२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड—१९ र नारायणी अस्पतालको चुनौती

कोभिड—१९ र नारायणी अस्पतालको चुनौती


विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) यतिबेला विश्वकै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको छ । झण्डै साढे तीन महिनाअघि पहिलो केस देखिएको नेपालमा अहिले यो विस्तारित हुने क्रममा छ । बुधबारसम्म देशभर दुई सय बढीमा कोभिड—१९ संक्रमण पोजेटिभ देखिइसकेको छ ।

नेपालमा देशब्यापी रुपमा कोभिड—१९ को चर्चा चल्दैं गर्दा अन्तर्राष्ट्रियस्तरमा पनि यसको संख्या बढ्दैं थियो । कोरोना उत्तरी छिमेकी चीनको बुहानलाई इपिसेन्टरबाट बनाएर फैलिन थालेको थियो । अहिले यो वैश्विक महामारी अन्तर्राष्ट्रियस्तरमै परालको आगोझैं सल्केको छ । तयारी गर्ने धेरै लामो समय पाउँदा पनि नेपालले यो महामारीका लागि समयमै प्रशस्त तयार नगरेको परिणाम अहिले देखिन थालेका छन् । अहिले अस्पतालमा आवश्यक आइसोलेसनको पर्याप्त नभएको देखिदैंछ । केही दिन त किटको पनि समस्या देखियो ।

महामारीबारे नेपालमा केही गोष्ठी, बैठक र कागजी निर्णयहरुबाहेक थप केही भएन । अहिले नेपालले कोभिड—१९ व्यवस्थापनका सन्दर्भमा झेलिरहेका समस्याले यही त देखाउँछ । छिमेकी देशहरुले दिएको सहायताका नआइदिएको भए, अहिले कोभिड—१९ संक्रमितको परीक्षण नै अवरुद्ध हुने अवस्था सिर्जना भैसकेको थियो । तर, केही मित्र राष्ट्रका सहयोगी मनहरुले अहिले त्यो अवस्था आउनबाट रोकिएको छ ।

कोभिड—१९ निन्त्रणका लागि अस्पतालको व्यवस्था पनि प्राथमिक कुरा थियो । सोहीअनुसार पर्सास्थित नारायणी अस्पतालमा ५ सैय्याको आइसोलेसन बनाउने निर्णय भयो । यहाँस्थित नेशनल मेडिकल कलेजले ५० सैय्याको आइसोलेसन बनाएको विगुल मिडियामा फुक्यो । विश्व स्वास्थ्य संगठनले प्रदेश २ उच्च जोखिममा रहेको भनिरहँदा २८ चैतमा पहिलो पटक पर्साको वीरगन्ज नजिकैको स्थानीय मस्जिदमा रहेका ३ जना भारतीयहरुमा कोरोना संक्रमण भएको कुरा सार्वजनिक भयो । र, आइसोलेसनमा ल्याइएर उनीहरुको निगरानी तथा उपचार थालियो । २ बैशाखमा सर्लाहीका थप एक जना कोरोना संक्रमित थपिए ।

अवस्था एकपछि अर्को संवेदनशील बन्दैं गइरहेको थियो । भौतिक पूर्वाधारको मामिलामा गरिब रहेको नारायणी अस्पतालको अवस्था भकुण्डोजस्तै थियो । केन्द्र र प्रदेश सरकारको दोहोरीको शिकार भएको नारायणी अस्पतालको अवस्था दयनीय थियो । र, अवस्था अहिले पनि दयनीय नै छ । स्रोत, साधन, सहयोग र भौतिक पूर्वाधारले कङ्गालिएको नारायणी अस्पतालको एकामत्र सहयोगी थियो—टिम वर्क र उच्च मनोबल ।

अरु प्रदेशमा वैकल्पिक कोभिड—१९ अस्पताल निर्माण भइसकेको अवस्थामा प्रदेश २ मा नारायणीबाहेक कुनै पनि कोभिड हस्पिटल नहुनुले केन्द्र, प्रदेश र स्थानीय सरकारको तयारी छर्लङ छ । उच्च जनघनत्व र उच्च जोमिख रहेको वीरगन्जमा सबैभन्दा अन्तमा कोभिड—१९ परीक्षणका लागि अति आवश्यक पिसिआर मेसिन जडान हुनुले सरकारको नीति र नियत दुवैमाथि प्रश्न उठाउनुपर्ने हुन्छ ? स्थानीय र प्रदेश सरकारले हालसम्म नारायणी अस्पतालको विकल्प न खोज्ने र व्यवस्थापन गर्न नसक्नुलाई अकर्मण्यता न भनेर के भन्ने ? केन्द्र सरकारले बिना तयारी नारायणी अस्पताललाई कोभिडको भारी बोकाउनुको वैज्ञानिक र वस्तुसंगत कारण के होला ?

५ शैय्याको आइसोलेसन भएको अस्पताल २५ सैय्या हुँदै हाल ७० जना कोभिड संक्रमिको भरिया भएको अस्पतालले अब कति भारी बोक्ने ? ७० जना बिरामीबाहेकका बिरामीको उपचार कहाँ र कसले गर्ने ? स्थानीय र प्रदेश सरकारको जिम्मेवारी के त ? के सबैको भारी बिसाउने जिम्मा नारायणी अस्पतालको मात्र हो त ? अबको समय झन कठिनाईले भरिएको छ । अवस्था एकपछि अर्को भयावह बन्दैं गएको छ । आउने दिनहरुमा संक्रमितको संख्या झन तीब्र हुने अनुमान छ । तसर्थ, केन्द्र, प्रदेश र स्थानीय सरकारले द्रुत गतिमा तयारी गर्नु आवश्यक छ ।

(डा. सिंह नारायणी अस्पताल फ्रन्टलाइनमा रहेर कोभिड—१९ बिरामीको उपचार संलग्न छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ