२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना र भ्याक्सिन

कोरोना र भ्याक्सिन


१. कोरोना, कोभिड–१९ र यसको असर तथा परिक्षण

‘कोरोना’ भाइरस को बाहिरी सतहमा एक प्रकारको प्रोटीनले बनेको Crown (ल्याटिन भाषामा Corona भनिन्छ) जस्तो देखिने भएकोले भएकोले वैज्ञानिकहरूले यस प्रकारका सबै भाइरसलाई ‘कोरोना भाइरस’ भनेर नाम दिएका हुन ।

‘कोरोना’ भाइरस अति शक्तिशाली माइक्रोस्कोपबाट हेर्दा श्रीपेचजस्तै देखिने हुनाले यसको नाम ‘कोरोना भाइरस’ हुन गएको हो । यो भाइरसमा आरएनएले आफ्नो बम्साणुगत गुण बोक्ने भएकोले यसलाई आरएनए भाइरस पनि भनिन्छ । यो भाइरस ईशापूर्व ८,००० बर्ष अगाडि उत्पति भएको हो भन्ने कुरा धेरै वैज्ञानिकहरु मान्दछन । तर केहि वैज्ञानिकहरु यो भाइरस ५५० लाख वर्ष अगाडि उत्पति भएको ठान्दछन । धेरै वैज्ञानिकहरु चमेरा र यो भाइरसको सँगसँगै सह–विकास भएको हो भन्ने कुरा विश्वास गर्दछन । सन् १९६२ देखि १९६९ सम्मका प्रकाशित कृतिहरुमा यो भाइरस सुरुमा मानिसहरुमा पाइएको जनाएको थियो । कोरोनाभाइरस समूहका भाइरसहरुलाई कोरोना भाइराइडी परिवारमा वर्गीकरण गरिएको छ । यिनीहरुलाई अल्फा, बीटा, गामा र डेल्टा गरी ४ वटा जातिहरुमा राखिएको छ ।

यीमध्ये अल्फा कोरोना भाइरसका २ प्रजातीहरु (२२९ ई र एनएल ६३) मानिसहरुमा र १ प्रजाती चमेरामा पाइन्छन् । त्यसैगरी बीटा कोरोना भाइरसअन्तर्गत १ थरि चमेरामा लाग्ने, १ थरि मूसामा लाग्ने, १ थरि गाईको बाच्छोमा आक्रमण गर्ने र ५ थरि मान्छेमा आक्रमण गर्ने गरी जम्मा ७ प्रकारका हुन्छन् । मान्छेमा रोग लगाउने यी पाँच थरिहरु ओसीयू ४३, यचकेयू १, सार्स, मेर्स, र कोभिड–१९ हुन् । त्यसैगरी गामा कोरोना भाइरसले कुखुराहरुमा ब्रोङ्काइटिस रोग लगाउँछन् । डेल्टा कोरोना भाइरसले सुँगुरहरुलाई आक्रमण गर्दछन् ।

मानिसहरुमा डरलाग्दो गतिले फैलिएको हिसाबमा माथिका कोरोना भाइरसहरुमध्ये सार्स, मेर्स, र कोभिड–१९ प्रमुख छन् । चीनबाट सार्स सन् २००२ देखि २००४ सम्म र साउदी अरबबाट मेर्स २०१२, २०१५ र २०१८ मा फैलिएको थियो । चमेराको सार्सजस्तै कोरोना भाइरसको वंशाणुगत गुणसँग ८६.५ गुण मिल्ने भाइरस भएको र मान्छेमा पाइने सार्स र मेर्स कोरोना भाइरसस्ँग नमिल्ने भाइरस भएकोले मान्छेमा पाइने यो नयाँ भाइरसका वैज्ञानिक नामाकरण SARS-CoV-2 र यो भाइरसको कारणले उत्पन्न हुने रोगलाई COVID-19 (CO=Corona, VI=Virus, D=Disease 19=Discovered in 2019) वा कोभिड–१९ भनिएको हो । त्यसैगरी अगस्त २०१७ देखि जनवरी २०१८ सम्म, मेदेखि जुलाई २०१८ सम्म अवैध तरिकाले ल्याइएको सालकहरुलाई सरकारले समातेकोमा उक्त सालकहरुका विभिन्न अंग तथा तन्तुहरु जस्तै फोक्सो, आन्द्रा र रगत फ्रिजमा जोगाएर राखिएको र पछि अध्ययन गर्दा तिनीहरुमा पनि SARS-CoV-2] को वंशाणुगत गुणसँग ८५.५ देखि ९२.५ सम्म ठ्याक्कै मिलेको पाइएपछि चिनियाँ अनुसन्धानकर्ताहरुले सालक पनि एउटा महत्वपूर्ण जनावर हो र मान्छे नभएमा चमेरा र सालक पनि यो भाइरसको जीवनचक्रको लागि भरपर्दो सजीव प्राणी वा शिकार हुन् भन्ने भन्ने कुरा पत्ता लागेको हो ।

यो भाइरस रुप परिवर्तन गर्ने खालको हुन्छ । यो गोलाकार र यसको आकार करिव ६० देखि १४० नेनोमीटर ब्यासको हुन्छ । सौर्य कोरोना अर्थात सुर्यको वरिपरिको घुमाउरो र उज्यालो रुपजस्तै यो भाइरसमा हुन्छ । यो भाइरसको बाहिरपट्टी चिल्लो पदार्थ र प्रोटिनले बनेको झिल्ली हुन्छ । उक्त झिल्लीबाट काँडा जसरी निक्लिएका इस्पाइक प्रोटिनहरु हुन्छन, इस्पाइकहरु करिव ९ देखि १२ नेनोमिटर आकारका हुन्छन् । अत त्यस झिल्लीमा सानो प्रोटिन यम १, ठूलो प्रोटिन यम २, झिल्ली प्रोटिन गरी ४ थरि प्रोटिनहरु हुन्छन् । त्यसैगरी भाइरसको केन्द्रमा न्यूक्लिओप्रोटिन र आरएनए हुन्छन् । एउटा मात्र त्यान्द्रा भएको यो भाइरसको आरएनएले मानव शरीरको कोषभित्र छिरेर आफ्नो प्रोटिन बनाउन र आफ्नो सन्तती उत्पादन गर्न सक्दछ ।

जव भाइरससँग हामी नजिक हुन्छौं तव यो भाइरसले आफ्नो स्पाइकको सहायताले कोषमा छिर्दछ । यस बेला स्पाइकले मानव शरीरमा हुने फोक्सो, मुटु, रक्तनली र मिर्गौलाका कोषहरुको बाहिरी झिल्लीमा रहेको एस–२, अर्थात एन्जियोटेन्सिन बदल्ने इञ्जाइमसँग टाँसिन सक्छ । जव स्पाइक र एस–२ को मिलन हुन्छ, कोष भित्र सिराइन प्रोटिएज भन्ने इञ्जाइमको क्रियाको कारणले कोषले उक्त भाइरसलाई निल्दछ । यसरी निलिएको भाइरस कोषभित्रको लाइजोजोम (आत्मघाती भ्याकुल) मा पुग्दछ । त्यहाँबाट भाइरसको कोषभित्र नै आफ्नो नयाँ आरएनए बनाउने र प्रोटिन बनाउने यात्रा सुरु हुन्छ । कोषभित्र नै भाइरसले सन्तती उत्पादन गर्दछ र उक्त कोषबाट बाहिर निक्लेर अरु कोषहरुमा यही तरिकाले संक्रमण गर्दछ ।

यसरी शरीरको कोषमा भाइरस छिर्ने प्रक्रियाले के देखाउँछ भने जुन–जुन अंगहरुमा एस–२ अणुहरु हुन्छन्, ती–ती अंगहरुमा भाइरस तुरुन्त छिर्न सक्दछ । उदाहरणको लागि यो एस–२ अणुहरु जिब्रो, आन्द्रा, पित्तथैली, मुटु, मिर्गौला, स्तन, ओभ्यारी, फोक्सोमा रहेका कोषको बाहिरपट्टी रहने कोषझिल्लीमा बल्छी रहे जसरी नै रहन्छन् । जब भाइरसहरु कुनै माध्यमबाट यी अंगहरु मा पुग्दछन् तब कोषको एस–२ अणुहरुले भाइरसको स्पाइक प्रोटिनलाई समाउँछ । त्यसैले गर्दा एस–२ पाइने अंगहरु दीर्घरोग बाट ग्रस्त छन् भने भाइरसले तुरुन्त उक्त अंगहरुलाई आक्रमण गर्दछ र यो बेलामा मान्छेको ज्यान जान्छ । मुख्यतयाः यो भाइरसले श्वासप्रश्वास प्राणालीमा आक्रमण गर्ने भएकोले फोक्सोमा संक्रमण हुन गई बिरामीको मृत्यू हुन्छ । तर पनि अरु कोरोना भाइरसहरु दिमागभित्र पनि जान सक्ने हुनाले पक्कै पनि SARS-CoV-2 पनि दिमागमा गएर धेरै अंगहरु फेल गर्न सक्छन् भन्ने परिकल्पना गरिएको छ र यो सम्बन्धी अध्ययन र अनुसन्धान भैरहेको छ ।

यो भाइरस खकार र सिंगानबाट वा रोगीको नजिकै बस्दा श्वासप्रश्वासबाट सर्दछ । भाइरस वातावरणमा विभिन्न समयसम्म बाँच्ने हुनाले पनि बिरामीले प्रयोग गरेको कोठा, कोठाको भित्ता, खाट, दराज, कुर्ची, सिरक, डसना, तन्ना, लुगा र अन्य बिरामीको संसर्गमा आएकाहरुमा भाइरस रहन सक्छन् । यसको साथै बाहिरबाट घरभित्र आउँदा चप्पल, जुत्ता र कपडाहरुमा पनि भाइरस टाँस्सिने सम्भावना निक्कै हुन्छ । केही बिरामीहरुको रगत परिक्षण गर्दा आरएनए देखिएको छ । रगतमा भाइरसको आरएनए देखिनु र पुरै भाइरस देखिनु फरक कुराहरु हुन् । खाद्य तथा औषधि प्रशासन अमेरिकाले रगत तथा अंग लेनदेन गर्दा यो भाइरस नसर्ने जनाएको छ । तर, पनि रगत लिंदा र दिंदा सैद्धान्तिक रुपमा भाइरस सर्ने सम्भावना हुन सक्ने चिनियाँ वैज्ञानिकहरु बताउँछन् । तापक्रम र भाइरसबीचको नकारात्मक सम्बन्ध हुने ठानेर केही नेपाली चिकित्सकहरुले गर्मी लागेपछि यो भाइरस मर्छ र आत्तिनु पर्दैन भनेर पनि भनेका छन । तर, यो अत्यन्तै असान्दर्भिक र अवैज्ञानिक कुरा हो ।

अहिलेसम्मको अनुसन्धानले के देखाएको छ भने कोभिड–१९ लागेको बिरामीमा दुई प्रकारका एण्टीबडी शरीरले निकाल्दछ । कोभिड–१९ को लक्षण सुरु भएको ३ देखि ७ दिनपछि मात्र यो रोग बिरुद्ध ‘बी’ कोषहरुले ‘यम’ एण्टीबडी बनाउँदछन् । यो प्रकारको एण्टीबडी ३०–३२ दिनसम्म रहिरहन्छ । त्यस्तै ५–७ दिन भित्रमा ‘जी’ प्रकारको एण्टीबडी बन्दछ, जसको उच्च मात्रा करिव २१ देखि ४२ दिनसम्म रहन्छ । बिरामी सन्चो भएमा ‘जी’ एण्टीबडी रगतमा रहिरहन्छ । अर्कोपटक उही बिरामी यो भाइरसबाट संक्रमण भएमा करिब १ दिनदेखि १८ दिनसम्म मात्र ‘यम’ एण्टीबडी रहन्छ भने ‘जी’ एण्टीबडीको मात्रा पहिलाको भन्दा रगतमा बढ्दछ । यसैले गर्दा ¥यापिड टेस्ट कीटमा ‘जी’ र ‘यम’ पत्ता लगाउनको लागि भाइरसको एन्टीजेनसँग गोल्ड नेनोकण जोडेर पोतिएको हुन्छ । यदि परिक्षण गरिने रगतमा ‘जी’ वा ‘यम’ एण्टीबडी भएमा सुनको नेनोकणले गर्दा कीटको रंग परिवर्तन भएको देखाउँछ र एण्टीबडी छ भन्ने कुरा प्रमाणित गर्दछ ।

¥यापिड टेस्ट कीटमा धेरै सिमितताहरु छन् । जस्तै कीटले पोजेटीभ देखाउने बित्तिकै यो कोभिड–१९ भन्न सकिँदैन् । किनकी मान्छेको शरीरमा भैरहने अन्य कोरोना भाइरस भएमा पनि यो टेस्ट पोजिटीभ हुन्छ । त्यस्तै एण्टीबडी सम्बन्धि भित्रभित्रै रोग भएका मानिसहरुमा पनि यो टेस्टले अर्कै परिणाम दिन सक्छ । यस्ता कीटहरुले हुँदै नभएको भाइरस पनि पोजेटीभ देखाउन सक्ने वा ‘फल्स पोजेटीभ’ हुने र भएको भाइरसलाई पनि देखाउन नसक्ने भएको वा ‘फल्स नेगेटिभ’ हुन सक्छ । यसको पत्ता लगाउने क्षमता कम्पनी अनुसारको हुन्छ । अतः ¥यापिड परिक्षण र पीसीआर दुवै परिक्षण गरेर मात्र शरीर मा कोभिड–१९ भए–नभएको प्रमाणित गर्न सकिन्छ । यदि तथ्यलाई सामान्यीकरण गरेर हेर्ने हो भने कीट र पिसिआर दुवैमा नेगेटिभ देखिएमा शरीरमा कुनै भाइरस छैन । दुवैमा पोजेटिभ भएमा शरीरमा भाइरस छ, कीटमा पोजेटिभ र पीसीआरमा नेगेटिभ भएमा उक्त व्यक्तिमा भाइरस कुनै बेला थियो, अहिले उसको शरीरले भाइरस विरुद्ध एण्टीबडी बनायो । तर, यो बिचमा उसले अरुलाई सारेको हुन सक्छ कि भनेर उसको परिवार, छिमेकी र उसँग संसर्गमा आएका व्यक्तिहरुको ¥र्यािपड टेस्ट गर्न सकिन्छ । यदि कीटमा नेगेटिभ र पिसिआरमा पोजिटिभ देखिएमा उक्त व्यक्तिमा भाइरस छिरेको छ, रोग प्रतिरोधात्मक शक्ति बनेको छैन । तर, अरुलाई सार्न सक्छ भन्ने कुरा बुझिन्छ ।

भौगोलिक, आर्थिक र अन्य कारणहरुले अहिले भर्खर नै सबैको पीसीआर गर्न राज्यले सक्दैन । यो कुरालाई सबैले मान्नै पर्छ । कुनै ठाउँमा कति मान्छेहरु पहिले नै कोरोना पोजेटीभ थिए वा कति हुँदैछन भन्ने कुरा थाहा पाउनको लागि र छिटो छरितोको लागि पाइलट सर्भे गर्न यो कीटको प्रयोग गर्नु नेपालमा ब्यवहारिक छ । साथै एण्टीबडी देखिनु भनेको नराम्रो कुरा पनि होइन किनकि यो एण्टीबडी शरीरमा देखिएमा बिरामीलाई कमसेकम अब शरीरले रोग प्रतिरोधात्मक शक्ति प्राप्त गरिरहेको वा गरेको भन्ने कुरामा निश्चिन्त बनाउन सकिन्छ ।

२. कोभिड–१९ भ्याक्सिनको निर्माण

कोभिड–१९ नियन्त्रणको लागि औषधिहरुको पनि अनुसन्धान भैरहेको छ । एक वैज्ञानिकको नाताले म केमा विश्वास गर्दछु भने यो संसारमा जतिपनि रोगहरु छन, तिनीहरु सबै प्रकृतिमा पहिले नै सुषुप्त छन । र, तिनीहरुको उपचार पनि यो प्रकृतिमा नै रहेको छ । तिनीहरुको पहिचान गर्न सक्नु नै विज्ञान हो । यसै सम्बन्धमा कतिपय प्राकृतिक चिकित्साशास्त्री तथा वनस्पतिशास्त्रीहरु विभिन्न जडिबुटी जस्तै लसुन, नीम, मह, बेसार, गुडुची आदिहरुको सेवनले भाइरस मर्ने परिकल्पना गर्दछन् । तर, यो कुराको कुनै वैज्ञानिक प्रमाण नै छैन । कुनै पनि विरुवामा भाइरस मार्ने तत्व र भाइरसको सन्तान वृद्धि गर्ने तत्वहरु हुन सक्छन् । तर, ती तत्वहरुको मात्रा कति छ र त्यो विरुवाको कुनै भाग कति लिँदा भाइरस मर्छ भन्ने कुरा थाहा पाउन एकदम जटिल छ । हजारौं वर्ष अगाडि लेखिएका विभिन्न पुस्तकहरुजस्तै ४ वटा वेदहरू, १८ वटा पुराणहरु, ९ वटा उपनिषद्, महाभारत, रामायण र धेरै संहिताहरुमा उल्लेख भए बमोजिम आयुर्वेद ज्ञानको अध्ययन र अनुसन्धान नगरीकन हचुवाको भरमा वैज्ञानिक प्रमाणबिना जडिबुटीहरु प्रयोग गर्नु घातक हुन सक्छ ।

त्यतिमात्रै होइन, यसरी जडिबुटीहरुको मात्रा नमिलाई खाने गरेमा त्यसले पनि भविष्यमा शरीरका अंगहरु जस्तै पित्तथैली, आन्द्रा, मिर्गौला आदिमा असर गर्न सक्छ भन्नुमा दुईमत छैन । यसका अतिरिक्त जडिबुटीहरुको उपभोग धेरै गर्नुपर्ने भएको, राम्रोसँग प्रशोधन नगरेको खण्डमा धेरै चाहिनेभन्दा नचाहिने तत्वहरु जस्तै गरुंगा किसिमका धातुहरु जस्तै फलाम, पारो, आदि हुनाले आयुर्वेद चिकित्सकको सल्लाहविना अत्याधिक मात्रामा आफ्नो इच्छाअनुसार सेवन गरेमा अन्य अतिरिक्त असर गर्नसक्ने भएको हुनाले र भाइरसजन्य रोगलाई पूर्ण रुपमा रोक्न सक्ने यथेष्ठ वैज्ञानिक प्रमाण नभएको हुनाले भ्याक्सिन नै एक मात्र भरपर्दो उपाय हो ।

कोभिड–१९ को भ्याक्सिन निर्माण गर्नको लागि सबैभन्दा पहिला कोभिड–१९ रोगले प्रतिरोधात्मक शक्तिलाई कसरी नस्ट गर्दछ भन्ने कुराको अध्ययन गर्नुपर्दछ । यसैलाई आधारभूत अनुसन्धान भनिन्छ । अहिलेसम्मको अनुसन्धानले यो सम्बन्धमा उमेरअनुसार लिंगअनुसार जातिअनुसार र भूगोल अनुसार फरक–फरक परिणाम देखाएको छ । हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता शरीरभरि नै पाइन्छन् । तिनीहरु जन्मजात र जन्मिएपछि प्राप्त हुन्छन् । जन्मजात गुणअन्तर्गत कोरोना भाइरसलाई रोक्न नाकको प्वालमा भएका मसिना रौंहरु, शरीरबाट निक्लने प्रोटिनहरु, विभिन्न प्रकारका कोषहरू जस्तै मोनोसाइट, म्याक्रोफेज, प्राकृतिक टी कोषहरु र बी कोषहरु तथा तिनीहरुमा हुने प्राकृतिक अणुहरु आदि पर्दछन् । यिनीहरुमध्ये सबैभन्दा कडा कार्य प्रोटिनहरुले गर्दछन्, जसको ठीक मात्रा उत्पादन हुने हो भने कोभिड–१९ लाई निर्मुल गर्दछन् । तर, यिनै प्रोटिनहरुको मात्रा धेरै हुन गयो भने मानवअंग फेल हुन्छन् र बिरामी मर्दछन् । मानव जन्मिएपछि विस्तारै रोग प्रतिरोधात्मक शक्तिहरु पनि वृद्धि हुँदै जान्छन् । यसैअन्तर्गत ‘टी’ कोष र ‘बी’ कोषहरु महत्वपूर्ण हुन्छन् । ‘टी’ कोषहरुले भाइरसलाई समातेर खाने वा भाइरस लागेको कोषलाई खाइदिएर अरु कोषहरुमा भाइरस लाग्नबाट बचाइदिन्छन । यसको साथै ‘टी’ कोषहरुले भाइरससँग सम्बन्धित एण्टीबडी बनाउनको लागि ‘बी’ कोषलाई सूचना दिन्छन् । जुन सूचना दियो, त्यही सूचनाअनुसारको एण्टीबडी ‘बी’ कोषले उत्पादन गर्दछन् । अन्त्यमा उक्त एन्टीबडीले भाइरसलाई निस्क्रिय बनाई रोग नियन्त्रण गर्दछन् । भ्याक्सिन अनुसन्धानकर्ताहरुको लागि अहिलेको मुख्य लक्ष्य भनेकै त्यो ‘टी’ कोष र ‘बी’ कोषहरुलाई कसरी सक्रिय बनाउने र धेरैभन्दा धेरै निस्क्रिय गर्ने किसिमको ठ्याक्कै मिल्ने एन्टीबडी बनाउन सक्ने किसिमको अणु वा बस्तुहरु बनाउने भन्ने हो ।

हालसम्म संसारभर जम्मा ११५ वटा कोभिड–१९ भ्याक्सिनका अणुहरु तयार हुँदैछन् भन्ने कुरा जनाइएको छ । तीमध्ये ७८ वटा थाहा पाइएको छ । यी ७८ वटामध्ये ३६ वटा अमेरिका, १४ वटा चीन, १४ वटा यूरोप, १४ वटा अस्ट्रेलिया र एसियाका विभिन्न अनुसन्धान केन्द्रहरुले अनुसन्धान गर्दैछन् । यीमध्ये ७३ वटा भ्याक्सिन प्रि–क्लिनिकल चरणमा छन् भने क्लिनिकल चरणको पहिलो अवस्थामा ५ वटा भ्याक्सिन तयार छन् । प्रि–क्लिनिकल चरणमा कुनै परिकल्पना गरेर तयार गरिएको भ्याक्सिनलाई मान्छेमा परिक्षण गर्नुभन्दा पहिला जनावर (जस्तै मुसा, खरायो, गिनी पिग, बाँदर, सुँगुर आदि) वा मान्छेको तन्तु र कोष आदिलाई प्रयोगशालामा ल्याएर वा कुनै जनावरको शरीरमा परिक्षण गरिन्छ । यसरी अनुसन्धान गरी उक्त भ्याक्सिन उक्त कोषहरु वा उक्त जनावरहरुमा सुरक्षित र दक्ष देखिएमा मात्र क्लिनिकल चरणमा अनुसन्धान गरिन्छ ।

क्लिनिकल चरणअन्तर्गत चरण १ मा २० देखि ८० जना स्वस्थ मानिसहरुमा, चरण २ मा १०० देखि ३०० मानिसहरुमा र चरण ३ मा १००० देखि ३००० सम्मका मानिसहरुमा भ्याक्सिन परिक्षण गरिन्छ र यदि यी चरणहरुमा भ्याक्सिन सकारात्मक देखिएमा यसलाई स्वीकृत गरिन्छ । अनि मात्रै कोभिड–१९ को भ्याक्सिनले लाइसेन्स प्राप्त गर्दछ । त्यसछि मात्रै भ्याक्सिन कम्पनीले त्यो उत्पादन गर्दछ । भ्याक्सिन चरण ४ मा जान्छ र धेरैभन्दा धेरै प्रकारका र फरक किसिमका मानिसहरुमा भ्याक्सिनको प्रयोग गरिन्छ । जसले गर्दा धेरै तथ्यांकहरु संकलन गर्न सकिन्छ । तरपनि त्यो भ्याक्सिन प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा कुनै पनि देशको कानुन, राजनीति र त्यस देशको प्रक्रियामा निर्भर गर्दछ ।

३ उपसंहार

अन्त्यमा चीनबाट फैलिएको यो कोभिड–१९ ले अहिले विश्व आक्रान्त पारेको छ । यसको लागि अहिलेसम्म औषधि र भ्याक्सिनको अनुसन्धान भैरहेकोले गर्दा यो रोगबाट बच्ने मुख्य उपाय भनेको आफूले कसैसँग संसर्गमा नबस्ने, हिंडडुल नगर्ने, विदेशबाट आएको भए र यो रोग लागेको शंका लागेमा तुरुन्त सरकारी संयन्त्रलाई खवर गर्ने र आफूमात्र नभई आफ्ना परिवार, छिमेकी, वा अन्य व्यक्तिहरुलाई बचाउने उपाय गर्नु बुद्धिमानी हो । यसको साथै रोग सम्बन्धि शंका नगर्ने, सकारात्मक हुने, तातोपानी सेवन गर्ने, पोषिलो खानेकुरा खाने, आफ्नो वरिपरि कसैले खाना खान पाएको छैन भने सक्दो सहयोग गर्ने, स्वखुशी हुने, बाहिरबाट घर फर्किएपछि आफूले लगाएको कपडा धुने, हात मुख धोइरहने, नुहाउने र परिवारसँग समय बिताउने आदि कार्य गर्न पनि सकिन्छ । साथै, आयुर्वेद चिकित्सकको सल्लाह बमोजिम विभिन्न जडिबुटी सेवन गर्ने गरेमा त्यो पनि सकारात्मक हुन सक्छ । आशा गरौं एकदिन भ्याक्सिन तयार हुन्छ र संसारबाट यो भाइरसलाई युद्ध गर्न मानव जाति सफल हुनेछ ।

(डा. घिमिरे प्राणी अनुसन्धान प्रयोगशाला, नास्ट, खुमलटारमा वैज्ञानिक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ