२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोनाको त्रासकाबीच बिग्रदो छाला रोगको अवस्था

कोरोनाको त्रासकाबीच बिग्रदो छाला रोगको अवस्था


अहिले संसारभरी नै कोरोना भाइरसको बढ्दो संक्रमणले भयावह अवस्था सिर्जना भएको छ । कोरोना संक्रमणको संख्या विश्वभरि नै ५० लाखको हाराहारीमा पुगिसकेको छ भने नेपालमा पनि यसको संख्या तीब्र गतिमा बढ्दैंछ । विश्वका विकसित मुलुकदेखि हाम्रो मुलुकमा समेत यसको असरले सबै कारोबार ठप्प पारेको छ । लामो तथा छोटो दूरीमा चल्ने गाडी, कलकारखाना, उद्योग, व्यवसाय सबै बन्द छन् । यस्तो अवस्थामा सहरमै बस्ने बिरामी पनि अस्पताल पुग्न हम्मे–हम्मे परेको छ भने गाउँ तथा पहाडी तथा हिमाली भेगमा बस्नेहरु त अस्पताल पुग्ने कुरै भएन । हाम्रो देशको तथ्यांकअनुसार छाला सम्बन्धी रोग अस्पतालमा ओपीडीमा आउने प्रमुख ५ रोगमध्ये एकमा पर्दछ । गर्मीयाममा अरु समयभन्दा छाला रोगका बिरामीहरुको संख्या अझ बढ्ने गर्दछ । पसिना, सरसफाइको कमी, स्वच्छ पानीको अभाव, साबुनको न्यून प्रयोगजस्ता कारणले छालामा धेरै प्रकारका जीवाणुहरुको संक्रमण (ब्याक्टोरिया/फंगल) बढ्छ । एकै ठाउँमा धेरै जनाको बसोबासले गर्दा यस्ता रोगहरु घरपरिवार, साथीभाइ, छरछिमेकसँग फैलन सक्छ ।

यसका साथै गर्मीको चर्को घामले पनि छालामा नकारात्मक असर पर्दछ । कतिपय छाला रोग घामबाट हुने एलर्जी (photodermatitis, solar urticaria)  प्रत्यक्ष घामकै कारणले हुन्छ भने कतिपय समस्या घामको कारणले बढ्ने गर्छ । जस्तैः अनुहारको चाया (melasma), तिलकोठी (freckles) ।

चैत्र–बैशाखमा लाग्ने हावाहुीका कारणले गर्दा अनेक प्रकारका फुल र फलको भाग (pollen) हावाले उडाउने गर्छ । संवेदनशील छाला भएको मानिसहरुमा यस्तो फलको कारणले Air Borne Contact Dermatitis (एबीसीडी) भन्ने रोग लाग्छ । यो रोग एक सामान्य समस्या मात्र नभै सम्पूर्ण जिउ नै रातो र कत्ले (Erythroderma)को रुप लिँदा आकस्मिक उपचार (इमर्जेन्सी म्यानेजमेण्ट) नै चाहिन सक्ने हुन्छ । यस्तो रोगको उपचार पनि ढिलासुस्ती हुँदा बुढापाकाको ज्यानमै खतरा पनि हुन सक्छ ।

हाम्रो समाजमा छालाको कुनै पनि रोग भएमा सबैलाई दाद भन्ने पुरानो चलन छ । त्यसकारण जुनसुकै छाला रोगमा पनि घरायसी औषधी उपचारलाई नै प्राथमिकता दिइन्छ । साधारणतयाः गाउँघरमा उपलब्ध हुने निम र तुलसीको लेप लाउने र निमको पातले नुहाउनाले धेरैजसो छालाको रोग निको हुन्छ भन्ने पुरानो विश्वास छ । लसुन पिनेर लगाउनाले पनि कति रोग ठिक हुन्छ भन्ने गरिन्छ । अनुहारमा आउने कुनै पनि समस्यामा बेसनको पिठो दल्ने, कागतीको रस लगाउने चलन पनि छ । यस्तो गर्दा धेरैजसो रोग राम्रो हुनुको सट्टा उल्टै बिग्रने, पाक्ने, सुनिने भएर साधारण समस्या पनि जटिल हुन जान्छ ।

तर, जनमानसमा चेतना पहिले भन्दा अलि बढेको हुँदा आजकल गाउँघरमै पनि स्वास्थ्य चौकीसम्मै गएर एउटा साधारण मलम लगाउने चलन बढेको छ । सहर बजारमा भने धेरैजसो बिरामीहरु डाक्टर कहाँ नभै औषधी पसलमा गएर जुन पायो, त्यही मलम किन्ने र लगाउने गर्छन् ।

छालाका सबै रोग हेर्दा उस्तै देखिने हुनाले विशेषज्ञले बाहेक यी रोगहहरु अरुले छुट्याउन गाह्रै पर्छ । त्यसैले जो कसै कहाँ पनि गएर औषधी उपचार गर्नेले यस्ता साधारण देखिने रोगले पनि विकराल रुप लिन सक्छ ।

अहिले चैत बैशाखको गर्मी मौसममा २ महिनादेखि देश लकडाउनको अवस्थामा छ । एक जिल्लाबाट अर्को जिल्ला पनि जान असम्भव हुँदा सबै खाले रोगका बिरामीले अत्यावश्यक औषधी उपचार सम्म पनि पाएका छैनन् । यसले गर्दा लामो समयदेखि औषधी सेवन गरेर (chronic illness) स्वास्थ्य सबल बनाउनेहरु ज्यादैं नै मारमा परेका छन् । कुनै पनि रोगका बिरामीको समस्या दिनका दिन बढ्दो छ र यस्तो बेलामा छाला रोग त छुट्ने कुरै भएन ।

बढ्दो गर्मीका कारणले छालामा देखिने संक्रमणहरु ज्यादैं बढिरहेका छन् । गर्मीका कारण घमौरा साना ठूला सबैमा आउँछ । बच्चामा घमौराको मुख पाक्ने (periporitis staphylogen) हुँदा कपाल, अनुहार, जिउ जताततै पिपको फोका देखा पर्छ । यस्ता समस्याको समयमै उपचार लिन नपाउँदा कतिपय बच्चाहरुमा पिप औषधीले नभै छाला चिरेर निकाल्नु परेको छ ।

गर्मी मौसममा पसिना ज्यादा आउने हुँदा दाद अर्थात ढुसी (फंगल इन्फेक्सन) मानिसको काखी, काछमा पलाउने गर्दछ । समयमै अस्पताल आउन नपाउँदा धेरैजसो बिरामीहरु घरायसी उपायहरु अपनाउन बाध्य भएका छन् । त्यसैले गर्दा एन्टी फंगल औषधीको सेवनले सजिलै निको हुने दाद पनि घरायसी उपचारका कारण पाक्ने, पाछिने, हिड्डुल गर्न समेत गाह्रो हुने अवस्थामा अस्पताल आइपुग्ने गरेका छन् ।

यसका साथै परिवारमा एउटा सदस्यमा देखा परेको दाद लकडाउनका कारण सबै दिनरात घरभित्रै ओल्लो र पल्लो कोठा गर्दा सब परिवारमा फैलिदो अवस्था छ । आजकल अस्पताल आइपुग्ने दादका बिरामीले ‘सब परिवारलाई नै औषधी दिनुहोस् हजुर’ भन्ने गर्छन् । कतिपय बिरामीले त अस्पताल जान नपाएर फार्मेसीहरुबाट अनेक मलम किन्दैं लगाउँदा छाला पूरै डढ्ने, कालो हुने, छाला फाट्ने (striae) अवस्था पनि बढ्दो छ ।

चिनी रोगका बिरामीको औषधी सकिएको र किन्न सम्भव नहुँदा चिनी बढ्नुका साथै शरीरका कुना काप्चा पाछिने (candidiasis) अनि पोलेर लुगाफाटो लगाउनै नसक्ने अवस्था पनि छ । चैत बैशाखको हुरीले हावामा उडाएको अनेक तत्वले छालामा कन्ट्याक्ट डेर्माटिटिस भएर अनुहार चिलाउने र सुन्निे पनि धेरैलाई भएको छ । घरमै उपचार गर्ने क्रममा कतिको अनुहार डढेर कालो भएको छ भने कतिको आँखाको ढकनी फुलेर हेर्नै नसक्ने अवस्थामा आइपुग्ने गरेका छन् ।

यो लकडाउनको सबैभन्दा बढी नकारात्मक असर कुष्ठरोगका बिरामीहरुमा पर्न गएको देखिन्छ । कुष्ठरोगका बिरामीहरु समाजमा आफ्नो रोग कसैलाई बताउन चाहदैनन् र सक्दो चाडो यो आफ्नो शरीरबाट निर्मुल पार्न चाहन्छन् ।

नियमित रुपमा हरेक महिना स्वास्थ्य चौकी र अस्पतालबाट औषधीको पत्ता (एमडिटी) सेवन गर्नुपर्ने उनीहरुको बाध्यता छ । बन्दका कारण कतिपय बिरामीहरु अस्पताल पुग्न नसक्दा र कतिपय अस्पताल चौकीमा औषधीको अभाव हुँदा उनीहरु उपचारबाट बन्चित भएका छन् । धेरैजसो कुष्ठ रोगका बिरामीहरु २ महिनापछि अस्पताल आइपुग्दा उनीहरुमा औषधी छुट्दा यो ररोग बल्झिने पो हो कि, हातखुट्टा कुजिएर अंगभंग पो हुने हो कि भन्ने मानसिक तनाव बढेको देखिएको छ । औषधी छुटेको कारण कतिमा कुष्ठरोग रियाक्सन (lepra reaction) हुँदा आकस्मिक उपचारको आवश्यकता परेको छ ।

जनै खटिरा (Herpes Zooster) भन्ने छालाको रोगले धेरैजसो बुढापाकालाई असर गर्ने गर्दछ । यसमा आउने फोकाहरु ज्यादैं दुख्ने, पोल्ने हुँदा बिरामी तुरुन्त विशेषज्ञ कहाँ पुग्ने गर्छन् । तर, बन्दका कारणले अस्पताल आउन नसक्दा उनीहरु धामी, झाक्री कहाँ जाने र घरायसी उपाय गर्न बाध्य भएका छन् । धेरैजसो वृद्धवृद्धा यसको पोलाइ असह्यै भएर रुदैं एम्बुलेन्समा अस्पताल आउनेको संख्या पनि बढ्दो छ ।

छाला रोगका धेरैजसो बिरामीहरुमा लामो समयसम्म औषधी उपचारको आवश्यकता पर्ने (chronic illness) गर्छ । छालामा देखा पर्ने कत्ले रोग (psoriaisis) , शरीरमा पानी फोन आउने (immuno bullous disorder), घामको एलर्जी (chronic actinic dermatosis), सेतो दुवी (vitiligo), डन्डिफोर (acne), डाबर आउने (urticaria), कुष्ठरोग (leprosy), छालाको एलर्जी (atopic eczema) तथा कयौं अन्य रोगहरु नियमित रुपमा विशेषज्ञको सल्लाहअनुसार औषधी सेवन गर्दा मात्रै स्थिर हुन्छ । तर, लकडाउनका कारण बिरामीहरु औषधी उपचारबिहीन हुँदा यस्ता रोग बल्झिने र कतिपय रोग भयानक रुपमा देखा पर्ने कुरा निश्चित छ ।

दुई महिनादेखि अति आवश्यक औषधी नपाउँदा लकडाउन खुल्ने बेलासम्म कति बिरामीको अवस्था गम्भीर हुने हो भनेर अनुमान लगाउन सजिलो छैन् । हाम्रो मुलुकमा कोरोनाको बढ्दो त्रासले यो लकडाउन अझै कति दिन लम्बिने हो भन्न असम्भव नै देखिन्छ । महिनौ दिनसम्म घरमै लुकेर कोरोना संक्रमणबाट ज्यान जोगाउन खोज्दा पूरानो रोगले पो ज्यान लाने हो कि भन्ने बिरामीहरुको मनमा ठूलो प्रश्न चिन्ह खडा भएको छ ।


(डा. आचार्य एमबीबीए/एमडी, डर्माटोलोजी, एसटीआई एण्ड लेप्रोसी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ