीलाई मात्र होइन विश्वलाई नै सिकाइ भएको छ । एक व्यक्तिबाट अर्काे कसरी सुरक्षित हुने भने कुरालाई कोरोना भाइरसले प्रष्ट सिकाएको छ । विपतमा यो र त्यो भन्ने नहुँदो रहेछ । सत्तापक्ष र विपक्ष भन्ने छैन । हामी सबैलाई एकजुट भएर काम गर्न सिकाएको छ । मान्छेमा अहिले यो पार्टी र त्यो पार्टी भन्ने अनुभूति छैन । एकतामा बल हुँदो रहेछ । अहिले प्रत्येक व्यक्ति सरकार हो । हामी सबैले आफ्नो जिम्मेवारी कर्तव्य बहन गर्नु पर्दछ ।

अन्त्यमा कोरोना भाइरसबाट बच्न के सन्देश दिन आवश्यक छ ?
हरेक व्यक्तिले राज्यका नीति नियम पालना गर्ने, लकडाउनको पालना गरी घरभित्रै बस्ने । एकले अर्काेलाई सहयोगको भावना विकास गर्ने । सरसफाई गर्ने, सावुन पानीले हात धुने, व्यक्तिगत दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने कुरा सबैले पालना गर्न सकेको खण्डमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ