२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारले उब्जाएका सवालहरु

स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारले उब्जाएका सवालहरु


समग्र विश्व नै यतिबेला कोरोना महाव्याधिको विषम परिस्थितिसँग जुधिरहेको छ । विश्वका हरेक नागरिक कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीसँग हातेमालो गरिरहेका छन् । नेपाल पनि कोरोना महाव्याधिबाट अछुतो रहन सकेको छैन । अहिलेसम्म ३३ हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने १६४ जनाले ज्यान गुमाइसकेका छन् । अझै धेरै जना कोही  क्वारेनटिनमा त कोही आइसोलेसनमा बसिरहेका छन् । ठूलो जनसंख्या अझै पनि परीक्षणको दायराभित्र समेटिन सकेको छैन । करिब ५ महिना लामो लकडाउन पश्चातः देशमा दैनिक गतिविधी खुकुलो बनाइएको थियो । तर, लकडाउन खुलेसँगै देशमा पुनः कोरोना महामारीको भयावह स्थिति देखा परेपछि विभिन्न जिल्लामा पुनः लकडाउन र पूर्ण निषेधाज्ञाको स्थिति छ । संक्रमित व्यक्ति अहिले जो कोही पनि हुन सक्छ । समुदायमा अझ भयावह स्थिति छ ।

भयावह स्थितिबाट समाजलाई मुक्त गर्न र संक्रमित व्यक्तिको उपचारलाई सुनिश्चित गर्न स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा डटिरहेका छन् । संक्रमणको उच्च जोखिममा रहेर आफ्नो स्वास्थ्य, घरपरिवार, व्यक्तिगत जीवन, इच्छाआकांक्षालाई थाती राख्दैं अहोरात्र कोरोना विरुद्धको जैविक युद्धमा फ्रन्टलाइनर सिपाहीका रुपमा खटिरहेका छन् । यही क्रममा कति चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुगेका छन्, कतिलाई संक्रमण देखा पर्ने स्थिति छ । अरुलाई बचाउन आफ्नो स्वास्थ्यको ख्याल नगरी शिरमा कपन बाँधेर जैविक युद्ध मैदान खटिने स्वास्थ्यकर्मीले समाजबाट अपेक्षित व्यवहार र माया पाउन सकेका छैनन् ।

बरु, दिनदिनै दुर्व्यवहार, आक्रमण, बसेको घरमै घेराउ, विरोधको सामना, टोलबाट निकाला, सामाजिक बहिष्करणजस्ता घटनाका भुक्तभोगी हुन पुगेका छन् । मानव समाजकै लागि असुहाउँदा यस्ता घटना एकदमै दुःखद् र आपत्तिजनक छन् । यी घटनाले समग्र स्वास्थ्य क्षेत्रलाई नै निरुत्साहित तुल्याएको छ । स्वास्थ्यकर्मी मात्र होइन्, कुनै पनि संक्रमित व्यक्ति र संक्रमितको सम्पर्कमा आएका जो कोहीलाई पनि अपहेलना, विरोध तथा घेराउ गरिनु खेदजन्य व्यवहार हो । यस्तो अमानवीय व्यवहार सभ्य समाजका लागि कदापी स्वीकार्य हुँदैन् । यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर आफ्नो घर, क्वारेन्टिन, आइसोलेसनमा बस्न पाउनु सबैको मौलिक अधिकार हो । अझ चिकित्सक तथा स्वास्थ्यकर्मी त समाजकै बिरामी व्यक्तिको उपचार र सेवामा खटिदा संक्रमित हुन पुगेका हुन्छन् ।

कोरोना महाव्याधिको असहज परिस्थितिमा जैविक युद्धका सिपाहीलाई गरिने व्यवहार के यहि हो ? के यो उचित व्यवहार हो ? के आधुनिक, शिक्षित र सभ्य समाजमा यी उचित कार्य हुन् ? के बिरामीको ज्यान बचाउनु पाप हो ? जनताको सेवा गर्नु गलत हो ? नत्र किन त यति धेरै तिरस्कार, अपहेलना र दुर्व्यवहार ?

चौतर्फी अपहेलना, दुर्व्यवहार, सामाजिक बहिष्करणजस्ता क्रियाकलाप खेदजन्य छन् । सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता क्रियाकलापले समग्र स्वास्थ्य पेसालाई नै निरुत्साहित तुल्याएको छ । यसतर्फ, समयमै सरकार, स्थानीय तह र सम्बन्धित निकायबाट कुनै पहल नभए ठूलो दुर्घटना निम्तिन सक्छ । यसै त सामान्य अवस्थामा पनि स्वास्थ्यकर्मी लक्षित दिनहुँ हुने घटना र दुर्व्यवहारले पेसाप्रतिको आकर्षणलाई घटाएको स्थिति थियो । त्यसमाथि कोरोनाजस्तो महामारीसँग जुधिरहेका बेला गरिएका यस्ता व्यवहारले स्वास्थ्य पेशालाई नै धरासायी बनाउने खतरा छ । यसले स्वास्थ्य पेसाप्रति नै प्रश्नचिन्ह उठ्ने त होइन भन्ने शंका उब्जाएको छ । यस्ता घटनाक्रमले स्वास्थ्य क्षेत्रमा भित्रिन चाहने नवआगन्तुक पुस्ता र उहाँहरुको अभिभावकलाई पनि निरुत्साहित बनाउने देखिन्छ । यसै त देशको वर्तमान स्थितिले नचाहँदा—नचाहँदै युवा चिकित्सकहरु उच्च शिक्षाको अवसर, गुणस्तरीय जीवनशैली र राम्रो भविष्यका लागि विदेशिनुपर्ने बाध्यता छ । माहोल झन बिग्रदैं गएर देशभित्र पेशागत सुरक्षा नभएमा थप पलायनको खतरा बढ्नेछ । अन्योलग्रस्त भविष्यकाबीच अधिकांश स्वास्थ्यकर्मीमा विदेशिने सम्भावना बढी हुनेछ ।

एकजना चिकित्सक उत्पादन गर्न निकै समय र मेहनत लाग्छ । एक विशेषज्ञ चिकित्सक र विज्ञ स्वास्थ्यकर्मी उत्पादन गर्न राज्य, व्यक्ति, अभिभावकहरुको चरम मेहनत, परिश्रम, त्याग र लगनशीलता खर्च भएको हुन्छ । यस्ता घटनाले भोलिका दिनमा स्वास्थ्य जनशक्ति अभाव हुने देखिन्छ । भविष्य र पेसागत सुरक्षाको प्रत्याभूति नै नहुने भएपछि धेरै स्वास्थ्यकर्मी विदेश रोज्ने छन् । यसले नेपालमा स्वास्थ्य जनशक्ति उत्पादनमा कमी आउनेछ । अहिले नै स्वास्थ्यकर्मी र चिकित्सकको अभाव झेलिरहेको नेपालको स्वास्थ्य क्षेत्रमा जनशक्ति थप अभाव हुनेछ । यसले देशको स्वास्थ्य प्रणाली संकटको दिशातिर धकेलिने छ ।

त्यसैले स्वास्थ्यकर्मीलाई हतोत्साहित पार्ने यस्ता घटना दोहोरिन नदिन सरकारले सम्बन्धित निकाय, स्वास्थ्य मन्त्रालय, स्थानीय तह, स्थानीय जनप्रतिनिधिसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ ले पनि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिने कुरा सुनिश्चित गरेको छ । तर, यो ऐन प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन । चिकित्सकको सुरक्षासँग जोडिएको ‘जेल विद आउट बेल’ अहिलेसम्म लागु हुन सकेको छैन । अर्कोतर्फ भएका कानुनहरुको फिलतो कार्यन्वयन पक्षले गर्दा पनि दोषीहरुले उन्मुक्ति पाइरहेका छन् । जसले यस्ता घटनामा संलग्नहरुको मनोबल बढ्ने गरेको छ ।

पछिल्ला घटनाहरु अघिल्ला घटनामा दोषीलाई कानुनी दायरामा नल्याएकै भावभूमिमा घटेका देखिन्छन् । सुरुमै केही घरबाट स्वास्थ्यकर्मीहरुलाई निकालिदा सरोकारवालाहरुले कारवाही गर्ने आश्वासन मात्रै बाँडे । तर, उनीहरुलाई कारवाही भएन । जसका कारण स्वास्थ्यकर्मीमाथि त्यस्तै प्रकारका घटनाहरु दोहोरिन थाले । यसबाट सरकार मुखदर्शक भएर बसेको स्पष्ट हुन्छ । प्रहरी र सुरक्षा निकायलाई आक्रमण गर्दा जुन प्रकृतिको कारबाहीको व्यवस्था गरिएको छ, त्यो स्वास्थ्यकर्मीको हकमा पनि निर्णय भएको छ । तर, दुर्भाग्य नै मान्नुपर्छ स्वास्थ्यकर्मीको सुरक्षाको सवाल कागजमा मात्र सिमित छ ।

यहाँनेर सबैभन्दा गम्भीर र सोचनीय पक्ष पनि छ । यस्तै घटनाका कारण भोलिका दिनमा स्वास्थ्यकर्मीले सेवा दिन छाडे भने त्यो अकल्पनीय अवस्थाको जिम्मेवार को हुनेछ ? यसको उतर सबैभन्दा मुश्किल हुनेछ ।

यतिबेला कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मीलाई सरकार, समाज र नागरिकबाट प्रोत्साहन गर्नुपर्छ । तर, अहिलेसम्म स्वास्थ्यकर्मीहरुले त्यो प्रोत्साहन पाएका छैनन् । व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई), जोखिम भत्ता, स्वास्थ्य बिमा पाउनका लागि नै लडिरहनु परेको छ । कतिपय स्वास्थ्य संस्थाहरुमा त अझ स्वास्थ्यकर्मीहरुले नियमित पारिश्रमिक पनि पाउन सकेका छैनन् । यसको नियमनमा पनि सरकार चुकेको देखिन्छ । स्वास्थ्यकर्मीहरु सुरक्षित भएनन्, उनीहरु नै संक्रमित हुन थाले वा उनीहरुमाथि नै आक्रमण हुन थाल्यो भने कोरोना नियन्त्रण गर्न सकिदैन् । उनीहरुलाई सुरक्षित ठाँउमा बस्ने व्यवस्था गर्नु र सुरक्षाको प्रत्याभूति गराउनु यतिबेला राज्यको प्रमुख दायित्व हो । यदि यस्तै परिस्थिति रहने हो भने नेपालमा कोरोना नियन्त्रण गर्न असम्भव नै हुनेछ ।

यस्ता घटनाले जनताको चेतनास्तरमा कमी आएको र सरकारले पनि उचित सूचना र चेतना जनतामा अभिवृद्धि गर्न नसकेको प्रस्ट देखिन्छ । सरकार आफ्नो भूमिकाबाट पन्छिन खोजेको अनुभूति हुन्छ । त्यसैले मेरो एउटै मात्र आग्रह छ, यो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरूलाई काम गर्ने वातावारण सिर्जना गरेर उनीहरुको मनोबललाई उच्च राखौं । मनोबल गिराउनेभन्दा पनि बढाउने काम गरौं ।

हामी स्वास्थ्यकर्मीहरुले आफूलाई सुरक्षित रहेर र आत्मबल बलियो बनाएर काम गर्नुपर्नेछ । कुनै पनि परिस्थितिमा आफ्नो जिम्मेवारीबाट विचलित हुन नदिएर पेसागत मर्यादालाई आत्मसाथ गर्दै सेवा प्रदान गरौं । सबैजना सजग, सचेत र एकजुट भएर यस्ता घटनालाई निरुत्साहित गर्दै स्वास्थ्यकर्मीहरुको मनोबललाई उच्च राख्न सबैले साथ सहयोग, हौसला र प्रोत्साहन प्रदान गरौं । कोरोना विरुद्धको यस लडाइमा सबैजना हातेमालो गरेर अगाडि बढौं । आफू सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं । स्वास्थ्य सुरक्षा मापदण्डको उचित पालना गरौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ